Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

पठन पाठन प्रभावित : कतै आन्दोलनले त कतै प्रकृतिले !

मंगलबार, ०८ मंसिर २०७२

काठमाडौं - हिउँद लागेसँगै बढ्दो चिसोका कारण हरेक बर्ष जस्तै यो बर्ष पनि हिमाली जिल्लाका विद्यालयहरु बेसी झर्न थालेका छन् । मंसिर लागेसँगै हिमाली जिल्ला खासगरी मनाङ, मुस्ताङ देखि मध्यपश्चिमका हुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा पठनपाठन प्रभावित भएको छ । तराई क्षेत्रमा आन्दोलनका कारण साढे तीन महिना देखि पठन पाठन प्रभावित भएको छ भने, हिमाली क्षेत्रमा हिमपात र चिसोका कारण !

उपल्लो मुस्ताङका ६ गाविसमा सञ्चालित विद्यालयहरुले कास्की लमजुङ लगायतका जिल्लामा घुम्ती विद्यालय सञ्चालन गरेका छन् ।  ६ गाविसमा सञ्चालित १९ विद्यालयका करिब दुई सय विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न कास्कीको पोखरा लगायत क्षेत्रमा झरेका हुन् । 

कात्तिकदेखि फागुन महिनासम्म हिमपातसँंगै अत्यधिक चिसो हुने भएकाले हरेक वर्ष विद्यार्थीलाई बेसी झारिन्छ । छोन्हुपमा सञ्चालित छ, छोसेरका दुई, छुसाङ र चर्राङ र लोमान्थाङका एक÷एक विद्यालयले पोखरामा घुम्ती कक्षा सञ्चालन गरेकाले उपल्लो मुस्ताङ क्षेत्रमा पठनपाठन बन्द भएको दिब्यदिप माविका प्रधानाध्यापक तथा शिक्षक रामु प्रसाद श्रेष्ठले एडुखबरलाई बताए ।

'चिसो बढेपछि सधैका बर्ष झै यस बर्ष पनि कास्कीमा झरेका छौँ । अब फागुनसम्म यतै पढाउछौँ हिउँद शुरु भएपछि मात्र मुस्ताङ जान्छौँ ।' उनले भने ।

लोमान्थाङका दुई संस्थाले पनि पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेका छन् । खासगरी कास्कीका विभिन्न क्षेत्रमा उनीहरुले घुम्ती विद्यालय बनाएका छन् । उपल्लो मुस्ताङका विभिन्न गाविसमा सञ्चालित छ गुम्बा विद्यालय पनि बेसी झरेका छन् ।

जिल्ला शिक्षा कार्यालय मुस्ताङका विद्यालय निरीक्षक मोतीलाल चापाईँँका अनुसार विगतमा सरकारी विद्यालय मात्रै तल झर्थे, अहिले गुम्बा र संस्थागत विद्यालय पनि झरेका छन् । तोकेको समयमा पाठ्यक्रम सक्न यस्तो गर्नुपरेको हो । घुम्ती विद्यालय सञ्चालनका लागि सरकारले प्रति विद्यार्थीका आधारमा बजेट उपलब्ध गराउँदै आएको छ । साथै जिविस र गाविसबाट समेत विद्यालयलाई आर्थिक सहयोग उपलब्ध हुन्छ ।  

घुम्ती विद्यालयमा छात्राबास र सुसारे पनि

मुस्ताङबाट झरेका विद्यार्थीमा प्राय साना केटाकेटीदेखि बयस्कसम्म छन् । उनीहरुमध्ये धेरैजसो बालबालिका छन् । केही बुढाबुढी बाहेक सबै बेसी झर्दा दुध खाने बालबालिकादेखि स्कुले बालबालिका सम्म पर्छन् । बाँसका कटेरोदेखि घरहरु समेत भाडामा लिएर पढाई गरिन्छ । 

साना बालबालिका हेर्नका लागी घुम्तीका विद्यालयमा सुसारे (बालबालिका हेरचाह गर्ने) समेत राखिएका छन् । त्यस संगै छात्राबासको पनि व्यवस्था गरिएको छ । बाबुआमा घुम्ती व्यापार व्यवसाय गर्न जाने र स्कुले साना नानीलाई होस्टेलमै राखेर पढाउने गरिएको छ । शिक्षक श्रेष्ठका अनुसार त्यसका लागी विद्यालयले नै आर्थिक श्रोतको व्यवस्था गर्छ भने केही गैरसरकारी संघ संस्थाले सहयोग गर्छन् । तै पनि छात्राबास व्यवस्थित र पठनपाठन प्रभावकारी बनाउन पर्याप्त आर्थिक श्रोत नभएको उनले गुनासो गरे ।

'घरबाट सबै कुरा ल्याउन सकिदैन यहाँ आएर सबै कुरा किन्ने कुरा पनि भएन' उनले भने, 'पर्याप्त रुपमा पैसा नहुँदा आवश्यक कुरा किन्न र जोहो गर्न गाह्रै पर्छ ।'

माथिल्लो डोल्पाका विद्यालय पनि बन्द

चिसो बढ्दै गएपछि माथिल्लो डोल्पामा रहेका ७ गाविसका विद्यालय पनि बन्द भएका छन् । माथिल्लो डोल्पाका छार्का, तिन्जे, साल्दाङ, भिजेर, फोक्सुन्डो, धो, मुकोट लगायतका गाविसमा रहेका सम्पूर्ण विद्यालय बन्द भएका हुन् । 

समुद्री सतहबाट चार हजारदेखि पँैतालीस सय मिटरसम्म उचाइमा पर्ने ती  गाविसमा कात्तिक महिना लगत्तै अत्यधिक चिसो बढ्दै गएकाले सदा झैँ यस वर्ष पनि वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गरिएको सिद्धार्थ कुला प्राथमिक विद्यालय तिञ्जेका शिक्षक शिव ढुङ्गानाले बताए । उनका अनुसार कात्तिक महिनाको सुरुवातसँगै हिमपातका कारण चिसो बढेर बस्न नसकिने भएकाले कात्तिक अन्तिम सातादेखि वैशाखसम्मको छ महिने अवधिका लागि विद्यालय बन्द गरिएको हो ।

कात्तिक महिना लागे लगत्तै हिमपात भई अत्यधिक चिसो बढ्ने भएकाले यो अवधिमा माथिल्लो डोल्पाका सबै विद्यार्थी काठमाडौँ, नेपालगन्ज, सुर्खेत लगायका जिल्लामा जाडो छल्न जाने गर्छन् भने अधिकांश सर्वसाधारण तल्लो डोल्पामा रहेको त्रिपुराकोट, पहाडा, लिकु, रह लगायतका गाविसमा अस्थायी बसोबासका लागि झर्ने गर्छन् ।

भौगोलिक कठिनाइका कारणले उपल्लो डोल्पामा चिसोले बस्न नसकिने अवस्था भई जनजीवन कष्टकर हुने भएकाले यो छ महिने अवधिमा विद्यालय अनौपचारिक रुपमा बन्द हुने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।

तल्लो डोल्पामा भने मङ्सिर अन्तिममा मात्र वार्षिक परीक्षा सकाएर पुस र माघ दुई महिनाका लागि विद्यालय बन्द गरिने कार्यालयले जनाएको छ । भौगोलिक कठिनाइका कारण उपल्लो डोल्पाका विद्यालयमा एक शैक्षिक सत्रमा करिब छ महिना मात्र पठनपाठन हुने गर्छ ।

हुम्ला र मुगुका आंशिक विद्यालय पनि बन्द

यसबीचमा चिसोकै कारण हुम्ला र मुगुका केही विद्यालय पनि बन्द भएका छन् । हुम्लाका जिल्ला शिक्षा अधिकारी धर्मजित आचार्यले केही गाविसका केही विद्यालय चिसोका कारण बन्द भएको बताए ।
चिसोका कारण विद्यार्थी विद्यालय आउन नसक्ने भएपछि विद्यालय बन्द भएका हुन् । 

पाठ्यक्रम ढिलो पुग्ने समस्या 

अधिकांश हिमाली जिल्लामा शैक्षिक सत्र छिट्टै शुरु हुने गर्छ । देशभरीमा बैशाख देखि नयाँ शैक्षिक सत्र शुरु हुने भएपनि हिमाली जिल्लामा भने मंसिर देखि नै नयाँ शैक्षिक सत्र शुरु हुने गर्छ ।
चिसोका कारण मंसिर, पुस, माघ र फागुन सम्म पढाई नहुने भएपछि उनीहरुले मंसिरमा नयाँ शैक्षिक सत्र शुरु गरी कार्तिकसम्ममा सकाउँछन् । 

ढिलोमा पुससम्म बार्षिक परिक्षा सम्पन्न गरी उनीहरुले नयाँ शैक्षिक सत्र शुरु गर्ने गर्छन् । तर पाठ्यपुस्तक भने समयमै नपुग्ने समस्या रहेको सम्बन्धित जिल्ला शिक्षा अधिकारीले गुनासो गरेका छन् ।
पाठ्यपुस्तक समयमै नपुग्दा आफुहरुलाई समयमै पाठ्यक्रम पढाई सक्न हम्मे हम्मे पर्ने मुस्ताङका शिक्षक रामबाबु श्रेष्ठले बताए ।

'एकातिर चिसोले  चाडोँ चाडोँ कोर्स सक्नु पर्ने समस्या हुन्छ त्यसैमा समयमै पाठ्यपुस्तक नपुग्नाले पठन पाठन क्यालेण्डर अनुसार हुन सकेको छैन् ।' उनले भने । समयमै विद्यालयमा पाठ्यपुस्तक पुर्याईदिन उनले जनक शिक्षा सामग्री र साझा प्रकाशनलाई आग्रह पनि गरे । उता मध्यपश्चिमका हिमाली जिल्लाहरुमा पनि शैक्षिक सत्र मंसिर पुसमा नै सकिने गरेको छ भने नयाँ शैक्षिकसत्र फागुनदेखि शुरु हुने गरेको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका निर्देशक रामप्रसाद उपाध्यायले समयमै पाठ्यपुस्तक नपुग्ने समस्या कायम रहेको स्वीकार गर्दै जति सक्दो चाडोँ पुर्याउन जनक शिक्षा सामग्रीलाई आग्रह गरिएको बताए ।

प्रकाशित मिति २०७२ मंसिर ८ गते

प्रतिक्रिया