काठमाडौं - विद्यालयले गरेको मूल्याङ्कनको विश्वसनीयतामा सञ्चार माध्यमहरूमा प्रशस्त प्रश्न उठाइएको छ । गत साता काठमाडौंबाट प्रकासशत दैनिक पत्रिकाको मुख्य पृष्ठमा गत वर्ष १०६ जनाले मात्र जिपिए ४ ल्याएकोमा यो वर्ष ९३१९ जनाले जिपिए ४ ल्याएको विषय प्रमुखताका साथ उल्लेख गरिएको छ । काठमाडौंबाट मात्रै यो वर्ष १५५४ जनाले जिपिए ४ ल्याएका छन् गत वर्ष ५२ जना मात्र थिए । निजी विद्यालयका सञ्चालकहरु आवद्ध संस्था प्याब्सनका अध्यक्षले थोरै सिकाइ भएको तर नतिजा राम्रो हुनु स्वभाविक नभएको र यसले विद्यार्थीको भन्दा पनि शिक्षक र विद्यालयको गुणस्तरमा प्रश्न उठेको बताएका छन् । एसईई परीक्षासँग सम्बन्धित विषयमा ब्लग, विचार मूलक लेख, सम्पादकीय पाठक पत्र प्रकाशित भएका छन् ।
मुख्य समाचारलाई निरन्तरता दिदैँ कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन सँगै भर्नाका आधार निर्धारण गरिएको छ । पाठक पत्रमा उल्लेख गरिए अनुसार एसईई नतिजा प्रकाशन पछि केही निजी विद्यालयले पुरानै ढाँचामा भर्ना खुलाएका छन् । कक्षा ११ मा भर्ना हुनका लागि विद्यार्थीले जिपिए १.६ र अङ्ग्रेजी, गणित र विज्ञानमा न्यूनतम डी प्लस ग्रेड ल्याउनु पर्छ । यो सँगै २६ हजार विद्यार्थी कक्षा ११ मा भर्ना हुन नपाउने विषय पनि उठाइएको छ । गतवर्ष जस्तो यस वर्ष ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन हुने छैन । फेल भनेर विद्यार्थी र अभिभावकमा पर्ने मनोसामाजिक असर कम गर्न केही वर्ष पहिलेबाट अक्षराङ्कन प्रणाली शुरु गरिएको थियो ।
मुख्य समाचारमा उल्लेख भए अनुसार एसईईको नतिजा प्रकाशन भएको हप्ता वितिसक्दा पनि राष्ट्रिय परीक्षा बोर्डले पर्याप्त सामग्रीको अभावमा ग्रेड सिट छपाई शुरु गरेको छैन । विद्यालय र वाह्य सुपरीवेक्षकको लापरवाहीले प्रयोगात्मक अङ्क नपठाउँदा बर्दियाको मधुवन नगरपालिका गुराँश माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ १८ महिने जेटीए पढिरहेका विद्यार्थी अयोग्य भएका छन् । यस्तै गरी तराईको शिक्षाको अवस्थासँग सम्बन्धित आलेख पनि प्रकाशन भएको छ ।
यसैगरी अर्को एक समाचारमा उल्लेख गरिए अनुसार विश्वविद्यालयमा रोकिएका परीक्षाहरु दशै अगाडि सञ्चालन हुने भएका छन् । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल वैठकमा उपकूलपतिहरुले वैकल्पिक विधिबाट परीक्षा लिने गृहकार्य भइरहेको वताएका छन् ।
सञ्चार माध्यम समाजकै प्रतिविम्ब हुन् । परीक्षासँग सम्बन्धित समाचार तथा अन्य विषयले हाम्रो समाजको परीक्षासँगको सम्बन्ध र महत्व प्रस्तुत गर्छन् । शैक्षिक व्यवस्थापनमा परीक्षा आवश्यक त छ तर यसमा दिइने अनावश्यक महत्त्वले सिकाइमा भन्दा पनि घोकाइमा बढी जोड दिने गरेको छ ।
गत वर्षसँगको तुलनामा यो वर्ष जिपिए ४ हासिल गर्नेको संख्याले सिकाइमा भन्दा हाम्रा संयन्त्रको कमजोरी देखाउँछन् । विद्यालयलाई नै मूल्याङ्कनको जिम्मा दिने सवालमा धेरै नै जोड दिइएको थियो तर माथिल्लो ग्रेडले मात्र माथिल्लो तहको भर्ना निर्धारण गर्दैन । मूल्याङ्कनलाई अङ्कबाट अक्षरमा ग्रेडिङ गर्ने गरि परिवर्तन गरिएको छ । यदि परीक्षालाई यसरी नै महत्व दिइरहने हो भने अक्षर र अङ्कमा गरिने ग्रेडिङले खासै अर्थ राख्न सक्दैन । विद्यार्थीले पुस्तक घोकेको भन्दा पनि उनीहरूको सोचाइ र विश्लेषण क्षमतामा ध्यान दिनु जरुरी हुन्छ । विद्यार्थीको नतिजा र भर्ना प्रक्रियाले अभिभावक र विद्यार्थीको समय र लगानीमा पार्ने प्रभावका सम्बन्धमा सम्बन्धित अधिकारीहरुले ध्यान दिएका छैनन् ।
अन्य समाचारको रुपमा बाढी, पहिरो र कोभिडले शिक्षा र आपतकालीन अवस्थाको बारेमा उल्लेख गरिएको छ । हुम्लाको ताजाकोट गाउँपालिकाको कैलास देव विद्यालयलाई बाढी पहिरो पिडितहरुका लागि आश्रयस्थलको रुपमा प्रयोग गरिएको छ । ताजाकोट पालिका प्रमुखका अनुसार ६०० परिवार पहिरोबाट प्रभावित भएका छन् । समाचारमा जनाईए अनुसार हुम्लाकै नाम्खा गाउँपालिकाको महावौद्ध माध्यमिक विद्यालयले विद्यालय खोल्दा हुने शिक्षक र विद्यार्थीको जोखिमका विषयमा जिल्ला प्रशासन कार्यालययमा ध्यानाकर्षण पत्र बुझाएको छ । यद्यपी नाम्खा गाउँपालिका प्रमखुले पालिकामा विद्यालयहरु सुरक्षित सञ्चालन भएको उल्लेख गरेका छन् ।
कोभिड संक्रमणको डरले सञ्चालन नभएका वाग्लुङ्गका ९० प्रतिशत विद्यालयले वैकल्पिक विधिबाट शिक्षण गरिरहेका छन् । गलकोट नगरपालिकाको शिव माध्यमिक विद्यालयले ११ वटा सिकाइ केन्द्र तय गरी १० देखि १ बजेसम्म ती केन्द्रहरुमा शिक्षण सिकाइ सञ्चालन गरेको विषय समाचारको रुपमा प्रकाशन भएको छ ।
तस्वीर : बझाङको साइपाल गाउँपालिका स्थित धुली माध्यमिक विद्यालय विद्यार्थी विहानी प्राथना गर्दै । कान्तिपुर दैनिक ।
अभिभावकले नियमिति विद्यालय सञ्चालनका लागि पालिकामा दबाब दिएपछि कोरोनाको सङक्रमण भएपनि वैशाखदेखि नै विद्यालय नियमित सञ्चालनमा छन् । यार्सा सङ्कलन कार्य नभएकाले यो वर्ष गत वर्षको तुलनामा १५ प्रतिशत विद्यार्थी भर्ना बढेको छ ।
समाचारमा उल्लेख गरिए अनुसार सरकारले शिक्षकहरुलाई कन्ट्रयाक ट्रेसिङ्गमा खटाउने तयारी गरेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयसँग अनुमति माग्दै पत्र लेखेको उल्लेख गरिएको छ ।
हालका दिनहरुमा वहस तथा छलफलको केन्द्रविन्दुमा शिक्षकहरु रहेका छन् । सरकारले शिक्षाको कुरा गरिरहे पनि शिक्षकको विषय त्यति प्राथमिकतामा देखिन्न तथापि शिक्षकहरु निरन्तर बहसको केन्द्रमा छन् ।
अन्य सरकारी तथा गैरसरकारी कर्मचारीलाई तलब दिएपनि शिक्षकहरुको सन्दर्भमा भने बहस भइरहेको छ । न्यूनतम जीवन निर्वाहका लागि दिने ज्यालाका सम्बन्धमा सरकारले एउटा साझा नीति तय गर्नु आवश्यक छ । साथै सरकारले दुवै खाले शिक्षक र सरकारी कर्मचारीका लागि तलब दिने सन्दर्भमा न्यूनतम पेशागत सुरक्षाका मापदण्ड तय गर्नैपर्छ । सरकारी शिक्षकहरु पनि शिक्षणमा सहभागी छन् र अन्यहरुले पनि शिक्षणकै पर्याप्त काम गरिरहेका छन् । दुवैखाले शिक्षकहरु कन्ट्रयाक ट्रेसिङमा सहभागी हुन सक्छन् । यद्यपि शिक्षकहरुको तलब सरकारको उदारता जस्तो भएको छ र कामका लागि भएको छैन । जुनसुकै सन्दर्भमा भए पनि शिक्षकहरुलाई अन्य काममा भन्दा शिक्षण सिकाइमा लगाइनु पर्छ ।
साताका अन्य समाचारहरुमा चाईनामा चिकित्सा शिक्षा पढिरहेका ५०० विद्यार्थी चाइना फर्कन नपाउँदा भविष्य अन्यौल भएको खवर छ । संखुवासभामा कोरोनाका बिरामी राख्नका लागि बनाइएको आइसोलेसन तोडफोडमा संलग्न भएको आरोपमा हिमालय किरन क्याम्पसका प्रमुखलाई पक्राउ गरिएको छ । यसैगरी स्वास्थ्य सामग्रीको उपलब्धता नभएको खवर छ । क्युएए (गुणस्तर मापदण्ड) को आधार पूरा गर्न त्रिविका विभिन्न १६ वटा विभागहरुले हरियाली वगैँचा बनाउदै गरेको समाचार आएको छ ।
दोस्रो उच्च शिक्षा परियोजना मार्फत क्युएए बाट विभिन्न सेवा सुविधा प्राप्त गर्न सहयोग पुग्छ । त्रिविमा आंशिक शिक्षकहरुका लागि ज्यालामा गरिएको विभेद सम्बन्धमा उल्लेख गरिएको ब्लग प्रकाशित भएको छ । लेखमा विश्वविद्यालयले भेदभावलाई प्रश्रय दिइरहेको उल्लेख गरिएको छ ।
‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर, द हिमालयन टाइम्स दैनिक र सेतो पाटी, नयाँ पत्रिका र दि रिपब्लिका अनलाइन पोर्टलहरूमा २०७७ भदौ ३ द्येीख् ९ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Exam mania continues
प्रतिक्रिया