झटपट गर्नु पर्ने धेरै काम छन् । महाव्याधीको समय छ । सन् २०१९ सम्म उत्पादन भएका कुनै पनि ज्ञानले आज अचुक हिसावले काम गरेको छैन । संसार नयाँ आविष्कारको माग गर्दैछ । संसार एक चित्त छ । यति विघ्न एक जुट हाम्रा पुर्खाहरु पहिलो र दोस्रो विश्वयुद्धमा पनि भएनन् होला !
के कुरा ठिक हो ?
के गर्दा ठिक लाग्छ, त्यही ठिक हुने बेला आएको छ ।
कोभिड प्रतिका हाम्रा कतिपय प्रतिक्रियाहरु चाँडै चाँडै बेठिक पनि प्रमाणित भएका छन् । कतिपय अझै नतिजा कुर्दैछन् । केही बर्ष पछि यसको पूर्ण समिक्षा हुन सक्ला । अहिले आजको मितिमा विवेकले सबै भन्दा उत्तम ठानेका काम गर्ने हो ।
यो आलेखमा विपत व्यवस्थापन सम्बन्धी विद्यालय शिक्षाको पाठ्यक्रम र शिक्षणलाई आजको विपत सगँ जोड्ने औचित्य र संभावनाका विषयमा चर्चा गर्न खोजिएको छ ।
हाम्रो पाठ्यक्रममा विपत व्यवस्थापन सम्बन्धी सिकाउने व्यवस्था छ । सो सम्बन्धी सिकाइ उपलव्धीहरुको व्यवस्था छ । अहिले त भयानक विपत आईलागेको छ त ।
अरु बेला र पहिले पहिले आगलागिका बारेमा हामिले छलफल गराएका छौं । सम्भावित विपतका बारेमा बालबालिकालाई ज्ञान, सिप र अभिवृद्धि विकास गर्ने पाठ्यक्रमको लक्ष्य छ ।
उदाहरणका लागि आगलागी एउटा सम्भावित विपतको रुपमा लिइएको छ । प्रारम्भिक कक्षा देखि नै विपत व्यवस्थापनका बारेमा किताबहरुमा लेखिएका छन् । कक्षाहरुमा छलफल गरेका छौं । पुराना ढाचाँमा भन्दा पढाएका छौं । भुकम्पका बारेमा पनि ड्रिल गराएका छौं । स्काउट कक्षा चलाएका छौं ।
डोरी बोकेर आपतकालमा ओमेगा जम्प वा रक क्लाइम्विङ्ग सिकाएका छौं । नटिङ सिकाएका छौं । जुनियर रेडक्रस सर्कलहरु बनाएका छौं । प्राथमिक उपचारका बारेमा पाठ पढाएका छौं । विभिन्न रोगहरुका बारेमा पढाएका छौं । बाल क्लवहरु चलाएका छौं ।
समस्याहरुको पहिचान गरी समाधान गर्न स्टुडेन्ट्स क्विालिटी सर्कलहरु चलाएका छौं । फरक फरक कक्षामा बाढि पहिरो र विपतका बारेमा छलफल गरेका छौं । जाँच लेखाएका छौं । नम्वर दिएका छौं । रिजल्ट गरेका छौं ।
आजको सन्दर्भमा कोभिडको परिप्रेक्षमा पाठ्यक्रममा पुर्नपरिभाषा गरिन अत्यावश्यक भएको छ । समय अनुकुल विपत व्यवस्थापनको ज्ञान, सीप र अभिवृद्धि विकासका लागि समायोजन गरिन आवश्यक छ । २०७२ सालको भुकम्प पछि सो सम्बन्धी पठन पाठनमा हामी केन्द्रित भयौं । आजको विपत व्यवस्थापन के हो ? आजको सन्दर्भमा विपत व्यवस्थापन कसरी सिक्ने र सिकाउने कुरा के हो ? आजको कण्टेण्ट के हो ?
विपत व्यवस्थापनको कण्टेण्टका हिसाबले आज कोभिड नै मुख्य विषय हो । शिक्षा ‘वर्ड’ लाई ‘वल्ड’ सगँ जोड्ने प्रक्रिया समेत हो । फागुन, चैत, बैशाखमा हामीले हात धुने, माक्स लगाउने, नाक मुखमा बारम्बार हात नपुर्याउने लगायतका छलफल चलायौं होला । यो दुर्भाग्यको कुरा हो कि पचासौं वर्ष देखि हामि साबुन पानीले नियमित र बारम्बार हात धुने, मुख थुनेर मात्र खोक्ने वा हाँछ्यु गर्ने पाठ पढिरहेका छौं । तर, व्यवाहारमा परिवर्तन गरेका छैनौं । कोभिडका प्रारम्भिक दिनमा विपत व्यवस्थापनका लागि यो पाठ निकै उपयोगी भयो ।
आज स्थिति निकै अगाडी बढेको छ । अब हात धुने, माक्स लगाउने, दुरी राखेर बस्ने, मुख छोपेर हाँछ्यु गर्ने विषयले मात्र विपत धानिने अवस्थामा छैन । अब घर घरमा कोभिडको विरामी पर्न सक्ने स्थितिको परिकल्पना गरेर विपत व्यवस्थापनको थप तयारी गर्न आवश्यक छ । सो प्रयोजनका लागि पाठ्यक्रमलाई रिडिजाइन गर्न अत्यावश्यक भईसकेको छ । अब भोलीका दिन प्रत्येक विद्यार्थीले कोभिडको कारण आईलाग्न सक्ने थप समस्याको बारेमा छलफल गर्ने बेला आएको छ ।
अब प्रत्येक परिवारका सदस्यले कसरी पिसिआर टेस्ट गर्ने, अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीसगँ सम्पर्क गर्ने वा पँहुच सृजना तथा व्यवस्थापन गर्ने सिक्न आवश्यक भएको छ । संकटाउन्मुख यो समयमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सम्म सबै मानिसको पँहुच नबन्न पनि सक्छ । कुनै समयमा डेविट वर्नरले ‘डाक्टर नभएमा’ भन्ने पुस्तकले स्वास्थ्यकर्मीहरु नपुग्ने ठाउँमा मार्ग दर्शकको रुपमा विश्वव्यापी रुपमा ठूलो सन्दर्भ सामाग्रीको काम गर्यो ।
आज आइसोलेसन, क्वारेण्टाईन, पर्सनल डिस्ट्यान्स, कोभिडका लक्षण सहितका बिरामी वा लक्षण नभएका बिरामी जस्ता अनेकन कुरामा एक एक मानिसले जानकारी राख्नु पर्ने स्थिति देखिएको छ । आजको विपत त्यसैका वरिपरि घुमिरहेको छ । आजको विपत व्यवस्थापनको पाठ्यक्रम, पाठ्यसामाग्री, पठन क्रियाकलाप, शैक्षिक कार्यकलाप, शैक्षिक उपलव्धी यसैको वरिपरी प्राथमिकताका साथ बन्नु पर्ने देखिएको छ । डिस्ट्यान्स मोड, अनलाईन, अफलाईन, घर दैलो, रेडियो, टेलिभिजन वा जुनसुकै माध्यमवाट शैक्षिक कार्यकलाप सञ्चालन भएको होस्, विपतको यो अवस्थामा विद्यार्थी माझ यो छलफल आवश्यक छ ।
बालबालिकाले मेरो घरमा म आफैं वा मेरो परिवारको कोही पनि सदस्य कोभिडको पोजेटिभ देखिन सक्छ । टेष्ट हुन वा गर्न नसके पनि लक्षण वा संभावना मात्र भएर वा कन्ट्याक्ट ट्रेसिङमा परेर घर भित्रै वा घर वाहिर क्वारेण्टाइनमा बस्नु पर्ने हुन सक्छ भन्ने बुझ्न आवश्यक छ । त्यस्तो क्वारेण्टाईन वा आइसोलेसनमा बस्दा जीवन पद्धतीमा आफैं वा परिवारको सदस्यले थुप्रै सम्झौता गर्नु पर्ने हुन सक्छ भन्ने बालबालिका आफैंले र उनी मार्फत परिवारका सदस्यले बुझ्ने तत्परता विकास हुन आवश्यक छ ।
बिरामी परेको वा पर्ने संभावना भएको बेला परिवारका सदस्यहरु छुट्एिर बस्नु पर्ने वा थप अनुशासनमा बस्नु पर्ने हुन सक्छ भनेर छलफल हुन आवश्यक छ । जसरी विद्यालयहरु वा सार्वजनिक स्थलमा हामीले खासगरी भुकम्प जस्ता प्रकोपलाई ध्यानमा राखी आपतकालिन व्यवस्थापनका नक्सा तयार गरेका थियौं, आज घर घरमा आइसोलेसनमा बस्नु पर्ने संभावना भएमा कुन कोठा, कुन शौचालय कसले कसरी प्रयोग गर्ने भन्ने योजना चाहिएको छ ।
प्रयोग गरिसके पछि त्यसको सरसफाई कसरी हुने, अर्को मानिसले कसरी प्रयोग गर्ने हो वा हैन भन्ने छलफल चाहिएको छ । यस्ता विषयहरुका परियोजना कार्य विद्यार्थीका बीचमा गरिनु पर्ने भएको छ । भान्साको प्रयोग, घाम ताप्ने व्यवस्था, आपूर्ति व्यवस्था, परिवारका अरु सदस्यसगँको सम्वन्ध र दुरी व्यवस्थापन, उचित आहार, विहार र विचार लगायतका विषयमा खुलेर छलफल सहित तयारी गर्नुपर्ने अवस्थामा हामी छौं । सो विषयहरुको प्रस्तुतिकरण सुनेर पृष्ठपोषण दिनुपर्ने ठाउँमा हामी छौं । सोही प्रस्तुतिकरण वा परियोजना कार्यलाई मूल्याङ्कनको आधार वनाउन पनि संभव छ । शिक्षकहरु आफैंले पनि आइसोलेसनको इमरजेन्सी प्लान बनाउने बेला भएको छ ।
यसलाई अनावश्यक आतकं मच्चाएको अवस्थामा लिन वा लैजान हँुदैन । बहुतै सावधान भएर जोखिम व्यवस्थापनको तयारीको रुपमा घरघरमा लैजानु पर्दछ । र, विद्यार्थी माध्यम बन्नु पर्दछ । भुकम्पका बेलामा झटपट झोला देखि सिठी सम्मको विपतको तयारी हामीले गर्यौं होला । यो छनौटको विषय हैन । व्यवस्थापनको विषय बनाउनु पर्ला । अवश्य पनि कुन उमेर समुहको बच्चालाई कति सम्म छलफल, योजना निर्माणमा वा कार्यान्वयनमा सहभागी गराउने भन्ने विषय भने अलि वढि गंभिर ढङ्गले सोच्नै पर्दछ ।
पाठ्यक्रम विकास केन्द्रले बदलिएको परिवेशमा पाठ्यक्रमको पुर्नसंरचना गरेको हुनु पर्ने थियो । पेडागोजीमा त व्यापक परिवर्तन भएकै छ । सरकारी दस्तावेजले मार्ग दर्शन गर्न सकेन । अधिकारीले सोही काम गरिदिए गर्न खोज्नेलाई सहज हुने थियो ।
भुईँमा परिवर्तन हुने क्रम व्यापक छ । अब नगरपालिका वा गाउँपालिकाले स्थानीय पाठ्यक्रमको अंशको रुपमा तत्काल यो विषयलाई जोड्न सहज गर्न सक्छ । प्याब्सन जस्ता संस्थाहरुले सदस्य विद्यालयलाई समय सुहाउँदो यो विपत व्यवस्थापनको पाठ्यक्रम संयोजन गर्न निर्देशन वा आग्रह गर्न सक्दछन् ।
शिक्षकलाई निदाउन नदिने अभियानमा लागेका शिक्षकहरुका संगठनहरुले यसलाई छलफलको विषय बनाउन सक्दछन् । जँहा जसले र जसरी हुन्छ छलफल चलाउनु पर्यो ताकि विद्यालयको कुनै पनि कक्षामा पढ्ने बालबालिकाले आफैं आइसोलेसनमा रहनु पर्दा वा परिवारको सदस्य रहँदाको गम्भिरतालाई मनन् गर्दै उमेर सुहाउँदो सहज व्यवहार गर्न सक्ने ज्ञान (Knowledge), सीप (Skill) र अभिवृत्ति (Attitude) को विकास गर्न सकोस् ।
लोहनी निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनका सचिव हुन् ।
प्रतिक्रिया