कोरोना भाईरस (कोभिड - १९) का कारण आईपरेको संकटमा शैक्षिक गतिविधि कसरी सञ्चालन गर्ने भन्ने सन्दर्भमा हामीले विद्यालयका विभिन्न तहका अभिभावकहरुसँग चरणवद्ध बैठक बस्यौं । अन्तरक्रियामा हामीले विद्यार्थीको अवस्था बारेमा छलफल गर्यौं । बच्चाहरुले पढ्छन् कि पढ्दैनन् ? उनीहरु स्वास्थ्य बारेमा कत्तिको सचेत छन् ? संक्रमण कालामा बच्चाहरुको मनोदशा कस्तो छ ? तपाईंले समय दिनु भएको छ कि छैन ? अभिभावकले समय दिनु र नदिनुमा के फरक भएको छ ? तपाईंहरुको सामाजिक परिवेश कस्तो छ ? बच्चाहरुलाई त्यतिकै घरमा छोडेर आफू काममा जाने गर्नु भएको छ कि ? विशेष कोहीलाई छोडेर जानु भएको छ कि ? बच्चाहरुको संवेगको विषयमा वृहत छलफल, अन्तरक्रिया गर्यौं । अन्तरक्रियाबाटै आएका निचोडहरुलाई हामीले सेयर गर्यौं ।
सुरुमा अभिभावकहरुले विद्यालय सञ्चालन गर्नैपर्छ, हाम्रो जिम्मा भो, हामी यहाँसम्म ल्याउँछौं, कक्षामा दूरी कायम गर्ने जिम्मा तपाईंहरुको भयो, हामीसँगै लिएर जान्छौं सम्म पनि भन्नु भयो । त्यसो भए त ठीकै छ, तपाईंहरुकै रोहवरमा हामी पढाउँला, तर पढाउने भने पछि यहाँ त हिमाल देखि तराईसम्मका विद्यार्थी पनि छन्, घर गएका उनीहरु बाहिरबाट आउँछन् । स्थानीयका लागि मात्र कक्षा सञ्चालन गर्ने, अरुलाई कक्षा सञ्चालन नगर्ने कुरा भएन । उनीहरुको पिसिआर टेस्ट नभएको हुन सक्छ । हामीकहाँ क्वारेण्टाईन राख्न सकिने अवस्था पनि छैन । केन्द्रीय सरकार, स्थानीय सरकारले पनि केही निर्देशन नदिएको अवस्थामा, केही गरी केही दुर्घटना भयो भने, त्यसको जिम्मा कसले लिने ?
अभिभावकहरुले स्कुलले नै लिनुपर्छ भने पछि हामीले त्यो त हामी सक्तैनौं भनेर भन्यौं ।
हामीलाई राम्रोसँग थाहा छ, हामीले चलाउनु हुँदैन । तै पनि तपाईंहरुको दवाव आएको हुनाले, अभिभावकहरुको पनि कुरा सुनौं भन्ने हिसाबले अभिभावक बैठक राखेको भनेर भनेका छौं । हामीले अभिभावकलाई कन्भिन्स गर्यौं । विशेष गरी कक्षा ८, ९ र १० का अभिभावकहरुले चाहिँ बरु थोरै राखौं, १०÷१० जना राखौं, यसो गर्दा संक्रमण नफैलेला भनेर पनि सुझा दिए ।
विद्यार्थी, जो अलिकति अध्ययनशील छन्, उनीहरु कक्षामा बस्न पाए हुन्थ्यो भन्ने चाहन्छन् । हामीले तिनीहरुलाई होमवर्कहरु दिनु अगाडि पनि सरकारी र निजी च्यानलहरु मार्फत् आएका पठन सामग्रीहरुलाई सूचना दिएका थियौं । त्यो अुनसार करिब आधा आधा जतिमा त्यो लागू पनि भयो । बुझ्दै जाँदा लगभग ६० प्रतिशत विद्यार्थीसँग ईण्टरनेटको पहुँच नभएको देखियो । जसकोमा नेट छैन, त्यो बच्चा चाहिँ साथीकोमा जान तयार, तर जसकोमा नेट छ, उ चाहिँ पढ्नु पर्छ, शिक्षकहरु आउनु हुन्छ भन्ने चिन्तामा रहेको पाएका छौं । उनीहरुमा विभिन्न बहाना बनाउने प्रवृत्ति देखिएको छ । त्यसो हुनाले अनलाइन कक्षा त्यति धेरै प्रभावकारी देखिएन ।
हामी घरघरमा पनि गयौं, अवस्था बारेमा डाटा संकलन गरे पछि अनलाइन कक्षा प्रभावकारी नुहने देखियो भने पछि हामीले जेठको २५ गतेबाट होमवर्कहरु दिन थाल्यौं । त्यो होमवर्क दिनलाई पनि हामी स्टाफहरु बारम्बार बैठक बस्यौं । विद्यार्थीलाई पठनपाठनसँग जोड्नुपर्छ भन्ने हिसाबले सुरुमा सजिला प्रोजेक्ट वर्कहरु दियौं । कोरोना बारेका होमवर्कहरु दियौं । त्यसले विस्तारै विस्तारै बच्चाहरुमा केही लेख्नुपर्छ, केही पढ्नुपर्छ भन्ने भयो ।
बच्चाले केही बुझेका छैनन् भने बच्चासँगै तपाईं पनि विद्यालयमा आएर, सामाजिक दूरी कायम गरेर शिक्षकसँग कुराकानी गर्न सक्नुहुन्छ भनेर भन्यौं । अभिभावकहरुलाई पनि सकेसम्म फोनबाट, समस्या समाधान गर्ने प्रयास गरेका छौं ।
सुरु सुरुमा के गरौं, के गरौंको अवस्था हुँदै नभएको हैन । पछि विद्यालयमा सामजिक दूरी कायम गरी बस्दै, मास्क, स्यानिटाइजर प्रयोग गर्दै अघि बढ्यौं । यो विद्यालयको वाध्यता हो, प्रअ र व्यवस्थापन समितिको रहर हैन, वैकल्पिक उपायबाट बच्चाहरुलाई सहयोग गर्नू, अध्ययन क्रियाकलापमा सहयोग गराउनू भन्ने सरकारको आदेशले पनि अलि सजिलो बनेको हो । सरकारले भनेअनुसार अनलाइन कक्षा त्यति प्रभावकारी भएन । त्यसैले त्यसलाई निरन्तरता दिनु भन्दा नदिनु उत्तम देखियो । अहिले बच्चाहरुमा केसम्म भयो भने, अनलाइन कक्षामा बस, बस भन्दा मोबाइल किन्ने प्रेसर भएको छ । बच्चाले मोबाइल नकिन्दिने भए, हामी त सुसाइड गर्छौं भन्ने सम्मका धम्की दिएको गुनासो पनि आयो ।
हामी अभिभावक र विद्यार्थीसम्म पुग्न कसरी सकिन्छ भन्ने विषयमा छलफल गरी अघि बढ्यौं । यसका लागि अभिभावकलाई नै बढी जिम्मेवार कसरी बनाउन सकिन्छ ? भन्ने उपाय निकाल्न तिर लाग्यौं । लकडाउनको समयमा अभिभावक शिक्षालाई अझ व्यापक बनाउन सकिन्छ भन्ने हेतुले अभिभावकसँग नियमित सम्र्पकमा रहने उपाय खोज्यौं । अभिभावकले विद्यार्थीको मनोदशा, संवेगहरुको कुरा गर्ने भयो । अध्ययनमा कतिको रुचि दिएर गर्छ ? गर्दैन पनि हेर्ने भयो । सँगसँगै विद्यार्थीलाई के समस्या परेको हो ? सिधै सोध्ने भो । यो भन्दा पहिला पनि अभिभावकको भूमिका हुन्थ्यो । हामीसँग ६ घण्टा बस्ने, अभिभावकसँग १८ घण्टा बस्ने । १८ घण्टा सँगै बस्दा पनि त्यो कुरा भएको थिएन भने अहिले लकडाउनको अवस्थामा अभिभावकले चासो दिएर, अभिभावककै निगरानीमा काम भएको छ । यसले अभिभावक, शिक्षक, विद्यालयको सम्बन्ध अझ राम्रो भएको छ । सँगसँगै अभिभावक र बच्चाहरुको सम्बन्ध पनि अझ बलियो भएको पाइयो । आफूलाई नआएको कुरा, आफूलाई परेको समस्या अभिभावकलाई स्पष्ट भन्न थालेको कुरा अभिभावकहरुले सुनाएका छन् । अभिभावकहरुले पहिला पठनपाठनका विषयमा हामीसँग डराउने, लजाउने विद्यार्थीले समेत हामीसँगै सोध्ने गरेका छन् भनेर अभिभावकले भनेका छन् ।
जुन घरमा बच्चालई पिटियो, थर्काइयो, त्यो घरका बालबालिकाले खासै पढाइमा ध्यान नदिएको देखियो, झारो टार्ने काम मात्र गर्ने गरिएको देखियो, पढ्दै नपढी गृहकार्य गर्ने गरेको देखियो भने, जुन घरमा बालमैत्री वातावरण बनाइ दिनुभयो, त्यहाँ चाहिँ बच्चाहरुले आफैं उत्सुक भएर, आफैं प्रेरित भएर काम भएको देखियो । आमा चाहिँ तरकारी काट्दै, चामल निफन्दै, घरायसी काम गर्दै, बच्चाहरुलाई निगरानीमा राखेर, सम्झाएर, बुझाउँदा बच्चाहरुले सिकेको अभिभावकहरुले सुनाएका छन् ।
लकडाउनले गर्दा अभिभावक, शिक्षक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्ध अझ बलियो बनेको देखिएको छ । यो कोरोना, लकडाउनले विद्यार्थी शिक्षकदेखि अलि टाढा भएको महसुस भएको छ । केही विद्यार्थी अभिभावकसँगै आएर नबुझेका कुराहरु सोध्नका लागि आए पनि शिक्षक र विद्यार्थीबीचको नङ र मासुको सम्बन्ध जस्तै त हुन पाएन । तर हामीले अभिभावक मार्फत् नै विद्यार्थीसम्म पुग्ने काम गरेका छौं । हामीले अभिभावकलाई विषय शिक्षक, शिक्षकहरु सबैको मोबाइल नम्बर दिएका छौं । त्यो नम्बर दिँदा दिँदै पनि कति अभिभावक, विद्यार्थीको आर्थिक समस्याका कारण, कहिले रिचार्ज गर्न नसक्नु, कहिले नेटवर्कको समस्या हुनु जस्ता कारणले अफ्ठ्यारो अवस्था सिर्जना भएको छ ।
यही अप्ठ्यारोलाई सजिलो बनाउन हामीले जुन शिक्षकसँग सोध्नु छ उसको नम्बरमा मिसकल गर्न भनेका छौं । विद्यालयका कुनै शिक्षकलाई मिसकल गर्नूस्, फलानो विषयका शिक्षकसँग कुराकानी गर्नुछ, भन्नुस्, हामी विद्यालयको फोनबाटै फोन गरेर विद्यार्थीको समस्या समाधान गरिदिने बन्दोबस्त गरेका छौं भनेका छौं । अभिभावकको मिसकल आउँछ शिक्षकले विद्यालयको फोनबाट कल व्याक गर्नु हुन्छ । यसले गर्दा अभिभावकलाई पनि आर्थिक बोझ परेन र हामी शिक्षकलाई पनि विद्यार्थीलाई फोन मार्फतै भए पनि सिकाउन पाउँदा खुसी भएका छौं । त्यो कम्युनिकेशनले सिकाइमा प्रभावकारीता बढेको अनुभव गरेका छौं ।
हामीले पढाइ गर्यौं भनेर भनेका छैनौं, शिक्षक विद्यार्थीलाई अध्ययन क्रियाकलापमा संलग्न गराएका मात्रै हौं । विद्यार्थीलाई हामी फ्रि छैनौं, हामीले जे गरे पनि हुन्छ, हाम्रो अध्ययन पहिलो पाटो हैन भन्ने कुरा बुझाउन खोजेका छौं । पढ्नुपर्छ, पढ्दै गयो भने केही कुरा सिक्न सकिँदो रहेछ भन्ने सन्देश दिन सकेका छौं । त्यो चाहिँ लगभग ८५ देखि ९० प्रतिशत विद्यार्थीमा छ, बाँकी विद्यार्थीलाई अझ फकाउन बाँकी छ ।
गणेश मावि, छालिङ भक्तपुरका प्रधानाध्यापक फोँजूसँग हरिसुन्दर छुंकाले गरेको कुराकानीमा आधारित ।
प्रतिक्रिया