Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

कवाडी सामान बेचेर पढ्दै विपन्न बालबालिका

मंगलबार, ०८ मंसिर २०७२

काठमाडौँ, ८ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीका विपन्न समुदायका बालबालिकाले कवाडी सामान सङ्कलन गरेर पढाइ खर्च जुटाउने गरेका छन् ।   गरिबीका कारण अभिभावकले कापी, कलम, पोसाकलगायतका खर्च उपलब्ध गराउन नसकेपछि उनीहरु पढाइलाई निरन्तरता दिनका लागि आफँै श्रम गर्न बाध्य भएका हुन् । 

म्याग्दीको बेनी, पर्वत बेनी बजारका साथै फोहर फाल्ने ठाउँमा धातुका टुक्रा सङ्कलन गरेर कवाडीलाई बेचेर आम्दानी भएको पैसाले शैक्षिक खर्च जुटाउने गरेका छन् ।   रातोपहिरोको फोहरको थुप्रोमा धातुका टुक्रा खोज्दै गरेका बेनी बजारका १२ वर्षीय मनिष विकले कवाडीलाई बेचेर आम्दानी हुने पैसाले कापी, कलम, पोसाकलगायतका सामग्री किन्ने गरेको बताए । 

“बुबाआमाले मजदुरी गरेको पैसाले खान, बस्न, कोठाभाडा तिर्न ठिक्क हुन्छ” उनले भने – “दाउरा, कवाडी सामान सङ्कलन गरी बेचेर पढ्ने गरेको छु ।”   उनीहरु बिदा, बिहान र बेलुकीको समयमा कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् ।

विपन्न बालबालिकाका लागि कवाडी सामानको सङ्कलनका साथै बर्खा मौसममा कालीगण्डकी र म्याग्दी नदीले बगाएर ल्याउने दाउरा तथा होटलमा भाँडा माझ्ने काम अतिरिक्त आयस्रोत हो । 

गुर्जा घर भई हाल बेनी बजारमा बस्दै आएकी कुमारी विकले बिहान, बेलुकी होटलमा भाँडा माझ्ने र दिउँसो विद्यालयमा पढ्न जाने गरेकी छिन् । बेनीस्थित प्रकाश उच्च मावि कक्षा ३ मा पढ्ने उनले अभिभावकले भाँडा माझ्ने काममा लगाएको बताइन् ।

“बिहान, बेलुकी होटलमा भाँडा माझ्दा थकाइ लाग्छ” उनले भनिन् – “गृहकार्य गर्न र पढ्नै पाइँदैन । कक्षामा निद्रामात्रै लाग्छ ।”   विपन्न समुदायका बालबालिका पढाइ खर्च जुटाउनका लागि श्रम गर्न बाध्य बने पनि यस्तो समस्या न्यूनीकरणका लागि जिल्लामा सम्बद्ध सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग प्रभावकारी योजना तथा कार्यक्रमको अभाव छ । 

गरिबी, अशिक्षा, चेतनाको कमी, पारिवारिक कारणले श्रम गर्न बाध्य बालबालिकाको पुनःस्थापना र संरक्षण गर्न नसक्दा बालबालिकालाई श्रमबाट मुक्त बनाउन नसकिएको हो ।   सरकारले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउन नपाउने कानुन बनाए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालश्रमिक देखिन छाडेका छैनन् । 

श्रममा संलग्न बालबालिकालाई संरक्षण र पुनःस्थापना गर्ने योजना तथा कार्यक्रम र निकाय नहुँदा बालश्रम न्यूनीकरण गर्न समस्या भएको म्याग्दीका बाल कल्याण अधिकृत मिठू आचार्यले  बताए । 

जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई आपत्कालीन व्यवस्थापन गरिँदै आए पनि दिगो रुपमा उनीहरुको पुनःस्थापना तथा संरक्षण गर्ने योजना तथा कार्यक्रमको अभाव भएको अधिकृत आचार्यको भनाइ छ । 

म्याग्दीका होटल, निर्माण र यातायात क्षेत्रमा बालश्रमिकको संलग्नता देखिएको छ । यद्यपि बालश्रमिकको पछिल्लो तथ्याङ्क सङ्कलन पनि हुन सकेको छैन् । विसं २०६२ मा सङ्कलित तथ्याङ्कमा म्याग्दीमा एक हजार बालश्रमिक रहेको उल्लेख छ ।

(रासस) 

 

प्रतिक्रिया