Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

निजी विद्यालयको अनुगमन गर्न प्राविधिक थप

मंगलबार, २६ जेठ २०७२

काठमाडौं २६ जेठ / राजधानीका निजी विद्यालयहरुमा भूकम्पका कारण क्षती पगेको नपुगेको परीक्षण गर्न प्राविधिक थप गरिने भएको छ । शिक्षा कार्यालय काठमाडौंका इञ्जिनियर र सव ओभरसियर सहित पाँच जनाले नभ्याएपछि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटबाट स्वंसेवक माग गरेर प्राविधिक थप गरिएको हो ।

प्राविधिक अपुग भएकै कारण झण्डै चार सय निजी विद्यालयको प्राविधिक परीक्षण हुन सकेको छैन

‘परीक्षण गर्ने प्राविधिक नभएकोले ४ सय विद्यालयको भवन जाँच गर्नै सकिएको छैन,’ इञ्जिनियर गिरिधर मिश्रले भने,‘एनसेटबाट थप प्राविधिक भोली बुधबार आएपछि अनुगमनलाई तिब्रता दिन्छौ ।’ 

काठमाडौंमा सामुदायिक विद्यालयको परीक्षण सकाएपनि निजी विद्यालयको अधुरो भएपछि शिक्षा विभाग मार्फत एनसेटबाट प्राविधिक माग गरिएको हो । प्राविधिक कम भएपछि केही दिनदेखि निजी विद्यालयको अनुगमन नै रोकिएको छ ।

ललितपुरमा भने सोमबार निजी विद्यालयको पनि अनुगमन सकिएको शिक्षा कार्यालयले जनाएको छ । यसअनुसार २ सय ७५ निजी विद्यालयको ८ सय ६४ भवनको परीक्षण गरेको छ । त्यसमा ७ सय ८ भवनमा हरियो र १ सय ५६ मा रातो स्टिकर लगाइएको शिक्षा कार्यालयका इन्जिनियर इन्द्र महर्जनले जानकारी दिए ।

त्यस्तै सामुदायिक तर्फ १ सय ८८ विद्यालयको ६ सय ९२ भवन मध्ये ३ सय ३९ मा हरियो र ३ सय ५३ भवनमा रातो स्टिकर लगाइएको छ । यस अनुसार २ सय १८ वटा अस्थाई सिकाई केन्द्र बनाउनु पर्ने भएको छ । यसमध्ये धेरैजसो विद्यालयमा केन्द्र निर्माणलाई तिब्रता दिइएको छ ।
भक्तपुरमा रहेका सबै १ सय २९ वटा सामुदायिक विद्यालयको परीक्षण सकिएको र ९४ वटाले रातो स्टिकर पाएको शिक्षा अधिकारी रमाकान्त शर्माले बताए । १ सय ६७ वटा संस्थागत विद्यालय मध्ये ४५ वटाले रातो स्टिकर पाएको उनले बताए । 

तस्विर ईन्टरनेट  

प्रतिक्रिया