Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

सानोठिमी जानु पर्ने शिक्षा मन्त्री किर्तिपुर हिँडेपछि...

सोमबार, ०७ मंसिर २०७२

भक्तपुर - विश्वविद्यालय अनुदान आयोगले आफ्नो २२ औं बार्षिकोत्सवको उद्घाटन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलबाट गर्ने निधो गरेको थियो । तर, कार्यक्रमका प्रमुख अतिथि पोखरेललाई आयोगको कार्यालय भक्तपुरको सानोठिमीमा छ भन्ने नै हेक्का रहेनछ ।

विश्वविद्यालय भन्नासाथ उनलाई लागेछ, आयोगको कार्यालय पनि किर्तिपुरमै छ । 'आयोगको अफिस किर्तिपुर तिर छ भनेर उतै जान लागेको, सानो ठिमी पो रहेछ ।' सोमबार बार्षिकोत्सव उद्घाटन मन्तव्यमा मन्त्रीले आफ्नो अलमल सुनाउँदा सहभागिहरुले हाँसो थाम्न सकेनन् । हाँसोले केहीबेर हलै गुञ्जियो ।

'मन्त्री भएदेखि मेरो काम शिक्षाका निकायहरुको ठेगाना पत्ता लगाउँदैमा वितेको छ' उनले भने, 'केही दिन शुभकामना थाप्दैमा ब्यस्त भएँ, विद्यार्थी खालकै मन्त्री हुँ सिक्दै छु, शिक्षा क्षेत्र बुझ्दै छु ।'

पछिल्लो समय जहाँ गए पनि समस्या मात्रै देखेको भन्दै मन्त्री पोखरेलले भूकम्पका कारण क्षती भएका विद्यालयको पुर्ननिर्माण, सय दिन देखि बन्द तराई मधेस क्षेत्रका विद्यालयको पठन पाठन, ईन्धन अभावका कारण नीजि विद्यालयहरुले भोगेको समस्या अहिलेको चुनौति भएको बताए ।

आफूले सार्वजनिक गरेको प्रतिबद्धता मार्फत शिक्षाको बजेट कति हुनु पर्ने ? शिक्षा क्षेत्रका ब्यक्तिका सन्तानलाई कहाँ पढाउने ? संविधानले परिकल्पना गरेको समाजबाद र शिक्षाको पहुँचका बारेमा बहस शुरु गरेको बताउँदै मन्त्रीले अवको योजना पहिला बहस गरेर मात्रै बनाउने बताए ।

विज्ञले बनाएको नीति भन्दा बहसबाट स्थापित नीतिको महत्व धेरै हुने भएकोले आफूले बहस शुरु गरेको उनको भनाई थियो । संविधानले समाजबादको परिकल्पना गरेको छ तर, नीजि र सरकारी भन्ने दुई खाले विद्यालयहरु सञ्चालनमा छन्, उनले भने, अव हामीले सार्वजनिक शिक्षा भन्नु पर्छ, त्यहि दिशामा अघि बढ्नु पर्छ ।

विश्वविद्यालयहरु सरकारी लगानीमा सञ्चालन गर्न नसकिने बताउँदै उनले अबको विश्वविद्यालय आफ्नै श्रोत र साधनबाट सञ्चालित हुनु पर्ने बताए । विश्वविद्यालयहरुमा अख्तियारले छापा मार्नु दुखको कुरा भन्दै उनले विश्व विद्यालयहरुले स्वतन्त्रताको नाममा अराजकता बढाउनु नहुने पनि बताए ।

'आयोगका समस्या के छन्, ल्याउनुहोस्, राम्रो कामको लागि योगदान गर्न तत्पर छु' उनले भने, 'मलाई पनि सहयोग गर्नुहोस् ।' 

प्रकाशित मिति २०७२ मंसिर ७ गते

प्रतिक्रिया