Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

मेरो शिक्षक सपना

सोमबार, ०७ मंसिर २०७२

- उद्धव सापकोटा / त्यो अंग्रेजी कक्षा थियो र म कक्षा ३ को विद्यार्थी थिएँ । ठाउँ मकवानपुरको चीसापानी । त्यो मेरो मामा घर थियो । गाउँमा पढ्ने स्कुल नभएपछि म त्यहाँ पुर्याइएको थिएँ पढ्नका लागि । हो, त्यही बेलादेखि हो मलाई शिक्षक बन्ने रहर जागेको ।

यो रहर गजाइ दिएका हुन् मलाई त्यही स्कुलका अंग्रेजी शिक्षकले । उनले बोलेर, प्रेरणा दिएर, किन शिक्षक हुनु पर्छ कारण बताएर मलाई त्यस्तो रहर जागेको होइन । कक्षामा उनको हरेक दिनको पिटाइले त्यस्तो प्रेरणा दिएको हो । कहिले काहिँ पिटाइ पनि प्रेरणा बन्दो रहेछ यसरी । कक्षामा मैले पिटाइ नखाएको दिन भएन । जति थप्पड खान्थेँ मलाई मनमा माष्टरनै बन्नु पर्ने रहेछ भन्ने लाग्थ्यो । त्यो रहर झन झन् झांएिर गयो । कारण दिनदिनैको पिटाइले के विचार आयो भने माष्टरले पढेको हुन्छ र पढेपछि कुट्न पाइन्छ ।

म पनि पढ्छु । धेरै पढ्छु । यो मास्टरले भन्दा धेरै । अनि यसैलाई पढाउने माष्टर बन्छु र यसलाई पनि यसैगरी दिनदिनै पिट्छु । यही बदलाको भावनाले मलाई पढ्न प्रेरित गर्यो र त्यो पढाइले म माष्टर भएँ ।
यस बाहेकको अर्को कुरो पनि छ, म माष्टर हुनु पछाडि । हाम्रो गाउँमा हामीले पहिलो पटक देखेको सफा, सुकिलो र हातमा घडी बानेको मान्छे शिक्षक हो । उसको ठाँट, रवाफ हेर्दा सबै जाने जस्तो देखिन्थ्यो । मलाई के लाग्यो भने माष्टरले सबैथोक जानेको हुन्छ । यसले पनि मेरो मनको कुनै कुनमा शिक्षक बन्ने सपना बुनेर राख्यो ।

चीसापानीको त्यो स्कुलमा म एक वर्षभन्दा बस्न सकिन । त्यसको कारण अंग्रेजी शिक्षकको पिटाइ पनि एक थियो । चीसापानीको त्यो पिटाइ कक्षा छाडेर म घरभन्दा डेढ घन्टा परको हात्तिसूँडे भन्ने ठाउँको स्कुलमा गएँ । त्यहाँ कक्षा ८ सम्मको पढाइ सकेर एसएलसी दिन फापरवारी भन्ने अर्को ठाउँमा पुगेँ ।

एसएलसी पछि मेरो शिक्षक बन्ने सपना पूरा भयो । म शिक्षक भएँ । छतिवनकै वडा नम्बर ४ माटोकोरीको प्राथमिक स्कुलमा । धेरैजसो तामाङ् र थोरैमात्रै क्षेत्री बाहुनको बस्ती रहेको त्यो स्कुलमा मैले पहिलो पल्ट शिक्षकका रुपमा केटाकेटीसित बस्ने मौका पाएँ ।

माष्टरी गर्न थालेकै बेलादेखि म भूमिगत पार्टी मालेको सम्पर्कमा थिएँ । केटाकेटी पढाउने, घर व्यवहार चलाउने बाहेक म सित अर्को जिम्मेवारी नि थियो पार्टीको कार्यकर्ताको जिम्मेवारी । पार्टिको काममा लागेर संगठन बनाउन हिंडे पनि मैले कहिल्यै कक्षा छाडिनँ ।

कक्षा ३ मा अंग्रेजी शिक्षकले हिर्काएको पीडा हत्केलामा थियो तर मैले त्यसरी कहिल्यै केटाकेटीलाई कुटिनँ । मलाई लाग्यो शिक्षक हुनु कुट्नु होइन । पार्टीमा लागेर मलाई के फाइदा भयो भने संगठन विस्तार र जनसम्पर्कका लागि पनि मैले विद्यार्थी सित राम्रो व्यवहार गर्नु पर्छ । त्यतिबेला अरु शिक्षक पनि थिए । मैले ठाने बुर्जुवा शिक्षक भन्दा मैले फरक हुनै पर्छ । शिक्षण सिकाइमा र अरु कुरामा पनि । आफ्ना घर व्यवहार र संगठनका काम रात रातभर गरेर म भोलिपल्ट साविककै समयमा कपषा पुग्थेँ । पूरा समय स्कुलमा केटाकेटी पढाउँथेँ ।

२०४६ सालको आन्दोलनमा लागेको आरोपमा मेरो जागिर गयो । जागिर त गयो कम्तीमा निर्दलीय पञ्चायती शासनको अन्त र बहुदलीय प्रजातन्त्रको स्थापनाको खुसीले म झन् केटाकेटी, स्कुल र पेशाप्रति कटिबद्ध भएँ । मलाई लाग्थ्यो अहिले पनि लाग्छ दुनियाँ असल नियतका साथ गर्ने राजनीतिलेनै बदल्न सकिन्छ, बदल्छ । तर अपेक्षा अनुसार देशको राजनीति चलेन ।

२०५२ सालमा आफू आवद्ध पार्टीको सरकार आयो । त्यसले खुसी नबनाउने कुरै भएन । तर त्यस सितै दुःखहरु पनि आए । विशेष गरी २०४६ को प्रजातन्त्र पुर्नस्थापना पछि राजनीति गर्नेको कमी भएन । हिजोका प्रजातन्त्रका घोर निन्दक, दलहरुका विरोधी र जासुसहरु एकाएक भयंकर प्रजातन्त्रवादी भएर निस्किए । पार्टीमा उनीहरुको हाली मुहाली हुन लाग्यो । उनीहरु सिद्धान्त र अनुशासन सिकाउन लागे ।

राजनीति र पेशागत संगठनको आवरणमा सम्पती आर्जनमा लाग्नेहरुनै माथि पुग्न थाले । मैले आफूलाई वेइमान बनाउन सकिनँ । म शिक्षक थिएँ । मैले कसरी आफूलाई बेइमान बनाउन सक्थेँ । मैले आफूलाई बेइमान बनाएर कसरी विद्यार्थी अघि उभिएर इमानको नैतिक शिक्षा पढाउन सक्थेँ ।

अझ राजनीतिमै लाग्दाको अर्को कुरा । आफूले सम्मान गरेको पार्टीका शिक्षक पृष्ठभुमिका व्यक्ति मन्त्री भए । मन्त्री भएपछि उनले भने, शिक्षकले राजनीति गर्ने होइन । उनले भने भन्दा पनि धम्की दिए भन्नु उत्तम ठान्छु यहाँ निर । सुन्दा कुरा सही जस्तो लाग्छ । तर मेरो मनमा प्रश्न उठ्यो, के शिक्षकले साँच्चै राजनीति गर्नु हुदैन ?

मलाई लाग्छ शिक्षक समाजको सचेत नागरिक हो । ऊ राजनीतिक चेतना हीन भयो भने समाज पनि राजनीतिक चेतनाहीन हुन्छ । अझै पनि शिक्षकको पहुँच जति छ अरुको पहुँच समुदायमा त्यो तहको छैन । त्यसैले शिक्षकले राजनीति गर्नु हुन्न भन्ने कुरा आधारभूत रुपमै गलत छ । कुरो के हो भने राजनीतिका कारण केटाकेटीको पढाइ प्रभावित हनु भएन । कुनै आस्थाका कारण विद्यालयमा प्रभाव पर्नु भएन ।

शिक्षण गरुञ्जेल ऊ शिक्षक हुनु पर्यो । शिक्षकलाइ शिक्षक हुने वातावरण बनाउन दल, राज्य वा सरकार सचेत हुनुलाई राम्रो मान्न सकिन्छ । तर शिक्षकलाई राजनीति नगर भन्ने धम्की दिने त्यो पनि हिजो त्यही शिक्षक पेशामा बसेर राजनीति गरेर त्यहाँ सम्म पुगेको व्यक्तिले ? त्यो कति ठीक होला ? मैले यसबारे धेरै पछि सम्म सोचेँ ।

यस्तै गतिविधि बढ्दै गए, राजनीति धमिलो हुँदै गयो । राजनीतिको नाममा माओबादी आतंक बढ्न थाल्यो । कारण अनेक होलान् शिक्षक मारिए । न राज्यले चासो लियो न माओवादीले । अनि म सक्रिय  राजनीतिबाट टाढा भएर बस्न थाले ।

अहिले म जम्मामा शिक्षक हुँ । एसएलसी सकेर शिक्षक भएको मैले वीचमा लामो समय पढाइ अघि बढाउन सकेको थिइनँ । यहीवीचमा मैले आफूलाई शैक्षिक रुपमा अघि बढाएँ । कलेज भर्ना भएँ । पढेँ । मकवानपुरको छतिवनस्थित महेन्द्र माविमा केही समय प्रधानाध्यापकको जिम्मेवारी पनि सम्हाल्ने अवसर पएँ । यी सबै बेला मैले आफूलाई केटाकेटी, विद्यालय, कक्षाकोठा र सिकाइमै जोड दिएँ । त्यसमा म कति सफल भएँ वा असफल त्यो इतिहासले, समयले, मैले पढाएका केटाकेटीले र समुदायले मूल्यांकन गर्र्ला, गरिरहेको होला ।

कक्षा ३ पढ्दा अंग्रेजी शिक्षकको दिन दिनको कुटाइले माष्टर बन्ने सपना बुनेको केटो मैले झण्डै तीन दशकको शिक्षण यात्रालाई फर्केर अहिले मलाई लाग्छ, राजनीतिमा लागेर मैले देस त बनाउन सकिनँ नै, त्यो टाढाको कुरा भयो । कहिले काहिँ चिन्ता लाग्छ, सायद विद्यार्थीको भविष्य पनि राम्रो बनाउन सकिनँ कि ?

एउटा कुरा मैले ठीक गरेको छु, मैले विद्यार्थी कुटिनँ । सकेसम्म तिनलाई स्कुल प्रतिको मोह जगाउन प्रयास गरेँ । र, त्यो प्रयासमा निरन्तर लागि रहनेछु ।

(सापकोटा मकवानपुरको छतिवन स्थित महेन्द्र उच्च माविका नेपाली शिक्षक हुन् ।)

प्रकाशित मिति २०७२ मंसिर ७ गते

प्रतिक्रिया