अभिभावकहरु भन्छन्– छोराछारीहरु आज्ञाकारी हुन छाडे ।
छोराछोरी भन्दछन्–मम्मी ड्याडी पुरानो चिन्तनका ! वहाँहरु जस्तै बनी दिनु पर्ने रे !
अर्थात् ‘जेनेरेसन ग्याप’ ।
शिक्षकहरु भन्छन्– विद्यार्थीमा अनुशासन, मान, मर्यादाको चेतना एवं लगनशीलताको कमी हुँदै गयो ।
विद्यार्थी भन्छन्– हाम्रो मनोविज्ञान नबुभ्mने सरहरुले दिक्क बनाउँछन् !
विज्ञहरु भन्छन् – शिक्षामा आमूल परिपवर्तन गर्न जरुरी छ ।
नेताहरु भन्छन्,– लामो समयको संघर्षले गणतन्त्र ल्याइयो । संविधान बनाइयो । समाजवाद उन्मुख लोकतान्त्रिक नेपाल निर्माणमा छौं । विस्तारै देश विकास हुन्छ ।
नागरिक भन्छन्– देश विकास हुन सकेन । सुशासन खै ? नेताहरु खराब भए । भ्रष्ट भए । गुट उपगुटका मालिक भए । राष्ट्रनायक हुन सकेनन् ।
सामाजिक अभियान्ताहरु भन्छन्–यो देशका नेताहरु त खराब छँदैछन् यस्तालाई भोट दिएर जिताउने नागरिक पनि उस्तै ।
सेवाग्राही भन्छन्– कर्मचारीतन्त्र गैरजिम्मेवार छ । सार्वजनिक सेवा जनमैत्री छैन ।
कर्मचारीहरु भन्छन् –राम्रो र ईमानदार राष्ट्र सेवकहरुलाई एउटै बास्केटमा परियो ।
ग्राहकहरु भन्छन् व्यापारीहरुले लुटे । मूल्य बृद्घि गरे । मिसावट गरे ।
व्यापारीहरु भन्छन्– व्यापार भनेको कमाउनका लागि त गर्ने होनी । सरकारलाई चर्को कर तिर्नु पर्छ ।
किसानहरु भन्छन्– हामीहरु ठगियौं । बिचौलियाले पैसा खाए । उत्पादनको मूल्य पाएनौं ।
ठेकेदारहरु भन्छन्– माथिसम्म सेटिङग मिलाउनु पर्छ । कसरी गुणस्तरीय काम गर्नु ?
बिरामीहरु भन्छन्– उपचाार गर्न घर खेत हुने भो ।
डाक्टरहरु भन्छन्–पढ्दा गरेको ठूलो लगानी त उठाउनु पर्यो नी ।
महिलाहरु भन्छन् समाज पुरुषवादी भयो । हामीलाई पछि पारियो ।
दलित भन्छन्– जातीय विभेद भयो । अन्यायमा परियो ।
जनजाति भन्छन्– ब्राम्हणवादले थिचोमिचो गर्यो । यसको अन्त्य कहिले हुने ?
उल्लेखित सन्दर्भ समाजका प्रतिनिधी आवाज हुन् । कतिपय व्यवहार हुन् । कतिपय आरोप पनि हुन् । कतिपय मनोविज्ञान हुन् । जे भएता पनि यी विभिन्न जात, जाति, पेशा र वर्गका मानिसहरुहरु हाम्रो देशको शिक्षा प्रणाली, सामाजिक वातावरण र राजनितिक अभ्यासबाट प्रशिक्षित नागरिक हुन् । जे को बीउ रोप्यो, त्यसकै फल फल्छ, भने झैं देशको शिक्षा र समाजका उपज हुन् । तितो सत्यका ज्वलन्त पात्र हुन् ।
नागरिकलाइ शिक्षा दिने औपचारिक एवं आधिकारिक संस्था राज्य हो । कस्तो शिक्षा दिई कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा देशको शिक्षा नीति, उद्देश्य, प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, मूल्याङ्कन प्रकृया लगायतले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अहिले शिक्षाका विभिन्न पक्षहरुमा आमूल परिवर्तनको आवश्यकता महशुस भएता पनि शिक्षालाई समय सापेक्ष बनाउने बिषयमा ठोस बहस हुन सकेको छैन ।
शिक्षाको धेरै उद्देश्यहरु मध्ये एउटा मुख्य उद्देस्यमा अनुशासित, प्रजातान्त्रिक, लोकहितकारी एवं कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्नु हो । देश विकास गर्नको लागि त्यहाँका नागरिकहरु सिर्जनशील, कल्याणकारी, ईमानदार, कर्मशील एवं कर्तव्यनिष्ठ हुन आवश्यक हुन्छ । के राज्यले अवलम्बन गरेको शिक्षाले हाम्रो समाज उल्लेखित गुणहरुले प्रशिक्षित छ त ? चोटिलो प्रश्न खडा भएको छ । छैन भने किन भएन । उत्तर सजिलो छ । शिक्षामा नैतिक शिक्षाको अभाव छ । त्यसैले ।
नैतिक शब्दको अर्थ सुविचारशील स्वभाव, सद्विचार, सद्भाव वा सदाचारको नियम भन्ने हुन्छ । नैतिकता भनेको नीति हुनाको भाव व्यबहारमा आउनु हो । देशमा राजनितिज्ञ, अर्थशास्त्री, वैज्ञानिक, विज्ञ, विशेषज्ञ, डाक्टर, इञ्जिनियर, शिक्षक, प्राध्यापक, उध्योगी, व्यापारी, लेखक, कलाकार लगायतको जनशक्ति उसले प्राप्त गरेको शिक्षा, व्यबहार र सामाजिक वातावरणबाट प्रशिक्षित हुने भएकोले उल्लेखित व्यक्ति एवं व्यक्तित्वहरु नैतिकवान, चारित्रिक एवं इमानदार हुन जरुरी हुन्छ । यसको लागि नैतिक शिक्षा दीक्षाको खाँचो हुन्छ ।
नैतिक शिक्षाले व्यक्तिलाई जन्मदिने माता, पिता र शिक्षा दिने गुरुजन र समाजका मान्यजनहरुको आदेश र उपदेशलाई शिरोधार्य गर्नसक्ने सकारात्मक सोंचको विकास गर्न सहयोग गर्दछ । यसका साथै ठूलालाइ ईज्जत, सानोलाई माया, सहिष्णु आचरण, लोककल्याणकारी चिन्तनको विकासमा ठूलो भूमिका खेलेको हुन्छ । यसै गरी आप्mनो भाषा, संस्कृति, धर्म, परम्परागत सामाजिक मूल्य र मान्यताहरुप्रतिको सकारात्मक सोंचको विकास गराउनुका साथै समाजमा रहेका भिन्न धार्मिक तथा साँस्कृतिक सम्प्रदायका मूल्य र मान्यताहरु प्रति सहानुभूति एवं समानुभूति राख्न सक्ने चिन्तनको विकास र व्यवहारमा महत्वपूर्ण भूमिका खेल्दछ ।
शिक्षाशास्त्री ओटावेले नवजात शिशु जन्मँदा असामाजिक हुन्छ भन्दै उसलाई सामाजिक र मानवीय जीवनचर्यामा परिणत गर्ने काम घर–परिवार समुदाय, विद्यालय लगायतका निकायहरुको हो भन्ने आशय व्यक्त गरेका छन् ।
नेपोलियन बोनापार्टले मलाई शिक्षित आमा देउ मैले तिमीलाई असल नागरिक दिन्छु, भनेका छन् ।
यसरी हेर्दा घर, परिवार, समाज, एवं देशका शिक्षालयहरुले बालबालिकाहरुलाई सानैदेखि नैतिकवान, कर्तव्यनिष्ठ, सरल, सभ्य, शालीन, भद्र तथा सहयोगी बनाउन सकेमा यही जनशक्ति देशको भविष्यका हरेक क्षेत्रका जनशक्ति हुन् ।
प्रकृतिवादी दार्शनिक रुशोले शिक्षालाई आचरण निर्माणको माध्यम हो भनेका छन् ।
मानिसको नैतिक आचरण, असल वानी, व्यबहार, तथा असल संस्कारहरु सिक्ने आधार शिक्षा हो । त्यसैले राज्यले विद्यालयतह देखि उच्च शिक्षासम्मको पाठ्यक्रम, पाठ्यपुस्तक एवं शिक्षण सिकाइमा नैतिक शिक्षादीक्षा, असल आचरण र मानवीय व्यबहार निर्माणमा जोड दिनु पर्दछ ।
अहिले समाजमा साईवर अपराध, मादक पदार्थ दुव्र्यसनी, धुमपान जस्ता कुलतमा लाग्ने बालबालिकाहरुकोे संख्यामा व्यापक बृद्घि भईरहेको तथ्याङ्घ छ । समाजमा लोभ, लालच, भ्रष्ट आचरण, चोरी डकैति, सम्बन्ध विच्छेद एवं प्राण त्यागका घटनाहरु बढ्दैछन् । हिंसा, बलात्कार, निषेध, अपराधीकरण, साँस्कृतिक विचलन लगायतका समस्याहरु व्याप्त छन् । समाजमा यी र यस्ता समस्याहरु नैतिक शिक्षा दीक्षा नहुँदा उत्पन्न हुन्छन् ।
अन्त्यमा,
समाजमा नैतिकता, ईमानदारीता, लोककल्याणकारी चिन्तन, सकारात्मक साेंच, परोपकार, सामाजिक समभाव जस्ता मानवीय गुणहरु गौण हुँदै जानुले जातीय द्वन्द र विभेदहरु व्याप्त छन् । यसको पछिल्लो दृष्टान्त पश्चिम रुकुमको अन्तरजातीय प्रेमले निम्त्याएको प्रकरण पनि हो । यस सन्दर्भमा समाजलाई नैतिकवान, सहिष्णु, क्षमाशील एवं कल्याणकारी बनाउन जरुरी छ । यसो गर्दा हरेक उमेर समूहका मानिसहरुलाई शिक्षाका अनौपचारिक एवं औपचारिक प्रणाली र पद्धति मार्फत नैतिक शिक्षा दीक्षाको विषयबस्तुको प्रशिक्षण आवश्यक ठानिन्छ ।
प्रतिक्रिया