Edukhabar
विहीबार, २७ मंसिर २०८१
विचार / विमर्श

वैकल्पिक दृष्टिकोणले समेट्न नसक्ने शिक्षाका पक्ष र ध्यान दिनु पर्ने कुरा

शनिबार, २४ जेठ २०७७

विश्वव्यापी महामारी कोरोना भाईरस कोभिड १९ ले संसारको अवधिलाई नै पुर्नपरिभाषित गरिदिने भएको छ । ढिलो चाँडो होला तर एक न एक दिन यसको पराजय सुनिश्चित छ, कोरोना महामारीको समाप्ती पछि संसारलाई दुई भागमा बाँडेर ब्याख्या गरिनेछ – कोरोना पूर्वको संसार र कोरोना पश्चातको संसार !

त्यस पछि हरेक क्षेत्रको अध्ययन यही आधारमा तय हुने छ । जस्तैः कोरोना काल भन्दा पूर्व र पश्चातको शैक्षिक अवस्था, आर्थिक अवस्था, स्वास्थ्य अवस्था, समाजिक मूल्य मान्यता, राजनीतिक अवस्था, देशको कुल ग्राहस्थ उत्पादनको मूल्याङ्कन, मानव विकास सूचकाँक आदि ।

कोरोनाले समग्र समाजमा पारेको प्रभावको दुरगामी असर निकै पछि सम्म भोग्नु पर्ने पक्का भएको छ । तसर्थ यसले शिक्षामा पारेको प्रभावको सहि मूल्याँकन र तदनुरुप व्यवस्थापनका बारेमा समयमै चर्चा र आवश्यक कार्य गर्नु जरुरी छ । चालु शैक्षिक बर्ष हाम्रा लागि कठोर तथा दुःखदायी शैक्षिक बर्षका रुपमा ईतिहासमा दर्ता हुने छ । खास गरी अहिले विद्यालय उमेरका बालबालिकाको सिकाइमा आएको अड्चनले पुस्तौं पुस्ता पछि सम्म पनि प्रभाव देखाईरहेने छ ।

बालबालिका र उनीहरुको सिकाइ भन्ने वित्तिकै स्वभाविक हो विद्यालय जोडिन्छ । प्रभावकारी विद्यालय भन्नाले शिक्षकको पेशागत आत्मसन्तुष्टि, सम्पन्न भौतिक पूर्वाधार सहितको वातावरण, विद्यालयमा अत्तिरिक क्रियाकलाप, शिक्षक  विद्यार्थी र पाठ्यक्रम बीच हुनु पर्ने आवश्यक सम्बन्ध, प्रकृया र कार्य जस्ता विषय जोडिन्छन् । अभिभावक शिक्षक अनतरक्रिया तथा समुदायको विद्यालयमा उपस्थिति लगायतको सूचकहरूका आधारमा विद्यालयको प्रभावकारीलाई मापन गर्ने हामीले अपनाएको शैली हो । कोरोना पश्चातको परिवेशमा प्रभावकारी विद्यालय हुनको लागी उपरोक्त सूचकहरूमा पक्कै पनि फरकपना आउने छ । त्यस्ता उपयुक्त सूचकहरूको समयमै पहिचानका लागि आवश्यक अध्ययन तथा अनुसन्धान गरी प्रभावकारी विद्यालय हुनको लागी आवश्यक उपायहरू पहिल्याउने तर्फ  तीन तहकै सरकारले समयमै ध्यान दिनु जरुरी छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको आवस्थामा त्यसबाट बच्न अपनाईएको लकडाउनको अवधि लम्बिदै गएको हुनाले शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्न कठिनाई उत्पन्न भएको छ । विद्यालयमा नियमित पठनपाठ्न नभए सम्मको लागि प्ररिबेश अनुकुल वैकल्पिक प्रणालीको माध्यमबाट बालबालिकाहरुको सिकाइमा सहजिकरण गर्न शिक्षा मान्त्रालयले हालै  वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजिकरण निर्देशिका २०७७ जारी गरेको छ । तसर्थ शैक्षिक निकाय तथा सरोकारबालाहरुले उक्त निर्देशिका बमोजिम निर्धारित साधन, विधि र प्रक्रिया अपनाइ सिकाइलाई सहजिकरण गर्नु पर्ने छ ।

तत्काल आईपरेको संकटमा बालबालिकालाई सिकाइबाट नटुटाउन अपनाईने यो विधि कोरोना जोखिम कम भएसँगै हट्ने छ । किन भने औपचारिक शिक्षाको बहु अयामिक पक्षहरुलाई वैकल्पिक दृष्टिकोणले समेट्न नसक्ने यथार्थतालाई हामीले कहिल्यै बिर्सनु हँुदैन । तसर्थ लकडाउन समाप्त भए पछि विद्यालय निश्चय नै निरन्तर खुला हुन्छ, यस कारण विद्यालयलाई प्रभावकारी बनाउनको लागि उपयुक्त तथा सान्दर्भिक उपायहरुको खोजि कार्यको थालनी वर्तमान मै गर्नु नितान्त आवश्यक देखिन्छ ।

कानुनतः विद्यालयहरू राष्ट्रको लागि तय गरिएको निश्यित लक्ष्य उद्धेश्य र अपलब्धि परिपूर्तीको लागि स्थापना एवं संचालन गरिन्छ र विद्यालयको अन्तिम दायित्व भनेको प्रभावकारी शिक्षा प्रवाह गर्नु हो, यसको प्रभावकारिता विद्यालयबाट प्रवाह हुने गुणस्तरीय शिक्षामा निर्भर रहन्छ । अहिलेको कोरोना कालमा विगतको प्रभावकारी विद्यालयको परिभाषा तथा सूचकहरुलाई चुनौती दिइरहको सन्दर्भ छ । यही बेला विद्यालयलाई प्रभावकारी बनाउने उपायहरूको खोजी गर्नुपर्ने बेला भएको होइन र ? पक्कै पनि हो किनकी विद्यालय भनेको समाजकै एउटा प्रणाली हो, समाजको लागि विद्यालय प्राण वायू सरह नै रहेको छ । यस सन्दर्भमा लकडाउन पश्चात कोरोना पूर्व भन्दा पृथक तथा प्रभावकारी विद्यालय हुनेको लागि देहायमा उल्लेखित उपायहरू उपयुक्त हुनेछन् ।

१. विद्यालयको संस्कृतिमा सुधार गर्ने

कोरोना महामारीको वैश्विक प्रभावले शैक्षिक  आवश्यकता र मागहरु बदलिने निश्चित छ । तसर्थ विद्यालय संस्कृति     अन्तरगतको यी क्षेत्रहरूलाई नीतिगत तहवाट नै रूपान्तरण गर्नु पर्ने आवश्यकता देखिन्छ । यसका लागि सामुहिकता विद्यालय र समुदाय बीचको सु समबन्ध कायम गर्ने रूपान्तरीत परिभाषाको खोजी गर्नुपर्दछ । विद्यालयमा हुने समुदायको उपस्थतिलाई केहि दिन भौतिक दुरीको बन्धनमा वाँधिन पर्दछ । यद्यपि विकसित प्रविधि र नयाँ आवश्यकता बीच समुदाय तथा विद्यालय बीच भावनात्मक सहकार्य मूखी विचार तथा दृष्टिकोणमा कमी नहुने गरी रूपान्तरीत गरिनुपर्दछ । 

- स्वास्थ्य सेवा

कोरोना कहरले स्वास्थ्यलाई चुनौती दिइरहेको सन्दर्भमा स्वास्थ्य सुरक्षामा प्राथमिकताको अवधारणा विद्यालय परिसरमा अवलम्वन गरिनु पर्दछ । यस सन्दर्भमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायत अन्य मानवीय पक्षहरुको स्वास्थ्य हेरचाह शिक्षण सिकाइ क्रियाकलाप सँग सँगै अपरिहार्य जस्तै भएको हो । यसका लागि हरेक विद्यालयमा एउटा स्वास्थ्य इकाइको स्थापना गरिनु पर्दछ, यसका लागि आवश्यक पर्ने भौतिक, मानवीय तथा आर्थिक व्यवस्थापनका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिनु पर्दछ । कोरोनाकाल सुरु हुनु भन्दा अगाडी प्रदेश २ को सरकारले ’एक विद्यालय एक नर्स’ कार्यक्रम संचालन गर्ने आफ्नो वार्षिक नीति तथा कार्यक्रममा ल्याइए पनि सुरु नभइसकेको अवस्था छ । तसर्थ त्यस्ता कार्यक्रमहरु अहिलेको सन्दर्भमा सान्दर्भीक भएको हुनाले विद्यालयको महत्वपूर्ण पक्षमा स्वास्थ्यलाई समेत जोडेर शिक्षा र स्वास्थ्यलाई एक अर्काको परिपुरक बनाई अगाडी बढ्नु पर्ने शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ ।

- अनुसन्धान

पाठ्यक्रम, शिक्षण विधी, पाठ्यपुस्तक, परीक्षा प्रणाली तथा समग्र मूल्याङ्कन पद्धत्तीको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरी नयाँ दृष्टिकोण स्थापित हुनु अतिनै आवश्यक छ, किनकि कोरोनाले उत्पन्न गरेको परिस्थतिलाई शिक्षाको सरोकारवालाहरुले आत्मसात गरेर बालबालिकाको क्षमताको उजागर गर्ने र अहिलेको चुनौतीपूर्ण समयमा शिक्षण सिकाइ क्रियाकलापको लागि पाठ्क्रम विकास केन्द्र अग्रसर भई नयाँ गोरेटो पहिचान गर्न केन्द्रित हुनुपर्ने वर्तमान समयको  आवश्यकता छ ।

यसका अलावा शिक्षकको पेशागत विकासको लागि समय सान्दर्भिक हुने खालको सक्षमता, सीप, कौशल अभिवृद्धि गर्न शिक्षा क्षेत्रमा सक्रिय विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था तथा तीनवटै तहको सरकारको समन्वय तथा सहकार्यमा पेशागत व्यवसायिक विकासको लागि अनलाईन प्याकेज निर्माण गरी कार्यान्वयन गरिनु पर्दछ ।

२. सुचना तथा प्रविधिमा जोड

देशभरका शैक्षिक निकायहरु, शिक्षासँग समबन्धित कार्यालयहरु र सम्पूर्ण विद्यालयहरुमा सूचना तथा सञ्चार प्रविधिको आधारभूत भौतिक तथा मानवीय स्रोत व्यवस्थापनको एउटा निश्चित मापदण्ड बनाई अगाडी बढ्नुपर्ने छ । तसर्थ विद्यालयहरुले पनि सरकारको     स्रोतमा मात्र भर नपरी स्थानीय स्रोत साधनहरुको पहिचान र परिचालन गरी कक्षा कोठा भित्र तथा बाहिर सूचना तथा सञ्चार प्रविधिको प्रयोग सुनिश्चित गरेर अगाडी बढेमा मात्र विद्यालयहरु प्रभावकारी रुपमा स्थापित हुनेछन् ।

३. प्राविधिक पक्ष रुपान्तरणको खाँचो

संघीय शिक्षा ऐन निर्माणधिन प्रक्रियामा रहेकोले अहिलेको माहामारीको असरको विश्लेषण र भविष्य परक दृष्टिकोण बनाई अगामी दिनहरूमा आउने यस्ता प्राकृतिक तथा मानवीय संकटलाई जुध्ने खालको शिक्षा ऐन निर्माण जरुरी छ । साथै शिक्षाको मौजुदा प्राविधिक     पक्षहरुमा रुपान्तरणको खाँचो छ ।

- नीति नियम परिवर्तन

- शिक्षकको भूमिका परिवर्तन

- शिक्षकको क्षमता दक्षतामा सुधारको खाँचो

- हाम्रै जस्तो वातावरण र मिल्दो जूल्दो अवस्था भएकाले कम्तिमा दक्षिण एशियाली सहित संसारका अन्य मुलुकले शिक्षाको लागि गरेका राम्रा अभ्यासहरुको खोजी र प्रयोग

- विद्यालयहरुलाई सिकाइ केन्द्रका रुपमा स्थापित गर्ने

४. योजना निर्माणमा ध्यान

ढिलो चाँडो होला तर, कोरोनाको जोखम अवश्य हट्ने छ । त्यस पछि विद्यालय पूर्ववत रुपमा सञ्चालन हुने नै छन् । तसर्थ विद्यार्थी, अभिभावक र शिक्षक समेतले राम्रो शुरुवातका लागि हामी आफैं अघि बढ्छौं भन्ने अवधारणा विकास गरेर कार्य गर्नु जरुरी छ । यसका लागि  स्थानीय सरकारको शिक्षा शाखाको नेतृत्व र शिक्षा विकास सम्न्वय इकाइको सम्न्वय तथा शिक्षा क्षेत्रमा सक्रीय राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुको सहयोगमा पालिका स्तरमा विद्यालयहरुको अवस्था विश्लेषण गर्नु जरुरी हुन्छ । किनकी धेरैजसो विद्यालयहरू     क्वारेनटाइन र आइसोलेसन वार्डमा रुपान्तरित भएका छन् । तसर्थ तत्काल प्रतिकारात्मक योजना बनाई तदारुकताको     साथ कार्यान्वयनको अवस्थामा रहन आवश्यक छ ।

५. विद्यालय समायोजन एवमं एकीकरण

विद्यालयमा     आवत जावत गर्दा लाग्ने समय, जनसंख्या, विद्यालयको स्तरीकरण, विद्यार्थी संख्या न्यून भएका, कक्षा ५ भन्दा पनि कम कक्षाहरु     सञ्चालनमा रहेका थुर्पै विद्यालयहरुलाई पहिचान गरी नजिकको विद्यालयमा समायोजन गर्नु आवश्यक छ । हालै जारी भएको सर्वजानिक विद्यालय समायोजन एवमं एकीकरण कार्यक्रम कार्यन्वयन कार्य विधि, २०७७ ले पनि यसका आधार निर्धारण गरेको छ । स्थानीय तहमा एउटा नमूना विद्यालय     सञ्चालन गर्ने सरकारको नीति कार्यान्वयनको लागि पनि यो एउटा मौका हुन सक्छ ।

अन्त्यमा,

School Effectiveness is a difficult concept to define, and once defined is of a nature that is difficult to measure - Gudmund Hernes

कोरोनाले ठूलो संकट ल्याएको पक्का हो, तर यही संकटलाई अवसरका रुपमा रुपान्तरण गर्ने मौका पनि हाम्रा अघिल्तिर सँगसँगै आएको छ । प्रभावकारी विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, पाठ्यक्रम र मूल्यांकन, प्रभावकारी शिक्षक तालिम, पेशागत सक्षमता अभिवृद्धि, पेशा प्रति निष्ठावान शिक्षक छनौट जस्ता कुरामा ध्यान दिने विधि र मानक निर्माण गर्न सकिएको खण्डमा राष्ट्रिय उद्धेश्य पुरा गर्नको लागि खोलिएको विद्यालयहरुलाई समसमायिक र आधुनिकीकरण गर्दै सिकाइ उपलब्धी केन्द्रित गर्न सकिन्छ ।

बदलिदों समय अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि शिक्षक आफूँ पनि समय सुहाउँदो शैलीमा अद्यावधिक हुन जरुरी छ । शिक्षकलाई पूर्णरुपमा कक्षा कोठामा केन्द्रित बनाउने वातावरण निर्माणमा  संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक ध्यान दिनु जरुरी छ । शिक्षाको मौजुदा नीति तथा कानुनको विश्लेषण गरेर विभिन्न सम्भावित जोखिमको आँकलन गरी समयमै आवश्यक ऐन कानूनको तर्जुमा गरी कार्यान्वयामा ल्याउनु अहिलेको खाँचो हो ।

यादव शिक्षा विकास तथा समन्वय इकाइ, बाराका प्रमुख हुन् ।

प्रतिक्रिया