Edukhabar
बुधबार, १९ मंसिर २०८१
विचार / विमर्श

शिक्षक, विद्यार्थीलाई सिकाइसँग जोड्दै व्यस्त बनाउन जरुरी

मंगलबार, १३ जेठ २०७७

यतिखेर विश्व कोरोना महामारीबाट आतंकित छ । नेपाल पनि यसबाट अछुतो छैन । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या अझै बढ्ने देखिएको छ । प्रयत्न धेरै भईरहेका समाचार सार्वजनिक भईरहे पनि यस विरुद्ध हाल सम्म कुनै निश्चित औषधि वा खोप तयार हुन सकिरहेको छैन । कोरोनाको जोखिमबाट बच्ने उपाय स्वरुप अपनाईएको लकडाउनले संसार नै  एक प्रकारले ठप्प भएको छ । कतिपय देशले जोखिमको अवस्था विश्लेषण गरी लकडाउनका मोडेलमा क्रमशः परिवर्तन गर्दै गईरहेको पनि देखिन्छ ।  

लकडाउनले मानिसहरुको दिन चर्या अस्तव्यस्त भएको छ । सबै क्षेत्र तहसनहस र ठप्प बनेका छन् । तमाम शिक्षण संस्थाहरु बन्द छन् । कूल जनसंख्याको एक तिहाई मानिसहरु विद्यार्थी र शिक्षक छन् भनिएको अवस्थामा उनीहरुको स्थितिको सम्बोधन व्यापक खट्केको विषय हो । बिजिनेस बिहिन शिक्षकहरु छटपटीमा दिन काटीरहेका छन् भने विद्यार्थीको पढाई र सिकाइ तथा परीक्षा अन्योलको पिडा कहालि लाग्दो बनेको छ । यो असामान्य स्थितिमा शिक्षक तथा विद्यार्थीलाई सिकाइसंग जोड्दै व्यस्त बनाउन जरुरी छ । यस आलेखमा तिनै धारणाहरु उजागर गर्ने प्रयत्न गरिएको छ ।

१. प्रविधिको उपयोगबाट शिक्षण सिकाइको निरन्तरता

शिक्षण सिकाइमा प्रविधि प्रयोगको चर्चा सर्वाधिक छ । यद्यपि हाम्रो विद्युत सेवा र ईण्टरनेटको पहुँच अत्यन्त सिमित र कमजोर रहेको यथार्थ हो  । प्राकृतिक विपत्ति तथा शिक्षण संस्थाहरु बन्द रहेको हालको अवस्थामा प्रविधिको माध्यमबाट मात्र शिक्षण सिकाइ क्रियाकलापको निरन्तरता हुनसक्नेमा द्धिविधा छैन । यस अन्तर्गत निम्न कुराहरु पर्दछन् ः

क. मोवाईल फोन र कम्प्युटर तथा ल्यापटपबाट ईण्टरनेटको उपयोग गरी एसएमएस, मेसेञ्जर, स्काईप, जुम मिट, गुगल मिट, आदि अत्याधुनिक एपहरुको माध्यमबाट शिक्षक तथा विद्यार्थी बीच सम्पर्क जोडि शिक्षण सिकाइलाई निरन्तरता दिन सकिन्छ ।

ख. रेडियो तथा टिभिबाट अडियो एवम् भिजुअल कक्षाहरु प्रशारण गर्न सकिन्छ । रेडियो शिक्षाको लामो अनुभव भएको हाम्रो सन्दर्भमा पछिल्ला वर्षहरुमा टेलिभिजनबाट प्रसारित शैक्षिक सामग्रीको लोकप्रियता बृद्धि भएको तथ्य स्विकार्नु पर्दछ । स्थानीय रेडियो तथा टिभिको तुलनामा केन्द्रिय प्रसारणका सामग्रीहरुमा स्वभाविक स्तरीयता पाईन्छ नै । यसले शिक्षामा प्रविधिको पहुँच विस्तारमा प्राथमिकता दिनुपर्ने सावित भएको छ ।

२. सीप सिकाइ अभिवृद्धिमा प्राथमिकता

हाम्रो आज सम्मको जोड सैद्धान्तिक शिक्षामा रहँदै आएको छ । शिक्षाको अर्थ ज्ञान मात्र नभई सीपको सिकाइ सँग पनि जोडिएको हुन्छ । सीप बिनाको शिक्षा अधुरो रहने तथ्यमा विज्ञहरु एक मत पाईन्छन् । व्यवहारिक, व्यवसायिक, प्रयोगात्मक र प्राविधिक शिक्षाको वकालत अधिक भैरहेको वर्तमानमा कार्यान्वयन प्रमुख सवाल हो । शिक्षालाई सीपसंग, सीपलाई श्रमसंग र श्रमलाई उत्पादनसंग जोडेर मात्र हामी समृद्ध बन्ने रोडम्याप स्पष्ट छ । हालको लकडाउनको विषम परिस्थितिमा निम्न सिपहरुमा सरोकारवर्गलाई आकर्षित गर्नु राम्रो हुन्छ ।

क. कृषि हाम्रो प्रमुख पेशा हो । विभिन्न जातका तरकारी सागपातहरु, मौसमी फलफूलहरु, नगदे बाली र अन्य अन्न बालीको उत्पादनमा हाम्रा शिक्षक र विद्यार्थीलाई सहभागी हुने वातावरण बनाउनै पर्छ । जमिन र हावापानीको उपयुक्तता सहित सम्बन्धित विद्यार्थीको रुचीको कामलाई उत्पादनसंग जोड्नै पर्छ ।

ख. कृषिसंग पशुपालन त आईहाल्छ । स्थान, साधन र अन्य उपयुक्त अवस्थाको आधारमा माछा पालन, कुखुरा हाँस पालन, बाख्रा पालन, गाईभैंसी पालन जस्ता पशुपंक्षी पालन तर्फ विद्यार्थी शिक्षकलाई समावेश र सहभागि गराउने हो भने दूध मात्र नभै दुग्ध जन्य पदार्थ, अण्डा, माछामासु, आदिमा आत्मनिर्भर मात्र नभई आय आर्जनमा समेत राम्रो योगदान हुनेछ ।

ग. काठ, बाँस, फलामको उपयोगबाट निर्मित परम्परागत घरेलु सामग्रीहरुकोे अतिरिक्त आधुनिक फर्निचरहरु निर्माण गर्ने सीपसंग साना तथा मझौला उद्योगहरुमा विद्यार्थीलाई व्यक्तिगत र सामुहिक रुपमा रुची एवम् क्षमताको आधारमा सम्मिलित गराउँदा प्रभावकारी बन्न सक्छ ।

घ. माटो, ढङ्गा, बालुवा, ईट्टा, सिमेण्ट, आदिको प्रयोगसँग जोडिएका परम्परागत एवम् आधुनिक सीपहरुका माध्यम बाट उत्पादन र निर्माणका कामहरुमा विद्यार्थीहरुको रुची तथा क्षमताका आधारमा सहभागी गराउन सकिन्छ ।

ङ. विद्युत वायरिङ्, प्लम्विङ्, तथा साईकल, मोटरसाईकल, गाडीका वर्कसपहरु संगसंगै रेडियो, टिभि, कम्प्युटर मर्मतका सम्बन्धित सीप र कामहरुमा विद्यार्थीलाई जोड्दा सीप, उत्पादनसंगै आय आर्जनमा समेत सहयोग पुग्दछ ।

च. विद्यार्थीका रुची तथा क्षमताका आधारमा सिलाई बुनाई, कागजका कामहरु, रंगरोगनका कामहरु, बुट्टा बनाउने, चित्र बनाउने, सजावटका सामग्रीहरु निर्माण गर्ने, आदि सीपमा उनीहरुलाई जोड्नु राम्रो हुन्छ ।       

३.  चुनौतिहरु
   

क. विद्युत सेवाको सिमितता र अघोषित लोडसेडिङ् ।

ख. इण्टरनेट सेवाको झिनो पहुँच र दर्वलता ।

ग. प्राविधिक ज्ञान तथा सीपको समस्या ।

घ. विद्यार्थीको आर्थिक विपन्नता र आवश्यक सामग्रीहरुको अभाव ।

ङ.  सम्बन्धित विषय विज्ञ एवम् प्रशिक्षकहरुको उपलब्धतामा कठिनता ।

च . आवश्यक र उपयुक्त स्थान, कोठा, जमिन, औजारहरुको उपलब्धतामा जटिलता ।

छ . उत्पादित वस्तुहरु एवम् सामग्रीको बजार व्यवस्था कमजोर र न्यूनता । 

४. निष्कर्ष

शिक्षामा प्रविधिको अधिकतम प्रयोग गर्नै पर्छ । विद्यूत सेवाको विस्तार र निरन्तरतामा कुनै पनि सम्झौता गरिनु हुन्न । सरकारले ईण्टरनेट सेवाको पहुँच विस्तारमा व्यापक हस्तक्षेप गर्नु जरुरी छ । विद्यार्थी तथा शिक्षकहरुका लागि यो निःशुल्क हुनु पर्छ । आवश्यक प्राविधिक तथा प्रशिक्षकहरुको व्यवस्थापनमा सरकारी संयन्त्रले जाँगर देखाउनु पर्छ । त्यस्तै सामग्रीहरुको उपलब्धता, स्थान, जमिन, वर्कसप, आदिको पर्याप्ततामा विशेष ध्यान दिनै पर्छ ।

निःशुल्क पाठ्यपुस्तकको रकम, छात्रवृत्तिको रकम लगायतका बजेट खर्च उल्लेखित शिर्षकमा लगानी गर्दा प्रभावकारी बन्न सक्छ । हालजस्तो असामान्य अवस्थाको लागि मात्र नभै भोलि पर्न सक्ने सम्भाव्य कहालि लाग्दा र भयानक विपत्तिका समय समेतको स्थितिलाई आँकलन गरी हाम्रो शिक्षा प्रणालीलाई डिजिटल शिक्षा व्यवस्थामा प्रवेश गर्नुको विकल्प छैन । 

साथै सीपमूलक एवम् व्यवसायिक तथा प्राविधिक शिक्षा हाम्रो शिक्षाको मूलधार बनाउन बिलम्व भैसकेको छ । व्यवसाय तथा सीपको प्रयोगबाट उत्पादित वस्तु तथा सामग्रीहरुको बजार व्यवस्थापनमा जिम्मेवार अंगको ध्यान जानै पर्छ । अलि आर्थिक भार पर्ने सीप तथा व्यवसायका लागि सरकारी लगानी नै जरुरी हुन्छ । 

तिनवटै सरकारका शैक्षिक संयन्त्रहरुको क्रियाशिलतामा मात्र शिक्षाको वास्तविक रुपान्तरण सम्भव हुने हो । उल्लेखित कामका लागि सरकारले कुल बजेटको कम्तिमा पनि बीस प्रतिशत बजेट विनियोजन मार्फत प्रोत्साहन र उत्साह श्रृजना गरेर शिक्षामा नयाँ युगको प्रारम्भ हुने अपेक्षा गर्न सकिन्छ ।  

लामिछाने मकवानपुर हेटौंडा स्थित वंश गोपाल माविका प्रधानाध्यापक हुन् ।

प्रतिक्रिया