Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

भूकम्पले कति विद्यालयमा क्षति ? (विवरण सहित)

विहीबार, २८ जेठ २०७२

काठमाडौं २८ जेठ/भूकम्पको त्रासपछि जेठ दोस्रो सातादेखि शैक्षिक संस्थामा पठन पाठन सुरु भइसकेको छ । भूकम्पको धक्काले भवन क्षति पुगेको सामुदायिक विद्यालयले अस्थायी सिकाई केन्द्र बनाएर पढाई सुरु गरेका छन् । कतिपयले खुला चउरमा राखेर पढाइरहेका छन् । शिक्षा मन्त्रालयका अनुसार ३० अर्ब भन्दा बढी क्षति भएको छ । यसमा ९० प्रतिशत विद्यालय क्षेत्रमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । १४ जिल्लामा सबैभन्दा बढी क्षति पुगेको छ । 

शिक्षा विभागका अनुसार १४ जिल्लामा चार हजार नौ सय ६२ विद्यालय पूर्ण रुपमा क्षति भएको छ । विभागको प्रारम्भिक तथ्याङक अनुसार यि विद्यालयहरुको  १६ हजार ३ सय ७० कक्षाकोठा पूर्ण रुपमा क्षति पुगेको छ ।  

त्यसमा प्राथमिक तहको २ हजार ८ सय ६२, निम्न माध्यमिक तहको ७ सय ७५, माध्यमिक ६ सय २० र उच्च माध्यमिक तहको ५ सय ७१ विद्यालयमा क्षति पुगेको छ ।

विभागले विद्यालय भवनहरु, स्रोत केन्द्र भवनहरु, विशेष कक्षा , विशेष कक्षाका छात्रावासहरु, फिडर छात्रावास, अन्य छात्रावास, सामुदायिक अध्ययन केन्द्र, बालविकास केन्द्र  र  परम्परागत विद्यालयहरुमा भएको क्षतिको विवरण पठाउन पत्रिपत्र समेत गरिसकेको छ । क्षतिको बिवरण एकिन गर्न जिल्ला दैवी प्रकोप उद्धार  समितिको सिफारिस अनिवार्य गरेको छ । 

 

त्यस्तै अस्थायी केन्द्र पनि कति चाहिने हो ? एकिन विवरण पठाउन भनिएको छ । निर्देशनमा भनिएको छ, के कति अस्थायी सिकाइ केन्द्र आवश्यक पर्ने हो, कुन कुन निकायवाट कति सिकाइ केन्द्र निर्माण भए, नपुग कति हो सोको यकिन विवरण तयार गरी जिल्ला दैवी प्रकोप उद्धार समितिबाट सिफारिश गराई शिक्षा  विभागको सम्बन्धित शाखामा पठाउने ।’ 

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका कक्षा १० सम्मका बालबिालकालाई झोला र पोशाक दिने तयारी गरेको छ । भूकम्पले घर भत्किएका विद्यार्थीले यो सुविधा पाउनेछन् । 

बाबु वा आमा र दुबै गुमाएका बालबालिको तथ्याङ्कलाई पनि प्राथमिकता दिएको छ । बाबु आमा दुबै गुमाएका दुई सय बालबालिकालाई एसओएसमा पढाउने व्यवस्था मिलाईसकिएको छ । कुन जिल्लामा कति विद्यार्थी अभिभावक बिहिन छन् ? भन्ने एकिन नभएपछि विभागले जिल्ला शिक्षा कार्यालयसंग तथ्याङक माग गरेको हो । एसओएसमा आमा र बुबा दुबै गुमेको हुनु पर्ने प्रावधान भएपछि एक जना मात्रै गुमेका बालबालिकालाई पढाउन मन्त्रालयले पतञ्जली योग पिठसंग छलफल अघि बढाएको जनाएको छ ।

 

भूकम्पमा परेर १४ जिल्ला ४५ जना शिक्षकको मृत्यु भएको छ । त्यस्तै ४ सय ७९ जना विद्यार्थीले पनि ज्यान गुमाएका छन् । 

विभागका अनुसार सिन्धुपाल्चोकमा २६ जना, नुवाकोटमा ८, रसुवामा १, धादिङमा ५, गोरखामा ५ जना शिक्षकको मृत्यु भएको हो । त्यस्तै विद्यार्थी तर्फ काभ्रेमा २५, सिन्धुपाल्चोकमा एक सय एक, दोलखामा ५, रामेछापमा ४, नुवाकोटमा २ सय ८६, रसुवामा ४४, धादिङ्मा ९, मकवानपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया