Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

के हुँदै छ, निमावि नतिजा प्रकाशन प्रकृया ?

आइतबार, ०६ मंसिर २०७२

भक्तपुर - निम्न माध्यामिक तहका शिक्षकहरुको अन्तर्वार्ताका क्रममा छुटेकाहरुलाई निवेदन दिन छुट्याईएको १० दिन सम्म एक जनाको पनि निवेदन परेको छैन । आईतबार विहान सम्म प्राप्त पूर्वाञ्चल बाहेकका ४ वटै विकास क्षेत्रको अन्तिम विवरणमा अन्तर्वार्ता छुट भएकाहरुको निवेदन नपरेको शिक्षक सेवा आयोगले जनाएको छ ।

प्राप्त विवरणमा अन्र्तवार्तामा छुटेकाहरुको निवेदन परेको छैन, आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने, बाँकी रहेको पूर्वाञ्चलको विवरण आईतबार साँझ सम्म प्राप्त हुने अपेक्षा छ, त्यो आएपछि बल्ल अन्तर्वार्ता छुट भएकाहरु भए नभएको यकिन हुने र पुनः अन्तर्वार्ता गर्नु पर्ने नपर्ने टुङ्गो हुन्छ । यो विषय टुङ्गिएपछि मात्रै नतिजा प्रकाशनको प्रकृया शुरु हुने उनले बताए ।

२० गतेबाट शुरु भएको निम्न माध्यामिक विद्यालय तहका शिक्षक छनौटको अन्तर्वार्ता २३ गते सकिएको थियो । अन्तर्वार्तामा छुटेका उम्मेद्वारहरुले अन्तर्वार्ता सकिएको मितिबाट १० दिन सम्म निवेदन दिएमा मौका पाउने प्रावधान छ ।

सोही प्रावधान अनुसार आयोगले मंसिर २ गते सम्म कुरेको थियो । मंसिर २ गते देखि अहिले सम्म विवरण संकलनको प्रतिक्षामा बस्नु परेको मरहठ्ठाले बताए ।

निमाविको अन्तर्वार्तामा एउटै क्षेत्रमा सय जनाको हाराहारीमा अनुपस्थित भएको फेला परेको थियो । सबै भन्दा धेरै पूर्वाञ्चलमा ९४ जना अनुपस्थित भएका थिए ।

माध्यामिक तर्फ पूर्वाञ्चल र मध्यमाञ्चलमा धेरै अनुपस्थित भएका थिए । निमाविमा भने कतिपय उम्मेद्वार माविमा नाम निकालेका कारण र कतिपय निजामती सेवामा नाम निकालेका कारण अनुपस्थित भएको हुन सक्ने आयोगको अड्कल छ ।

काबु बाहिरको परिस्थिती उल्लेख गरेर १० दिन भित्र निवेदन दिएको खण्डमा यस अघि छुटेका उम्मेद्वारले फेरी अन्तर्वार्तामा उपस्थित हुन पाउने प्रावधान छ । निमाविका ८ विषयको लागि लिखितमा उत्तीर्ण पाँचै विकास क्षेत्रका २ हजार ६ सय ५७ जना अन्तर्वार्तामा सहभागि हुन योग्य भएका थिए ।

प्रकाशित मिति २०७२ मंसिर ६ गते

प्रतिक्रिया