कोरोना भाइरस (कोभिड–१९) को महामारीले यतिबेला संसार आक्रन्त छ । यो रोगको उपचारको लागि विश्वसनीय औषधी पत्ता लगाउने प्रयत्न जारी भएता पनि अहिले सम्म सफलता भने हासिल भएको छैन । रोग लागिसके पछि यसको उपचार कठीन भएकोले यसबाट बच्नु नै उत्तम उपाय रहेको कुरा चिकित्सकहरु बताउँछन् । गत नोभेम्बरको अन्त तिर चिनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमण अहिले विश्वको सवै जसो मुलुकमा पुगिसकेको छ । जुन गतिमा यसको संक्रमणको रफ्तार तथा मृत्युदर बढीरहेको छ यसबाट कति मानवीय क्षति हुने हो भन्ने आँकलन गर्न सकिने अवस्था त छैन तथापी यो मानव इतिहास कै एक जटिल महामारी हुने कुरा भने घट्नाक्रमले पुष्टि गर्दै छ ।
संक्रमणको जोखिम न्यूनिकरण गर्ने मुख्य विधिका रुपमा संसारका अधिकाँश देशले लकडाउन अपनाएका छन् । नेपाल पनि गत चैत ११ गते देखी लकडाउनमा छ । यस संक्रमणबाट मानवीय क्षति मात्र होइन विश्वको आर्थिक अवस्था र समग्र शैक्षिक, राजनीतिक, सांस्कृतिक र पहिचानको मार्ग नै फेरिने संकेतहरु पनि देखिदै छ । हाम्रो जस्तो देश जहाँ कोरोना भाइरस जाँच गर्ने तथा यसको उपचार गर्ने पद्धतिसंग सम्बन्धित विज्ञ चिकित्सक र विश्वसनीय स्वास्थ्य सामग्रीहरुको पर्याप्तता छैन, यहाँ लकडाउनको सही सदुपयोग गर्दै सेल्फ क्वारेन्टाइनमा बस्नु नै सबभन्दा उत्तम विकल्प रहेका तथ्यहरुले पुष्टि गरिरहेका छन् । सरकारले दिएको निर्देशन र चिकित्सकहरुको सल्लाह एवम् सुझावलाई अनुशासित भई पालना गर्नु नै आम नेपालीको निर्विकल्प कर्तव्य बनेको छ यतिखेर । रोग प्रतिरोधात्मक क्षमता प्राप्त हुने भिटामिन सी युक्त फलफुलहरु खानाले पनि यसबाट सुरक्षित हुन सक्ने अध्ययन अनुसन्धानले देखाएको छ । तर, कोरोना लगायत सबैखालका रोगहरुबाट बच्ने उपाय भनेको स्वउपचार शिक्षा नै हो भन्ने बारेमा भने सार्थक बहस भएको पाइदैँन ।
नेपालमा आम नागरिक स्वास्थ्य सेवाको सहज पहुँचमा पुगिसकेको अवस्था छैन । स्वास्थ्य सम्बन्धी परम्परागत तथा रुढीग्रस्त विचार धाराले कुनै न कुनै रुपमा नेपाली समाजमा प्रभाव छोडीरहेको अवस्था छ । आफ्नो स्वास्थ्यमा ख्याल नगर्ने तर विरामी भइसके पछि छारफुक र धामी झाक्री लगाउने अनि विरामीको अवस्था नाजुक भइसके पछि मात्र अस्पताल पुर्याउने परम्परा पनि पूर्णरुपमा रोकिएको छैन । स्वास्थ्य सम्बन्धी गलत धारणा तथा स्वास्थ्यवर्धक खानाको सहि पहिचान गर्न नसक्दा पनि उपचार पछि रोगी निको हुने सम्भावनामा कमी आउने रहेको अवस्था विद्यमान छ । व्यक्तिलाई निरोगी बनाउने तथा प्रभावकारी उपचारको माध्यमले रोगलाई निको पार्ने प्रयोजनले विश्वमा विभिन्न उपचार पद्धतिहरुको विकास र प्रयोग भइरहेको छ । रोग लागि सके पछि उपचार गर्दा रोग विशेक भए पनि यसबाट हुने आर्थिक, शारीरिक र मानसिक हानी निको पार्न कठीन नै हुन जान्छ । यस पृष्ठभूमिमा खानपीन र स्वउपचार शिक्षा पद्धति स्वस्थ रहने एक भरपर्दाे विकल्प हुन सक्छ । खानपीन तथा स्वउपचार विधि अपनाउँदा रोगलाग्न नदिन र रोगलाई जरैदेखी निर्मुल पार्न सकिन्छ । भनाइको अर्थ हामीले हाम्रो उमेर, शरीरको बनोट एवम् संरचना र उपलब्ध खाद्यबस्तुलाई समय र सन्दर्भसंग मिलाएर उपयोग गर्न सक्ने र कस्तो खानाको प्रभाव हाम्रो शरीरमा कस्तो पर्छ भन्ने कुराको जानकारी लिएर सोही अनुसारको व्यवहार गर्न सक्ने हो भने पनि रोगलाग्ने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । स्वउपचार पद्धतिको नकारात्मक प्रभाव नहुने र खानपीन, योग तथा ब्यायमको सन्तुलनबाटै स्वस्थ बन्न सकिने भएकोले हिजोआज यसको प्रयोग बढीरहेको अवस्था पनि छ । त्यसो त स्वउपचार पद्धति आफैमा अनौपचाकि प्रकृतिको हुन्छ । यसको लागि औपचारिक रुपमा बजारमा पाइने विभिन्न प्रकारका औषधीहरुको सेवन गरीरहनु पर्दैन ।
धेरै जसो रोगहरु अप्राकृतिक र गुणस्तरहीन खानेकुराहरुको प्रयोगले गर्दा नै लाग्ने गर्छ । अध्ययन अनुसन्धानले के देखाएको छ भने हामीलाई जिउनको लागि चाहिने ३ प्रमुख तत्व हावा, पानी र खाना (खुराक) को अप्राकृतिक एवम् बेनियम प्रयोगले शरीरमा दुष्परिणाम निम्तिन्छ । यस्तो अवस्थालाई हामी रोग भन्छौं । बास्तबमा खानपीनको कारण शरीरमा हुने असहज परिस्थिति नै रोग हो । हामीले शरीरलाई चाहिने उपयुक्त खानेकुराको पहिचान गर्न नसक्दा र खानपीन सम्बन्धी हाम्रा पूर्वीय आचारसंहिता (ऋताहार, मिताहार र हिताहार) उलङ्घन गर्दाको परिणामले पनि हामी रोगी बनिरहेका छौं । मिठो र स्वादिष्ट खानाको नाममा शरीरलाई बेफाइदा पुग्ने खानेकुराहरुको निर्वाद प्रयोग पनि रोग लाग्नुको अर्काे महत्वपुर्ण कारण हो । शरीरलाई चाहिने माथि उल्लिखित ती ३ तत्वहरुको अविवेकी प्रयोगले हामीलाई रोगी बनाउने हुँदा ती तत्वहरुको विवेकशील र नियमसम्मत प्रयोग नै स्वउपचार विधि हो । यी तिन तत्वहरु मध्ये हावाको भूमिका ः मस्तिष्क क्रियाशील बनाउने, पानीको भूमिका ः आन्द्राको कार्यसञ्चालन बिना अवरोध गराउने र खुराकको भूमिका दैनिक कार्यको लागि शरीरलाई शक्ति उत्पन्न गराउने हो ।
व्यस्त जीवनशैली, कार्यव्यस्ता तथा प्रदुषित वातावरणको कारण हामीले स्वस्थ हावा पर्याप्तरुपमा प्राप्त गर्न सकिरहेका छैनौं । स्वभाविक रुपमा कामको धपेडीले हामी छिटो छिटो श्वास फेरीरहेका हुन्छौ । लामो श्वास प्रश्वास गर्दा मस्तिष्क सम्म अक्सिजनको मात्रा पुग्ने हुँदा हामीलाई मानसिक रुपमा पनि स्फुर्ति मिल्छ । पहिलो कुरा त हामीले बातावरणीय प्रदुषणलाई नियन्त्रण गरी आफ्नो घर–समाजलाई हरियाली, स्वच्छ तथा सफा बनाउनु पर्ने हुन्छ । कम्तिमा पनि हामीले लामो लामो श्वासप्रश्वास गर्ने कुरामा समुचित ध्यान दिन सक्नुपर्छ । यसो गर्दा पनि हामी स्वस्थ बन्न सक्छौ .। अर्काेतर्फ प्राकृतिक चिकित्सक तथा आधुनिक र आयुर्वेदिक चिकित्सकहरुको साझा धारणा के छ भने हामीले पानी पिउँदा एकैपटक धेरै पिउनु हुदैन । समय समयमा शरीरको आवश्यकताको पृष्ठभूमीमा पटक पटक पानी पिइरहने गर्नाले पनि हामीलाई फाइदा पुर्याउँछ । त्यसै गरी खाना खाँदा बढी चिल्लो, बोसो, तथा गरिष्ट खाना नखाइ सादा, सफा र पोषणयुक्त खाना खाने गर्नुपर्छ । खाना हतारमा छिटो छिटो नचपाइ खाँदा पनि हाम्रो पाचन प्रणालीमा नकारात्मक प्रभाव पर्छ । खाना शान्त भएर तनाव रहीत वातावरणमा धेरैपटक चपाएर खानेबानीले पनि हामीलाई विशेष फाइदा पुग्ने कुरा चिकित्सकहरु बताउँछन् । यी कुराहरुको अलावा ब्यायाम, आराम, मनोरञ्जनालाई पनि हामीले सहीरुपमा ब्यवस्थापन गर्नुपर्ने हुन्छ ।
तनावमुक्त हुनका लागि आवश्यकतानुसार ब्यायम, ध्याान, उपशना, योग तथा आराम गर्ने तथा ब्यस्त जीवनशैलीको विवेकशील उपयोग गर्ने आदत निर्माण गर्न सके शारीरिक र मानसिक सन्तुलन कायम राख्न सकिन्छ । यसो हुँदा स्वस्थता प्राप्त हुन्छ । बजारमा पाइने गुणस्तरहीन जंकुफुड (पत्रु खाना) तथा पेय पदार्थको अध्यधिक प्रयोग गर्नुको साटो घरमा निर्माण गरिएको पोषणयक्त खाना तथा दुध, मोही, दही लगायतका पेय पदार्थको प्रयोग गर्नसक्दा पनि स्वउपचार प्राप्त गर्न सकिन्छ । हाम्रा पूर्वीय मान्यताले स्थापित गरेका आवश्यकता अनुसार ब्रत बस्ने, मौसम अनुसार फलफुल, सागपात, टुसा आएका गेडागुडी तथा सात्विक भोजन गर्ने, साँझको खाना सुर्यास्त हुन अगावै गर्ने जस्ता कुराहरुले समेत स्वास्थ जीवनयापनमा सहयोग गर्दछ । विहान खालीपेटमा प्रशस्त पानी पिउने, विहान भोक अनुसार भोजन गरे पनि साँझको खाना हल्का रुपमा खाने गर्नाले पनि स्वस्थता हासिल गर्न सकिन्छ । मध्यपान तथा धुम्रपानबाट टाढा रहने, तारेको, भुटेको खानेकुरा नखाने, नियमित ब्यायम गर्ने जस्ता कार्यले पनि स्वउपचारमा सहयोग पुग्दछ । खाना खाँदा धेरै निहुरिएर तथा भुँडी खुम्च्याएर नखाने, खाना खानु भन्दा कम्तिमा पनि आधि घण्टा अघि वा आधि घण्टा पछि मात्र पानी पिउने, खाना खाँदै पटक पटक पानी पिउने बानी त्याग्ने र खाना राम्रोसंग चपाएर मात्र खाने जस्ता क्रियाकलापहरुबारे यथोचित जानकारी गराउने शिक्षा नै स्वउपचार शिक्षा हो जसबाट स्वस्थ जीवन प्राप्त गर्न सकिन्छ ।
अहिलेको सन्दर्भमा सरकारले गरेको निर्देशनको विवेकसम्मत ढंगले पालना गर्ने तथा कोरोना संक्रमणको जोखिमबाट बच्न चिकित्सहरुले दिएको सल्लाह र सुझावको अनुशरण गर्नु नै स्वउपचार शिक्षा हो । तर, समग्रमा स्वस्थ तथा उपयुक्त खानपीन र सहज जीवनशैलीको माध्यमले संभावित रोगहरुबाट बच्न र बचाउन दिइने अनौपचारिक तर उपचारात्मक शिक्षा नै स्वउपचार शिक्षा हो । स्वउपचार शिक्षाको यथोचित प्रचार, प्रसार र अनुशरणले कोरोना लगायत अन्य धेरै रोगहरुबाट बच्न सकिने भएकोले यस सम्बन्धमा सवैको ध्यान जान आवश्यक छ ।
प्रतिक्रिया