केही समय अघि ...
मोवाईल बोकेर विद्यालय आउँदा विद्यार्थीले भक्कुमार गाली खान्थे ! प्रविधिको प्रयोग गर्न खोज्ने शिक्षकहरूलाई उनकै केही सहकर्मी ’फूर्ति लगाको’ भन्थे । विद्यार्थीलाई मोवाइलमा अध्ययन गर्ने सामग्री उपलब्ध गराउँदा, शिक्षक स्पष्टिकरणको पात्र बन्थे । त्यति मात्रै हैन, विद्यालय प्रशासनले अभिभावकलाई फोन गरेरै, छोराछोरीलाई मोवाइल नदिन अनुरोध गर्थे । उल्लेखित विभिन्न चरण मध्ये केहीबाट म आफैं पनि गुज्रन वाध्य थिएँ, एकताका !
हिजो आज ...
‘विद्यार्थीको पढाइको लागि मोवाइल बाधक छ’ भन्नेहरु नै विद्यार्थीलाई मोवाइल चलाउन तथा अभिभावकलाई फोन गरेर मोवाइल उपलब्ध गराउन अनुरोध गर्दैछन् । समय अनुसार शिक्षक चल्न सकेन भने, समयले नै उस्लाई चल्न बाध्य बनाउने रहेछ ।
चीनबाट शुरु भई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकण गर्न अपनाईएको लकडाउनले साविकको जीवनशैलीमा व्यापक फेरवदल आएको छ । आर्थिक सामाजिक जीवनमा निकै अप्ठ्यारो अवस्था भोग्न संसार वाध्य भएको छ । व्यक्तिगत जीवनमा आईपरेका संकट र समस्याका आआफ्ना कथा छन् ।
यो संकटको अवस्थाले शिक्षण शैली परिवर्तनमा भने केही सकारात्मक पाठ सिकाएको छ ।
आफूले पढ्दा पहिले जे गरियो, अहिले पढाउँदा त्यही गर्नुपर्छ भन्ने मानिसकताले शिक्षकलाई पश्चगामी बनाउँछ । विद्यार्थीलाई सुधार गराउन सकिन्छ भन्ने सोच बोक्ने तर आफैँ सुध्रिन नसक्नेहरू भयौँ भने त शिक्षक कसरी व्यवहारिक आदर्शवादी भए र ? उसले उत्पादन गर्ने विद्यार्थीले भोलि कस्तो प्रतिफल देला ? शिक्षक जागिरे मात्रै त पक्कै होइन ।
अनलाईन नामको वृत यसरी ठूलो हुँदै गयो कि त्यसको परिधीभित्र परिएन भने इज्जतै रहँदैन भन्ने सोच शिक्षकमा विकास भैरहेको जस्तो लाग्छ । अधिकांश शिक्षकमा अनलाईनको बुझाइ गलत छ । परीक्षाफल अनलाईनबाट प्रकाशित गरिने भन्ने समाचार आएको भोलिपल्ट विद्यालयको फेसबुकमा कक्षा यतिको नतिजा थाहा पाउन फलानो शिक्षकलाई यति नम्बरमा फोन गर्नू भने सूचना प्रकाशित हुन्छ । एउटा सूचना फेसबुकमा चिप्काउँदैमा ‘अनलाइन भयो’ भन्ने सोचले नै हो विद्यार्थी र अभिभावक अलमलमा परेको । अनलाइनको नाममा त्यस्तो सस्तो प्रचार पनि नगरौँ कि ‘हाम्रो सर म्याडमलाई त केही पनि आउँदो रहेनछ’ भन्ने भावना विद्यार्थीमा जागृत होस् । विद्यार्थीले अभिभावकको कुरा भन्दा शिक्षकको कुरा बढि पत्याउँछन् । शिक्षक माथिको त्यो विश्वास ढल्यो भने, भोलि के हुन्छ ?!
ल्यापटप, मोवाइल, ईण्टरनेट, रिचार्ज कार्ड, पैसा आदिको समस्याले गर्दा अनलाईन कक्षा लिन दिन असहज भएको भन्ने अभिव्यक्ति विद्यार्थी, अभिभावक र स्वयम शिक्षकबाटै आइरहेको छ । तर, यो ठूलो समस्या हो जस्तो लाग्दैन । एनड्रोइड मोवाईल र जिपिआरएस सामान्य भैसक्यो । डाटा भोलुम त्यस्ता महङ्गा पनि छैनन् ताकि किन्नै नसकियोस् । एनसेलले १२ रुपैयाँमा १३५ एमबि डाटा २४ घण्टाको लागि तथा ९६ रुपैयाँमा २ जिबी डाटा एक सातालाई दिन्छ । त्यस्तै एनटिसीले ई लर्निङ प्याकेजको नाममा १९ गतेबाट २६० रुपैयाँमा ६ जिबि डाटा तथा ५०० रुपैयाँमा १५ जिबि डाटा २८ दिनलाई दिएको छ । विद्यार्थीको एकदिनको खाजा खर्च भन्दा पनि कम खर्चमा ईण्टरनेटको पहुँच वृद्धि भएको छ । यसलाई पढाईमा जोड्न सक्दा राम्रै हुन्छ । सञ्चार सुविधा नभएको ठाउँको कुरा भिन्दै भयो । त्यसमा पनि त्यस्ता ठाउँहरू कम छन् । रेडियो, टेलिभिजनका दूर शिक्षाले पनि त्यस्ता ठाउँहरूलाई समेट्न सक्छ ।
जुम क्लाउड मिटिङ, गुगल क्लासरुम जस्ता थुप्रै प्रविधिहरू छन् जसमा कक्षा कोठामा उपस्थित भएर फेस टु फेस पढाएको जस्तै गरी अनलाइन पढाउन सकिन्छ ।
म आफू पनि शिक्षक भएकाले मैले प्रयोग गरेको केही उदाहरण दिन चाहन्छु । म अङ्ग्रेजी पढाउन जुम क्लाउड फ्रि भर्जन प्रयोग गर्छु । कक्षागत च्याट ग्रुप बनाएको छु । च्याट ग्रुपमा कक्षा सञ्चालन हुने समय, मिटिङ आइडी, पढाइ हुने पाठ, गृहकार्य, कक्षा कार्यको विवरण राखिदिन्छु । कक्षा सुरु हुनु भन्दा २० मिनेट अघि गृहकार्यको फोटो च्याट बक्समा राख्नलाई भन्छु । विद्यार्थीले फोटो पठाउँछन् । म त्यहीँ परीक्षण गर्छु । कक्षा सञ्चालन हुन्छ । गृहकार्यको प्रतिक्रिया दिन्छु । पावर प्वाइन्ट स्लाइडलाई स्क्रिन सेयर गर्छु । नयाँ पाठ पढाउँछु । विद्यार्थीसँग अन्तरक्रिया गर्छु । जुमको समयसीमा ४० मिनेट अगाडि नै कक्षा कार्य दिन्छु र बन्द गर्छु । १० मिनटे पछि नयाँ सेसन सुरु गर्छु । कक्षा कार्य परीक्षण गर्छु । विद्यार्थीसँगको फेस टु फेस भन्दा केही कुरामा कमी भएको महसुस भएको छैन । गृहकार्यको लागि गुगल क्लासरुप प्रयोग गर्दा सजिलो हुन्छ । तर, मेरा विद्यार्थीको त्यो तहसम्मको प्राविधिक ज्ञान कम छ ।
यो मेरो अनुभुति र शैली देशको सबै ठाउँमा वा सबै शिक्षकमा लागु हुन सक्छ भन्ने मेरो दावी हैन । देशको भौगोलिक अवस्था, विद्यालय वा शिक्षकसम्म ईण्टरनेटको पहुँच र त्यो प्रयोग गर्ने शिक्षकको रुची र क्षमता पनि विश्लेषण गर्नु जरुरी छ । तर गर्न सक्नेले गर्दा के बिग्रन्छ र ! राज्यले चाहेको खण्डमा यस्तै शैली र अवधारणालाई सबै तिर विस्तार गर्न सघाउ नै पुग्ला । चाहने हो भने राज्यलाई के कठिन !
अनलाईनको माध्यमबाट फेस टु फेस हुनेगरी पढाउन सकिन्नँ भन्दैमा हतास हुनु पर्ने अवस्था पनि छैन । अन्य थुप्रै माध्यम पनि छन् पढाउन सकिने । जस्तो कि यी लिङ्कहरू हेर्नुस्
पूर्व प्राथमिकको लागि : https://egr.pustakalaya.org/
बालपुस्तकहरू : https://pustakalaya.org/balpaathmala/
कक्षा ६,७,८ को लागि नेपाली भाषामा : https://moest.himalayantechies.com/
कक्षा १ देखि ८ सम्म अङ्ग्रेजीमा : https://pustakalaya.org/epaath/
कक्षा ९ र १० का लागि : https://www.youtube.com/channel/UCrTKRd1F1Ql_61JIEb5BOvA/featured
शिक्षक तथा दुबैको लागि : https://pustakalaya.org/en/
यी साइटहरूको माध्यमबाट विद्यार्थीसम्म पाठ्य सामग्री पुर्याउन सकिन्छ । तिनैबाट गृहकार्य दिन सकिन्छ । फेसबुक त हामी चलाउँछौँ नै । विद्यार्थीले गरेका ति गृहकार्यलाई फेसबुकको म्यासेन्जरमा फोटोको रुपमा माग्न सकिन्छ । परीक्षण गरेर, म्यासेन्जरबाटै प्रतिक्रिया दिन सकिन्छ ।
अनलाईनको नाममा यसको मर्म भन्दा अन्य नै कुरालाई महत्व दियौँ होला जानेर या नजानेर । जसले गर्दा विद्यार्थी र अभिभावकको मन जित्न सकेनौँ होला । बुझाउने प्रयास गरौँ । अवश्य बुझ्छन् ।
यो समय पठनपाठनको लागि जति असहज छ त्यो भन्दा बढि कठिन शिक्षकलाई आफ्नो साख बचाइ राख्न छ । आफू र आफ्नो विद्यार्थी सुहाउँदो माध्यम छानौँ र यो असहज परिस्थितिमा पठन पाठनलाई सहज बनाऔँ । आफ्नो सिप विकास गरौँ । प्रविधी मैत्री बनौँ ।
घर भित्रै बसौँ, सुरक्षित बसौँ र त्यसै गर्न उत्प्रेरित गरौँ ।
अविकास शिक्षण पेशामा आवद्ध छन् ।
प्रतिक्रिया