Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

अनलाईन कक्षा सञ्चालन निर्देशिका, अन्तका कक्षामा सहभागी हुन शिक्षकलाई रोक

आइतबार, १४ बैशाख २०७७

काठमाडौं - कोरोना भाईरस कोभिड १९ को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै रोकिएको पठनपाठनलाई अनलाईन मार्फत सञ्चालन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले अनलाईन कक्षा सञ्चालन निर्देशिका जारी गरेको छ । कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालनको चरण, आचार संहिता र कारबाही सहित तयार उक्त निर्देशिकाको आधारमा कक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।
निर्देशिकामा उल्लेख आचार संहिता र कारबाहीमा सम्बन्धित बाहेकका कक्षामा सहभागी हुन शिक्षकलाई रोक लगाउने व्यवस्था गरिएको छ ।

'कुनै पनि पूर्णकालीन शिक्षकले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुनु हुँदैन । अनुगमन समितिले नियमित रुपमा अनलाइन कक्षामा सहभागी हुनेगरी कसैलाई पनि स्वीकृति दिने छैन' निर्देशिाकमा भनिएको छ, 'यस व्यवस्थाले आमन्त्रित विशेषज्ञको हैसियतमा कक्षा लिन पाइने व्यवस्थामा भने रोक लाग्ने छैन ।'

विश्वविद्यालयले अनलाईनबाट पठनपाठनको निर्देशन जारी गरेसँगै यस अघि नै विकल्प विना आएको भन्दै विद्यार्थीले आलोचना गरेका थिए ।

तर विश्वविद्यालयले जारी गरेको निर्देशिकामा एक हप्ता भित्रमा नै विद्यार्थी र शिक्षकहरुको आधारभुत वस्तुपरक अवस्थाको तथ्यांक संकलन गरिने उल्लेख छ । विद्यार्थीसँग ईण्टरनेट सेवाको पहुँचको अवस्थाका बारेमा सम्बन्धित निकायले सर्भे गरेर कति प्रतिशतसँग ईण्टनेट सेवाको पहुँच छ भन्ने तथ्यांक तयार गर्नु पर्ने छ ।

कक्षा सञ्चालनको पूर्व तयारी अन्र्तगत कक्षा सञ्चालन गर्ने हरेक विभाग, स्कुल, क्याम्पसले गुणस्तरीय ईण्टरनेट, द्रूतगतिमा चल्ने ल्यापटप तथा कम्प्युटर/फोन, बिजुली समेतको व्यवस्था गर्नु पर्ने छ । यस्तै कक्षालाई प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायहरुमा आवश्यकता अनुसार विज्ञहरुको समुह बनाउने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।  

आवश्यक प्राविधिक सहयोग र प्राविधिक र शैक्षिक जनशक्तिलाई तालिमको व्यवस्था गर्ने, विद्यार्थीको लागि आवश्यक तालिमको व्यवस्था मिलाउने, सम्बन्धित निकायका प्रमुखको नियन्त्रणमा रहने गरी अनलाइन कक्षा केन्द्र  स्थापना गर्ने पूर्व तयारीको चरणमा उल्लेख गरिएको छ ।

यस्तै कक्षा सञ्चालनको चरण अन्र्तगत अघिल्लो बर्ष चैत्र १० गतेदेखि नै लिएका अनलाइन कक्षाहरु समेतलाई नियमित कक्षा सरह पाठ्यभारमा गणना गर्ने व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ । कक्षाको वातावरणलाई प्रभावकारी बनाउन एवं सम्बन्धित शिक्षकहरुलाई सहयोग गर्न आवश्यकताको आधारमा प्रत्येक कक्षामा विद्यार्थीको प्रतिनिधि रहने व्यवस्था गर्ने, विद्यार्थीको लागि अग्रिम रुपमा अनलाइन कक्षा तालिका तथा विद्यार्थी जानकारी सिट तयार गर्ने र सम्बन्धित शिक्षकले अनलाइन कक्षा ÷सेसनको संचालन गर्ने निर्देशिकामा उल्लेख छ । ।

शिक्षकहरुले आफूलाई सहज हुने अनलाइन प्लेटफर्म प्रयोग गर्न सक्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।  सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको हाजिरी रेकर्ड सम्बन्धित निकायको अनलाइन कक्षा केन्द्रले राख्नु पर्ने, शिक्षकले उपलब्ध गराएको विवरणको आधारमा विद्यार्थीको हाजिरी राख्न लगाउने र हाजिरी गणना गर्दा शिक्षकले कक्षा लिएको रेकर्डलाई आधार बनाउनु पर्नेछ । कुनै शिक्षकले लिएको कक्षा प्रविधिका कारणले रेकर्ड गर्न नसकिएको रहेछ भने त्यस्तो कक्षालाई जाँची हेरी प्रमाणित गर्ने जिम्मा सम्वन्धित केन्द्रका प्रमुखको हुनेछ ।

सञ्चालित कक्षाहरुको हाजिरी तोकिएका कर्मचारीले र निकाय प्रमुखले प्रमाणित गरी राख्नु पर्ने र यसकै आधारमा पारिश्रमिक उपल्वध गराईने छ । अनलाइनमा काम गर्ने कर्मचारीलाई कार्यालय समय भन्दा बढी काम गराउनु परेमा अतिरिक्त पारिश्रमिक उपलब्ध गराईने छ ।

प्रत्येक अनलाइन कक्षाहरुको रेकर्ड गर्नुपर्ने र सम्बन्धित प्राध्यापकले आफ्नो निकायमा इमेल गर्नु पर्नेछ । शिक्षकले विद्यार्थीलाई गृहकार्य दिदाँ वर्ड, एक्सेल, गुगल ड्राईभ आदिको प्रयोग गर्न सक्ने छन् । कुनै जायज कारणले नियमित कक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई कक्षाको रेकर्ड लगायतका अन्य शैक्षिक सामग्री उपलब्ध गराउन सकिनेछ । कतिपय विद्यार्थी भर्ना भएका तर कक्षा संचालन हुन नसकेका कार्यक्रमहरुको अनलाइनबाट अभिमुखिकरण गरि कक्षा संचालन गर्न सकिनेछ ।

यसैगरी निर्देशिकामा उल्लेख आचारसंहिता र कारबाही अन्र्तगत त्रि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० र त्रि.वि. शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० मा तोकिएको आचार संहिताको अतिरिक्त थप पिषय समेटिएको छ ।

सबै शिक्षक, विद्यार्थीहरुले नियमित रुपमा तोकिएको कक्षामा सहभागी भई अध्ययन अध्यापन कार्यमा सहभागी हुनुपर्ने, शिक्षकहरुले सुमधुर प्राज्ञिक वातावरणमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीले शिक्षकसंग सम्बाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्ने, शिक्षकहरुले कक्षा सञ्चालन गर्दा अन्तक्र्रियालाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ ।

यस्तै अनलाइन कक्षा सम्बन्धित शैक्षिक सामाग्री, भिडियो इत्यादिहरुको प्रतिलिपी अधिकार सम्बन्धित शिक्षक र निकायमा निहित हुनेछ व्यवस्था गरिएको छ । सबै शिक्षक, कर्मचारी, विद्यार्थीले व्यक्तिको गोपिनियताको हकको पालना गर्नु पर्नेछ । कुनैपनि शिक्षण तथा शैक्षिक सामाग्री आदि शिक्षक र विद्यार्थीले फेसबुक लगायत अरु सामाजिक सूचना माध्यममा स्वीकृती विना राख्न वञ्देज लगाईएको छ ।
शिक्षक, कर्मचारी, विद्यार्थीले विद्युतीय कानुन उल्लंघन हुने कार्य गर्न रोक लगाउँदै आचार संहितामा शिक्षक विद्यार्थीले अनलाइन कक्षाहरु भएको बेला औपचारिक पोशाकको प्रयोग गर्नु पर्ने व्यवस्था गरिएको छ ।

कुनै विद्यार्थी, शिक्षक र कर्मचारीले निर्देशिकामा उल्लेख आचार संहिता उल्लंघन गरेमा प्रकृति, किसिम र मात्रा हेरी विश्वविद्यालयको नियमानुसार कारवाही गरिने उल्लेख छ ।

प्रतिक्रिया