Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

शिक्षण शुल्कमा छुटको तयारी, पठनपाठन नियमित गर्ने बारे अध्ययन गर्न समिति गठन

बुधबार, १० बैशाख २०७७

काठमाडौं - कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै अवरुद्ध पठनपाठनलाई वैकल्पिक विधिबाट शुरु गर्ने र त्यस वापत लाग्ने शिक्षण शुल्कमा छुट दिने तयारी गरेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । रोकिएका परीक्षा भने वातावरण सहज भए पछि सञ्चालन गरिने भन्दै विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले विद्यार्थीलाई अनुरोध गरेका छन् ।
अहिलेको अनिश्चयका बेला वैकल्पिक विधि प्रयोग गरेर जति सकिन्छ त्यति अगाडी बढ्ने विश्वविद्यालयको योजना रहेको उल्लेख गर्दै उक्त पत्रमा त्यसका लागि विद्यार्थीले प्रयोग गर्ने ईण्टरनेटको सहुलियतका लागि दुरसञ्चार प्रदायकहरुसँग कुरा भईरहेको जनाईएको छ ।

'होईन भने पनि शिक्षण शुल्कमा केही छुट दिईने छ' पत्रमा भनिएको छ ।  

'विश्वविद्यालय विद्यार्थीलाई केही न केही सिकाउने तयारीमा छ, त्यसैले सबै विद्यार्थीलाई आफ्नो विभाग, स्कुल, क्याम्पसमा सम्पर्कमा रहन सूचीत गरिन्छ' विद्यार्थीलाई अनुरोध गरिएको पत्र सार्वजनिक गर्दै भुसालले भनेका छन् 'कुन कुन विषयमा विद्यार्थीको अध्ययनलाई अगाडी बढाउन सकिन्छ त्यसमा पहल भईरहेको छ ।' 

यस्तै भुसालले विश्वविद्यालय अन्र्तगतका क्याम्पस, स्कुल र विभागलाई अनुरोध गर्दै जारी गरेको अर्को पत्रमा अनलाईन कक्षा सञ्चालनका लागि विश्वविद्यालयले आवश्यक सफ्टवेयरको व्यवस्था गरिसकेको र केही दिनमै उपलब्ध गराईने उल्लेख छ । त्यसका लागि आवश्यक परेमा प्राविधिक सहयोग उपलब्ध गराईने जनाउँदै अनलाइन कक्षा सञ्चालनका लागि तुरुन्तै कानूनी व्यवस्था मिलाईने पनि जनाईएको छ ।

सबै क्याम्पस, स्कुल, विभागहरुले आफ्ना शिक्षक र विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहिरहन तथा निरन्तर छलफल गर्न समेत अनुरोध गरिएको छ ।

'सबै क्याम्पस, स्कुल, विभागहरुले विद्यार्थीसँग सम्पर्क गर्ने व्यक्ति तोकि विद्यार्थीलाई सम्पर्कमा रहन सार्वजनिक रुपमा सूचीत गर्न अनुरोध गरिन्छ' उक्त अनुरोध पत्रमा भनिएको छ, 'अनलाईन शिक्षाका लागि विद्यार्थीको फोन सम्बर सहितको विवरण आवश्यक हुने भएकोले सो विवरण तयार राख्नहुन अनुरोध छ ।'

सम्बन्धन प्राप्त क्याम्पसहरुले पनि आफ्ना विद्यार्थी, शिक्षकसँग निरन्तर सम्पर्कमा रहेर छलफल एवं विषम परिस्थितीमा कसरी कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा डीन कार्यालयमा जानकारी उपलब्ध गराउन पनि भनिएको छ ।

विद्यार्थीको अध्ययन अध्यापनलाई नियमितता दिनुपर्ने सन्दर्भमा अध्ययन गर्न विश्वविद्यालयले भौतिकशास्त्र केन्द्रिय विभागका प्रमुख प्रा.डा. विनिल अर्यालको संयोजकत्वमा स्कुल अफ म्यानेजमेण्टका निर्देशक प्रा.डा. महानन्द चालिसे, खुला तथा दूर शिक्षा केन्द्रका निर्देशक डा. गंगाराम गौतम र उपकुलपति कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद अर्याल सदस्य रहने गरी एक समिति गठन गरेको छ ।

प्रतिक्रिया