Edukhabar
सोमबार, ०८ पुस २०८१
विचार / विमर्श

परीक्षाको गलपासो फुकाई दिउँ

बुधबार, १० बैशाख २०७७

परीक्षा स्थगनको सूचना आउँदा २०४६ सालको जनआन्दोलनमा शहीद भएका एक होनहार विद्यार्थी लाल बहादुर बमको सम्झनाले झस्काउँछ । काठमाडौं बानेश्वर स्थित मिन भवन क्याम्पसमा बि.कम. पढ्दै गरेका हामी एउटै कक्षाका मिल्ने साथी थियौँ । देशमा निरंकुश पञ्चायती व्यवस्था फाल्ने जनआन्दोलन चलिरहेको थियो, तथापि नजिकिदँै गरेको परीक्षाका कारण लाल बहादुरलाई जनआन्दोलनले छुन सकिरहेको थिएन । हामी केहि साथीहरु आन्दोलनको कार्यक्रममा जाँदा उनी वरु उल्टै “हामी त्यति टाढाबाट पढ्न आएका हौ, अहिले पढौँ परीक्षा सकाएर आन्दोलन गरौँला” भनेर हामीलाई सम्झाउने गर्थे ।

२०४६ साल चैत्र १८ गते परीक्षाको मिति पुनः अनिश्चित समयका लागि स्थगित भएको समाचार बेलुकी ७ बजेको समाचारमा आयो । यो समाचार सुने पछि उनी सहन नसकि आन्दोलनकारीले घोषणा गरेको बल्याक आउट कार्यक्रममा कालो कपडाका साथ सामेल भएका थिए । उनी आक्रोशित हुँदै एक्कासी आन्दोलनमा आएको देखेर मैले के कारण रहेछ भने सोध्दा उनको जवाफ थियो “परीक्षा अनिश्चित भइसके पछि बाँकी के रह्यो र ? अब डु एण्ड डाई ।”

मैले सम्झाउँदै भने “अनिकालमा बिउ जोगाउनु र हुलहालमा जीउ जोगाउनु” भन्ने जानी राख । मेरो कुरा सुनेर उनले मलाई हकार्दै भने “तिमीहरु जस्ता काँतरले गर्दा अहिलेसम्म प्रजातन्त्र आएन, अब हेर चाँडै प्रजातन्त्र ल्याइन्छ” ।

त्यो साँझ बल्याक आउट सफल पार्न पुरानो बानेश्वरको ओरालोमा पुलिसको बाटो थुन्ने उद्दश्यले सडकमा फोहोर जम्मा गर्ने ट्याङ्कर धकेल्दै थियौँ त्यही समयमा एक्कासी दुबैतिरबाट पुलिसको गाडि आएर लाठीचार्ज गर्यो । सबै आन्दोलनकारीले भागदौड गरे । म लगायत केहि साथीहरु नजिकैको घर भित्र प्रवेश गर्यौं । तर लाल बहादुर बम भाग्न सकेनन् र पुलिसको लाठीको प्रतिकार गर्न थाले । केहि मिनेट पछि हाम्रै आँखा अगाडि उनलाई पुलिसले बेस्सरी पिट्दै अन्तमा दुइटा बासको डण्डाले घाँटी थिचेर हत्या गरे । उनी परीक्षा दिने धोको बोकेर प्रजातन्त्रका लागि शहीद बन्न पुगे ।

विगतका वर्षहरुमा एसएलसी परीक्षाको समयमा होस् वा अन्य परीक्षामा राम्रो अंक नआएर वा सफल हुन नसकेर विद्यार्थीले आत्महत्या गरेका समाचार आउने गरेको सबैलाई थाहै छ । जुनसुकै परीक्षा किन नहोस् त्यो समयमा केटाकेटी तनावमा रहने हुनाले  घरको माहौल नै फरक खालको हुने गरेको सबैको भागाईको विषय हो । केटाकेटीको परीक्षा सम्पन्न हुँदा एक किसिमको राहत मिल्छ भने परीक्षाफल प्रकाशनसंगै त्यो वर्षको पढाईको सबै काम सकेर मुक्ति मिलेको अनुभुति स्वयम् विद्यार्थी र अभिभावकले गर्दछन् । यसरी हेर्दा हाम्रो देशको विद्यार्थी मुल्याङ्कन पद्दति परीक्षामुखी भएकोले यसले विद्यार्थीलाई हौस्याउने भन्दा बढी चिन्तित तुल्याउने गरेको देखिन्छ । समयमा परीक्षा नहुँदा र नतिजा प्रकाशन नभै दिँदा विद्यार्थीलाई कतिको असर पुर्याईरहेको हुन्छ भन्ने कुरा माथि उल्लेखित केही घटानाक्रमले सहज अनुमान गर्न सकिन्छ ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण करोडौँ विद्यार्थीको पठनपाठन बन्द अवस्थामा छ । यो महामारीबाट नेपाल पनि बच्न नसकी बन्दाबन्दीको सामना गरीरहेको छ । यो बन्दाबन्दीले अधिकाँश विद्यार्थीको परीक्षाफल प्रकाशन स्थगित भएको छ भने गत चैत्र ६ गतेबाट परीक्षा दिन प्रवेशपत्र हातमा बोकेर परीक्षा केन्द्रमा पुगेका ४,८२,७०७ जना विद्यार्थी  परीक्षा स्थगित भएकाले त्यसै घर फर्किएका छन् ।

यस्तै बैशाख महिनामा सञ्चालन गरिने कक्षा ११ र १२ को परीक्षा तथा विश्वविद्यालयका परीक्षाहरु पनि अनिश्चित समयका लागि स्थगित गरिएका छन् । महामारी देशका विभिन्न क्षेत्रमा फैलिने हो की भन्ने त्रासको वर्तमान अवस्थामा विद्यार्थीको परीक्षा झनै अन्यौग्रस्त बनेको छ । आज लाखौ बालबालिका यो परीक्षाको अन्यौलको शिकार बनिरहेका छन् । परीक्षा होला कि नहोला ? परीक्षा भैहाले पनि कहिले र कसरी होला ? यो महामारीको बन्दाबन्दी कहिले खुल्ने होला ? कतै महामारीको चपेटामा ज्यान जोगाउन नै सकिदैन की ? जस्ता थुप्रै प्रश्नहरु विद्यार्थीको बाल मस्तिष्कमा उब्जि रहेका छन् । विद्यार्थीका लागि परीक्षा गलपासो बनेको छ । यो परीक्षारुपी गलपासोलाई समयमा नै नफुकाउने हो भने यसले बालमनोभावनामा दीर्घकालिन नकारात्मक असर पर्ने देखिन्छ । तसर्थ सम्बन्धित सरोकारपक्ष सरकार, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक, कर्मचारी, बुद्धिजीवि तथा अविभावकहरुले यो परीक्षाको गलपासो फुकाउने तर्फ विशेष सजकता र सक्रियाता देखाउनु पर्ने हुन्छ ।

संकटको वेला विद्यार्थीको वार्षिक सिकाइ उपलब्धिको लेखाजोखा गर्ने विधि पद्दति के हुन सक्छ भन्ने बारे गहन अध्ययन, अनुसन्धान तथा खोजनीति गर्नु जरुरत हुन्छ । अहिलेको यो महामारीमा विश्वका अन्य मुलुकले विद्यार्थीको शैक्षिक मुल्याङ्कन कसरी गरेका छन् र ती वीधि पद्दतिलाइ हाम्रो परीवेशमा कसरी लागु गर्न सकिन्छ भन्ने बारे जानकारी लिन राष्ट्रिय परीक्षा बोर्ड विशेष सक्रिय हुनुपर्ने हुन्छ । विद्यार्थीको सिकाइ उपलब्धि मुल्याक्षङ्कनकर्ता मुख्यतः शिक्षक नै हुने भएकोले यस कार्यमा शिक्षकहरुको राय सुझाव मुताविक उनीहरुलाई नै परीचालन गर्न सकेको खण्डमा परीक्षाको गलपासोबाट विद्यार्थी मुक्त हुन सक्ने देखिन्छ ।
अतः यो लेखमा रोकिएको कक्षा १ – ९ को नतिजा प्रकाशन र कक्षा १० को अन्त्यमा लिईने माध्यमिक शिक्षा परीक्षा (SEE) २०७६ को सञ्चालनका सन्दर्भमा   नेपाल शिक्षक महासंघले चलाएका छलफल र त्यसबाट प्राप्त निश्कर्षहरु बारे चर्चा गर्ने कोशिस गरिएको छ ।

रोकिएको कक्षा १ – ९ को परीक्षाको नतिजा प्रकाशित गर्ने सन्दर्भमा

१. बन्दाबन्दीको समयमा विद्यार्थी र अभिभावकको भेला गरी नतिजा प्रकाशन गर्न नमिल्ने भएकोले विद्यालय प्रशासनले सुचना प्रविधि ( वेभसाइड, इमेल, मोबाईल, एसएमएस, फेसबुक, मेसेञ्जर, रेडियो, टेलिफोन आदि ) को प्रयोग गरेर यथासिघ्र नतिजा प्रकाशन गर्ने प्रबन्ध मिलाउने ।

२. विद्यालयले भौतिक दूरी कायम राखेर स्वास्थ्य सुरक्षाका साथ गाउँघर तथा टोलटोलमा नतिजा टाँस गर्ने र विद्यार्थीलाई पनि भौतिक दुरी कायम राख्दै नतिजा हेर्न पाउने प्रबन्ध मिलाउन सकिन्छ ।

३. विद्यालयको सेवा क्षेत्र दुरी कम भएका, सानो कक्षा र कम विद्यार्थी भएका विद्यालयले सुरक्षित साथ घरघरमा पुगेर लब्धाङ्कपत्र वितरण गर्न सकिन्छ ।

४. कुनै कारण उत्तर पुस्तिका परीक्षण हुन बाँकी रहेको छ भने यथासिघ्र उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाउने जिम्मा विद्यालय प्रशासनको भएकोले सोको प्रबन्ध गर्ने ।

५. स्थानीय सरकार, स्वास्थ्य संस्था र सुरक्षा निकायलाई जानकारी र समन्वय कायम गर्ने

माध्यमिक शिक्षा परीक्षा (SEE) सञ्चालन सन्दर्भमाः  

शिक्षा ऐन कानुनमा प्रबन्ध भए बमोजिम माध्यमिक शिक्षा परीक्षा (SEE) सञ्चालनको जिम्मा राष्ट्रिय परीक्षा बोर्डले प्रदेश स्तरीय गर्नु पर्ने हुन्छ । यो SEE परीक्षा हरेक वर्ष चैत्र महिनामा सञ्चालन भई असार महिना भित्र नतिजा प्रकाशित गरिसक्ने र साउन महिना देखि कक्षा ११ को शैक्षिक शत्र शुरु गर्नु पर्ने हुन्छ । अहिलेको विषम परीस्थितिमा सरकारले विशेष  निर्णयका साथ समस्यालाई सम्बोधन गर्नु पर्ने हुन्छ । हाल  स्थगित  माध्यमिक शिक्षा परीक्षा सञ्चालनका सन्दर्भमा नेपाल शिक्षक महासङ्घले निम्नानुसार २ वटा विकल्प अघि सारेको छ :

क) पहिलो विकल्प : यदि कोभिड १९ को महामारी व्यापकरुपमा फैलिन गयो र स्थिति भयावह अवस्थामा पुगेको खण्डमा शिक्षा ऐन २०२८ आठौ संशोधन नियम ४ ट लाई अध्यादेश मार्फत् संशोधन गरी विद्यालयको अभिलेखलाई आधार मानी राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरी सार्वजनिक गर्ने । यो कार्यका लागि विद्यालय आफ्ना विद्यार्थीको मूल्याङ्कन २०७७ जेठ १५ गते भित्र सम्बन्धित स्थानीय तहमा इमेल मार्फत प्रमाणित सफ्टकपी र हार्डकपी बुझाई सक्ने । सम्बन्धित स्थानीय तहले आफ्नो क्षेत्र भित्रका सबै विद्यालयको विद्यार्थी मूल्याङ्कन विवरण संकलन गरी जेठ मासान्त भित्र सफ्टकपी इमेल मार्फत् प्रदेश निर्देशनालयमा पठाई सक्ने । प्रदेश निर्देशनालयले आफ्नो प्रदेश भरीको सबै स्थानीयतहबाट प्राप्त विवरण रुजु गरी प्रमाणितको लागि राष्ट्रिय परीक्षा बोर्डमा असार १५ गतेसम्म पुर्याई सक्ने र राष्ट्रिय परीक्षा बोर्डले असार मसान्तसम्म नतिजा प्रमाणित गरी प्रकाशनको प्रबन्ध मिलाउने ।

ख) दोस्रो विकल्पः यदि कोभिड १९ को महामारी धेरै फैलिनबाट जोगियो र स्वास्थ्यविज्ञको राय सुझाव अनुसार भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्ने अवस्था देखिएमा

१. परीक्षा सञ्चालन गर्न थप कार्यविधि बनाई आवश्यकता अनुसार होम सेण्टर निर्धारण गर्दै स्थानीय शैक्षिक प्रशासकको उपस्थितिमा विद्यालय शिक्षक मार्फत परीक्षा सञ्चालन गर्ने,

२. बाहिरी शहर तथा देशको अन्य भूभागबाट बन्दाबन्दीको समयमा घर गएका बालबालिकाको लगत तयार गरी उनिहरुलाई पायक पर्ने विद्यालयमा परीक्षा दिन पाउने प्रबन्ध मिलाउने,

३. परीक्षा सञ्चालनका लागि मौजुदा परीक्षा केन्द्रका लागि तयार पारिएका प्रश्नपत्रका बन्दी खाम जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारीद्वारा खोली नयाँ परीक्षा केन्द्रको विद्यार्थी संख्या अनुसार पुनः छुट्याई खामबन्दी गर्ने प्रबन्ध मिलाउने

४. उत्तरपुस्तिका पालिकास्तरमा संकलन गरी कोडिङ, डिकोडिङ, परीक्षण, सम्परीक्षण र पुनःपरीक्षण गरी प्राप्त गरिएको अभिलेखका आधारमा राष्ट्रिय परीक्षा बोर्ड मार्फत नतिजा सार्वजनिक गर्ने,

५. उत्तर पुस्तिका परीक्षण कार्यमा संलग्न हुने विषयगत शिक्षकलाई सम्बन्धित स्थानीय तहले अनलाईन मार्फत अभिमुखिकरण तालिमको प्रबन्ध मिलाउने

६. २०७७ साल जेठ १५ गतेभित्र शुरु हुने गरी परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने र २०७७ साल असार मसान्तसम्म नतिजा प्रकाशित गर्ने गरी व्यवस्थापन मिलाउने ।

७. सबै परीक्षा केन्द्रमा स्वास्थ्य हेल्प डेक्सको प्रबन्ध मिलाउने ।

अन्तमा,

अध्ययन मार्फत बालाबलिकाले जीवन सरल र सहज बनाउन सहयोग पुग्ने  ज्ञान, सिप र अभीवृद्धि विकास गर्दछन् । परीक्षा भनेको विद्यार्थीले ग्रहण गरेका ज्ञान, सिप र अभिवृद्धिको मापन गर्ने एउटा माध्यम मात्र हो । बालबालिकाको जीवनका लागि पढाई र परीक्षा हो न कि परीक्षाका लागि जीवन । रोकिएको परीक्षा कारण बालबालिकामा  मनोवैज्ञानिक असर नपरोस् र विगतमा झै कुनै पनि बालबालिका अप्रिय दुर्घटनाको सिकार नबनुन् । हामी सबै महामारीबाट जोगियौँ भने मात्र यस्ता परीक्षाको अर्थ र महत्व रहन्छ । हामी सबैले बालबालिकाको स्वास्थ्य तथा जीवन रक्षालाई केन्द्र बिन्दुमा राखेर परीक्षाको निर्णय लिनु पर्ने हुन्छ ।
दुई चार महिना परीक्षा ढिलो हुदैँमा खासै विग्रिने पनि केहि होईन तर विद्यार्थीको गलपासो बनेको यो परीक्षालाई कुनै किसिमले फुकाइदिन सकियो भने उनीहरुलाई यो कोभिड १९ को महामारीबाट जोगिने थप साहस मिल्नेछ । आशा छ नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डले सबैका सुझावहरु ग्रहण गर्दै उपयुक्त निर्णय लिने छ ।

कुवँर, नेपाल शिक्षक महासंघका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया