Edukhabar
शुक्रबार, १२ पुस २०८१
विचार / विमर्श

संकट एकातिर, मन्त्रीको चिन्ता परीक्षामा !

आइतबार, ०७ बैशाख २०७७

अघिल्लो साल फागुन २० गते कोरोना सन्त्रासका कारण विद्यालयस्तरका परीक्षा अघि सार्न निर्देशन गर्ने संघीय शिक्षा मन्त्रालयले चैत ६ देखि १७ सम्म कक्षा १० को अन्तिममा लिईने परीक्षा एसइई छ भन्ने कुरा बिस्र्यो । नत्र उति बेलै यसका बारेमा पनि बोल्नु पथ्र्यो । चैत ४ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइई सफल पार्न अपिल जारी गरे । उनको अपिल २४ घण्टा पनि टिकेन । ५ गते परीक्षा बोर्डले एसइई स्थगन गर्यो । आफनो अपिल २४ घण्टा पनि टिक्छ टिक्दैन ख्याल नगर्ने मन्त्रीले गत बैशाख ६ गते निजी टेलिभिजन च्यानल मार्फत परीक्षाको विकल्प सोच्न नसकिने, सक्षमता, रोजगारी र अन्तर्राष्ट्रिय समकक्षता समेतलाई हेरेर परीक्षा लिनै पर्ने कुरामा जोड दिएका छन् ।

यतिबेला विश्व नै कोरोना महामारीको चपेटामा छ । संसारका सबै देश र नागरिक त्राहीमामको अवस्थामा छन् । न धनी, न गरीब, न ठूूलो पद न सानो, न कुनै जात न कुनै धर्म सबैलाई समान प्रकृतिको संकटले यतिबेला सबै मानिस कोरोनासँग तर्सेका छन् ।

भीमनिधि तिवारीले राजा त्रिभुुवनको निधन पछि आँफै किरियामा बस्दै लेखेका थिए :

“रैती जस्तै सरल हरियो बाँसमा लम्पसार, के यो हैन, ध्रुुवसरी सत्य साम्यवादी विचार ।”

अहिले लगभग सबैको हालत यही छ । प्रकृतिले एक किसिमले न्याय गरेको छ  । विश्वका सात अर्व मानिसहरु घरमै थुनिएर बसेका छन् । मै हुँ भन्नेहरु समेत घर भित्र छन् । आज सम्म  २१० देशका झण्डै पौने  दुुईलाखको हाराहारीमा मानिसको निधन भईसकेको छ । २३ लाखकै हाराहारीमा  संक्रमित छन् । ६० हजार जतिको अवस्था गम्भिर छ । यो तथ्याङ्कमा हरेक मिनेट वृद्धि भईरहेको छ ।

अनावश्यक दबाब

यतिबेला  नेपालका केही मिडिया र सरकारी सम्वद्ध पक्षको ध्यान पठन पाठन तिर र खासगरी कोरोना संक्रमणकै कारण स्थगन भएको एसइई तथा कक्षा ११, १२ को परीक्षा तर्फ  केन्द्रित देखिन्छ ।   कक्षा १० को अन्त्यमा लिइने एसइई परीक्षा सरकारले  गत ६ चैतदेखि   सञ्चालन गर्ने गरी तयारी  गरेकोमा कोरोनाका कारण स्थगित भएको थियो । २०७७ बैशाख ८ र २१ बाट  सञ्चालन गर्ने भनिएको कक्षा १२ र ११ को वार्षिक परीक्षा पनि सोही कारणबाटै  स्थगित भएको छ । यसबाट  आम विद्यार्थी यतिबेला चिन्तित देखिन्छन् । ११, १२ का झण्डै ५ लाख  र एसइईका  ४ लाख ८२ हजार २ सय १९  विद्यार्थी परीक्षाको आगामी तिथि मितिको पर्खाइमा छन् । अझ एसइईका परीक्षार्थी त देशभर कायम गरिएका १ हजार ९ सय ९७ परीक्षा केन्द्रमा पुुगी प्रवेशपत्र समेत हातमा लिई भोलिपल्ट परीक्षा दिन तयारी अवस्थामा रहेको बखत अप्रत्यासित कोरोना संकटका कारण अघिल्लो दिन ( ५ चैत ) साँझ परीक्षा स्थगनको सूचना पाए सँगै डेराबाट फर्केका थिए । यसैकारण  एसइई र कक्षा ११,१२ को परीक्षा र त्यस पछि हुने पढाइको चिन्ताले विद्यार्थी मात्र नभएर तिनीहरुका अभिभावक समेत पिरलोमा छन् ।

तर अहिलेको समय परीक्षाको चिन्ता लिने समय होइन । देश कुन बेला इटली वा स्पेन जस्तो हुने हो  थाहा छैन ।  उत्तर कोरिया जस्तो हुने  संभावना अब टरिसकेको छ ।  अहिलेसम्म ३१ जनामा संक्रमण देखिए पनि आम रुपमा परीक्षण हुन बाँकी नै छ । संक्रमितको संख्या अब बढ्दैन र  खतरा न्युनीकरण भयो भन्ने स्पष्ट आधार बनीसकेको छैन । संक्रमणले १,२ गर्दै  ३१ जनामा आइपुुग्दा  दोस्रो चरण (लोकल ट्रान्समिसन ) मा प्रवेश गरिसकेको छ । अब कम्तीमा पनि तेस्रो चरण (कम्युनिटी ट्रान्समिसन) देख्न नपरोस् भनेर सबैको ध्यान जान आवश्यक छ । किनभने यो चरण भनेको महामारीको पुर्वअवस्था नै  हो, जसलाई हाम्रो सामथ्र्यले थेग्न हम्मे हम्मे पर्न सक्छ । सबै मिलेर  तेस्रो चरणको खतरालाई टार्नु नै यतिबेलाको सबैभन्दा बुद्धिमत्ता पुर्ण निर्णय हुनेछ । यसका लागि सरकारले गत चैत ११  देखि लागू गरेको लकडाउन आगामी बैशाख १५ सम्म जारी राख्ने घोषणा गरिसकेको छ । त्यस पछकिो अवस्था पनि सामान्य होला भन्न सकिदैन ।  

परीक्षा बाँचेमा मात्र  दिने हो । परीक्षार्थी यसै पनि कोरोना मनोविज्ञानको सन्त्रासमा छन् । उनीहरुलाई परीक्षाकोे प्रसंग झिक्नु नै थप पीडाबोध गराउनु सरह हुन्छ  । परीक्षार्थीको मनोविज्ञान हामीले किन बुुझ्दैनौ ? सारा विश्वले कोरोना महामारी तर्फ ध्यान केन्द्रित गरेको बेला किन हामीमा परीक्षाको भूूत सवार भएको छ ?

दौडधुपमा  मन्त्री  

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्थगित परीक्षा सञ्चालन गर्नेबारे बैशाख ४ गते प्रदेशका सामाजिक विकास ( शिक्षा यसैमा पर्दछ ) मन्त्रीसँग भिडियो कन्फ्रेन्स गरी राय मागेको खबर यतिबेला चर्चामा छ । देश कोरोनामय भएको बारे शिक्षामन्त्री जानकार  नभएका भने हैनन् । के अहिलेको प्राथमिकता परीक्षाकै हो त ? लकडाउनका कारण काठमाडौं देखि कञ्चनपुर र झापा सम्म कुम्लो बोकी मजदुरहरु पैदल हिँडेका छन् ।

‘यो दृश्य देख्दा मलाइ भावुक बनायो’ सत्तासिन दलका एक अध्यक्ष पुष्पकमल दाहालले भनेका छन् । एम्बुलेन्स नपाएर बिरामीहरु अलपत्र परेका छन् । वास्तविक सुुकुम्बासी र मजदुरले राहत नपाएर भोक भोकै छन् । ‘बाटोमा कठिन अवस्थामा हिडेका नागरिकलाई तत्काल उद्दार गरी गन्तव्यमा  पुुर्याउनु ’ सरकारका नाममा सर्वोच्चले आदेश गरेको छ । ‘जो जहाँ छ, त्यही रोक्नुु, खाना नपाएकालाई खानाको व्यवस्था गर्नू’ प्रधानमन्त्रीले निर्देशन दिएका खबर सार्वजनिक भईरहेका छन् ।  

स्थानीय सरकार प्रमुखका गोदाममा कुहिएका चामल र दालका बोराहरु भेटिएका छन् । कुटनीतिक नियोगका गाडी चढेर प्रख्यात व्यापारीहरु स्वास्थ्य उपकरणहरु कालोबजारी गर्न उद्दत छन् । स्वास्थ्य उपकरणले आज देखाएको परीक्षणको रिपोर्ट  भोलिको सँग मिल्दैन । बिरामीको परीक्षण आरडिटी र पिसिआर विधिबाट गरिएको भनिएको छ तर आरडिटीको नतिजा स्वयम् सरकारले नै पत्याउन सकेको छैन । यो आजको वास्तविकता हो  । आजको चुरो कुरो परीक्षा भन्दा पनि नागरिकको जीवनको सुरक्षा गर्नुु हो ।  यी समस्या समाधान गर्न शिक्षा मन्त्रीले के गरे  ? आज परीक्षाको भूत देखाएर फेरि एकपटक बालमनोविज्ञान तर्साउने काम गर्न जरुरी  किन पर्यो ? यही कुरालाई मनन् गर्दे सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले ‘अहिले कोरोनाको प्रभाव बढेकोले परीक्षाबारे तत्काल सोच्न नसकिने’ भनेर जवाफ दिएको पनि सार्वजनिक भएको छ ।

सिकाइ खै ?

यतिबेला नयाँ शैक्षिक सत्रको शुरुको समय हो । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएको छ । विद्यालय जाने उमेरका करीब ७० लाख जति बालबालिकाहरु घरमा नै छन् ।  अब हिजोको झैं २२० दिन विद्यालय खोल्नुपर्ने, १८० दिन पढाइ हुनुपर्ने भनेर कर्मकाण्डीय विधि पुरा गर्ने बेला आज छैन । आजसम्म हामीले बिरालो बाँधेर श्राद्ध गर्यौं । अब खोजी खोजी बिरालो नबाँधौ । अब विद्यालय कतिदिन खोल्नुपर्छ यो चासो होइन । चासो सिकाइ भयो कि भएन भन्ने हो । आजसम्म पढाइमा जोड दियौ, अब सिकाइमा दिऊँ ।

सिकाइका ३ तहहरु हुन्छन् । औपचारिक, अनौपचारिक र अरितिक ।  अहिलेको समय भनेको कोरोना संकटको समय हो । यतिबेला प्रत्येक विद्यार्थीलाई जोेसँग पहुँच छ, उनीहरुलाई नेट, इण्टरनेटद्वारा सोधखोज गरी सिकाइका लागि प्रेरित गर्न सकिन्छ  । जोसँग मोवाइल वा ल्याण्डलाइन मात्र छ, उनीहरुलाई त्यसकै माध्यमबाट प्रश्नोत्तर गरी सिकाइ जारी राख्न भन्न सकिन्छ । जोसँग यी दुुइवटै कुरा छैनन्, उनीहरुलाई घरका अग्रजबाट सिकाइ गर्न भन्न सकिन्छ । बाउले आरनमा हँसिया अर्चापेको हेरेर कतिपयका सन्तानहरु त्यस्तै बनेका कैयन् उदाहरण हाम्रा समाजमा आज पनि पाइन्छन् । सिकर्मीको छोराले बाबुले नसिकाउँदा नसिकाउँदै पनि बाबुको काम हेरेर उभन्दा सिद्द हस्त   बनेर निस्केका बग्रेल्ती उदाहरणहरु हामीसँग छन् । उखु पेल्ने कोल बनाउन हामीलाई कुनै विज्ञानले सिकाएको थिएन । हाम्रा पुर्खाका यी सीप कुनै वैज्ञानिकका भन्दा कम छैनन् । यसैले अहिलेको विषम परिस्थितिमा सिकाइका विकल्प अनेक छन् । शैक्षिक सत्र खेर गयो भनेर चिन्ता लिन जरुरी छैन ।

परीक्षाका विकल्प

परिवर्तित सन्दर्भमा कक्षा १– ८ आधारभूत र ९– १२ माध्यमिक तह मानिन्छ । तेस्रो पक्षबाट परीक्षा लिने भनेको तहको अन्त्यमा मात्र हो । यसरी हेर्दा आधारभूत तहको अन्त्यमा लिने परीक्षा भनेको कक्षा ८ को परीक्षा हो । मौजुदा ऐन, कानुनले यो परीक्षा ७५३ स्थानीय सरकार मार्फत् लिने व्यवस्था गरेको छ । एकाध अपवाद बाहेक सबै ठाउँमा यो परीक्षा सम्बन्धित पालिकाले गत चैत्र ५ गतेभित्र सम्पन्न गरिसकेका छन् । कतिपय पालिकाहरुले त नतिजा समेत तयारी गरिसकेको अवस्था छ । यसका लागि थप बहस जरुरी देखिएन ।

जहाँसम्म कक्षा १० को अन्त्यमा लिने एसइई परीक्षा हो, यसै पनि यो परीक्षा ऐन, कानुनको विपरीत छ । नेपालको संविधान २०७२ को अनुसूची ८ ले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई दिइसकेको छ । उक्त तहलाई नै परीक्षा व्यवस्थापनको जिम्मा दिंदा पनि हुन्छ ।  एसइई परीक्षा व्यवस्थापनको काम प्रदेशस्तरमा हुने पनि उल्लेख छ । यसो गर्दा राष्ट्रिय परीक्षा बोर्ड बेरोजगार हुने र परम्परागत बिरासत धानीआएको परीक्षा नियन्त्रण कार्यालय पनि भूमिका बिहिन हुने डरले मात्र संघीय सरकारले उक्त परीक्षा विकेन्द्रीकृत गर्न सकेको छैन । यसका लागि थप कार्यविधि र नियमावली बनाउन सरकारले नै आलटाल गरेको छ । सरकार  तदर्थ पारामा अघि बढन खोजेको छ ।

अहिले  यसरी रोकिएको परीक्षालाई पुनः होम सेण्टरमा सञ्चालन गर्ने विषयमा छलफल गर्ने भनी परीक्षा नियन्त्रण कार्यालयले परिपत्र गरेको छ । शिक्षा मन्त्रीले यस विषयमा छलफल चलाएको कुरा शिक्षा प्रवक्ताले सूचना जारी गरेर जानकारी दिएका छन् । यसै पनि यो कक्षाका विद्यार्थीले वितेको एकवर्षमा विद्यालयले सञ्चालन गर्ने ३ वटा आन्तरिक परीक्षमा सम्मिलित भैसकेका छन् । यी परीक्षाको उपलब्धी विद्यालयसँग अद्यावधिक छ । फेरि यो कक्षा तहको अन्त्य पनि होइन । यसैकारण पहिलो विकल्पका रुपमा विद्यालयले लिएको आन्तरिक परीक्षलाई आधार मानेर कक्षोन्नति गर्न उपयुक्त देखिन्छ । यो संभव नलागे कम्तीमा पनि अब परीक्षा केन्द्र र परीक्षाको तानाबुना केन्द्रबाट नबुनीकन परीक्षा विद्यालयस्तरबाट लिने व्यवस्था गर्न सकिन्छ । हरेक विद्यालयलाई परीक्षाको  तिथि मिति दिएर परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्म्मा दिन उपयुक्त हुन्छ । यसको समन्वय स्थानीय शिक्षा शाखालाई दिन सकिन्छ ।  यसो हुँदा कसैमाथि  पनि परीक्षाको दबाब पर्दैन । सहज वातावरण हुन्छ । नियम कानुनको पनि पालना हुन्छ ।

कक्षा ११ का हकमा पनि त्यही गर्न सकिन्छ जो, कक्षा १० का लागि गरिन्छ । किन भने यो पनि तहको अन्त्यको कक्षा होइन । विद्यालय आफैले यो कक्षाको परीक्षा व्यवस्थापन र नतिजा प्रकाशनको काम गर्दा राष्टिय परीक्षा बोर्डको केही रोजगारी त गुम्छ तर त्योभन्दा बढी परीक्षा किफायती हुन गै  बचत भएको रकम कोरोना कोषमा राख्न सकिन्छ ।

कक्षा १२ माध्यमिक तहको अन्तिम कक्षा भएको र यसको नतिजाका आधारमा विद्यार्थीको आगामी पठन पाठन दिशा निर्देश हुने हुँदा परिस्थिति साम्य भएपछि राष्ट्रिय रुपमा सञ्चालन गर्न सकिन्छ । यसका लागि आवश्यक परे ५ महिना शैक्षिक सत्र धकेलिए पनि आपत्ति मान्नु हुँदैन । किनभने यो अवस्था नै विषम परिस्थितिको अवस्था हो । अहिले नै शैक्षिक सत्रका बारेमा चिन्ता लिनु जरुरी छैन ।

- पछिल्लो समय स्थानीय सरकार मातहत शिक्षा विभागमा रहेर कार्य गरेका अधिकृत स्तर दशौं तहका उपसचिव पौडेल हालै सेवा निवृत भएका छन् । 

प्रतिक्रिया