Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

रोकिएका परीक्षा सञ्चालनका वैकल्पिक उपायबारे छलफल

विहीबार, ०४ बैशाख २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड - १९) संक्रमणको जोखिम न्यूनिकरणका लागि स्थगित गरिएका परीक्षा सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग अनलाईन छलफल गरेका छन् । चैत ११ गते देखि शुरु भएको लकडाउन पछिल्लो पटक बैशाख १५ गते सम्म थपिएको सन्दर्भमा परीक्षा सञ्चालनका विधिबारे मन्त्री पोखरेलले विभिन्न पक्षसँग छलफल गर्ने क्रममा बिहीबार प्रदेश मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा कक्षा १०, ११ र १२ का परीक्षा सञ्चालन तथा व्यवस्थापनका वैकल्पिक उपायहरुका बारेमा चर्चा भएको मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'मन्त्रीहरुबाट व्यक्त राय तथा सुझाव एवं सम्बन्धित विषयका विज्ञहरुबाट आएका धारणाहरु समेतलाई समेटि विभिन्न विकल्पहरु सहित आगामी कार्यक्रमहरु तय गर्न सम्बन्धित प्राविधिक टोली एवं पदाधिकारीलाई मन्त्रीले निर्देशन दिएको' विज्ञप्तिमा उल्लेख छ ।

तर छलफलमा सामाजिक विकास मन्त्रीहरुले व्यक्त गरेको धारणा र सुझाएको उपायका बारेमा कुनै कुरा सार्वजनिक गरिएको छैन । छलफलले परीक्षाका विकल्प र कसरी कार्य गर्ने भन्ने बारेमा तय गरेको विषय पनि गोप्य राखिएको छ ।

विद्यार्थीको सिकाइमा अनलाईन एवं खुला तथा वैकल्पिक पद्धतीको प्रयोगको सम्भावनाका बारेमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाका कारण उत्पन्न परिस्थितीलाई देखाएर चाँडै भर्चुअल कक्षा सञ्चालन गरिहाल्नु पर्ने भन्दै मन्त्रालय माथि व्यापारीहरुको लविङ् जारी रहेको सन्दर्भमा मन्त्रीको छलफल तिब्र हुँदै आएको छ ।

यस विषयमा सम्बन्धित खबर पढ्नुहोस्

भर्चुअल कक्षा सञ्चालन गर्न व्यापारीहरुको लविङ् !

शिक्षा मन्त्रालयको कार्यशैली र प्रतिफल माथि शंका

बिहीबारको छलफलमा लकडाउन लम्बिएको अवस्थामा शैक्षिक सत्रको व्यवस्थापन लगायत आगामी आर्थिक बर्षका लागि नेपाल सरकार एवं प्रदेश सरकारका शिक्षा सम्बन्धि नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्नु पर्ने विषयहरुका बारेमा पनि चर्चा भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया