काठमाडौँ, ६ मंसिर । माओवादी युद्धमा सहभागी भएपछि पढाई अधुरो छोडेका सुर्खेतका पूर्वलडाकु यतिबेला धमाधम पढ्न थालेका छन् । यसअघि पार्टीले बुर्जुवा शिक्षा भन्दै जनवादी शिक्षा प्राप्तिका लागी युद्धमा होमिन आग्रह गरेपछि बीचमै पढाई छाडेका पूर्वलडाकु मात्र होइन यतिबेला माओवादी कार्यकर्तासमेत विद्यालय र क्याम्पस तहको पढाई पुरा गर्न लागी परेका छन् ।
शान्ति प्रक्रियामा सहभागी भएपछि माओवादीका कतिपय जिल्ला नेताहरु पनि युद्धका क्रममा बीचमै रोकिएको आफ्नो पढाई पुरा गर्न कस्सिएका हुन् । सुर्खेत घुमखहरेकी २४ बर्षीया शान्ति थापाले यसैबर्ष मात्र एसएलसी उतीर्ण गरिन् । कक्षा ८ मा पढ्दै गर्दा माओवादी युद्धमा लागेपछि रोकिएको उनको पढाईले पूनः निरन्तरता पाउन थालेको छ । उनी यसअघि सेना समायोजनका क्रममा उमेर नपुगेको भन्दै अयोग्य समेत घोषित भएकी थिइन् ।
यस्तै गुमी निबासी हरिमाया पुलामीको पनि युद्धमा लागेपछि पढाई रोकिएको थियो । तर उनी पनि हिजोआज अधुरो रहेको पढाई पुरा गर्न कम्मर कसेर लागेकी छन् । पुरानो सत्तालाई ध्वस्त पार्ने र सेनामा जागिर पाउने आशले नेै उनी माओवादी सेनामा भर्ति भएकी थिइन् । तर अयोग्य घोषित भएपछि उनी अहिले पढाई पुरा गर्नतिर लागेकी हुन् ।
(आजको अन्नपूर्णपोष्ट दैनिकको पृष्ठ ४ मा ललितबहादुर बुढाले समाचार लेखेका छन्।)
प्रतिक्रिया