अहिले सम्पूर्ण विश्व नै कोरोना भाइरस (कोभिड - १९) को कारणले आक्रान्त भएको छ । सबैजसो देशहरूमा मानिसहरूले बिषम परिस्थितीमा जसोतसो आफ्नो गुजारा गरिरहेका छन् । यस महामारिको अवस्थामा सबैलाई आ आफ्नै समस्याहरूले पिरोलिरहेको स्थिती छ । विद्यालय, विश्वविद्यालय, सरकारी अर्ध सरकारी तथा निजी कार्यलयहरू प्रायः बन्द रहेको अवस्था छ । एकातिर महामारीको चपेटामा देशहरू परिरहेका छन् भने अर्को तिर सबै जसो अविभावकहरूले आफ्ना बालबालिकाहरूको शिक्षा तथा पढाइलाई लिएर चिन्तीत भएका छन् । उनीहरुका चिन्ता विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूबाट बुझ्न सकिन्छ । यसै सन्दर्भमा कतिपय विद्यालय तथा विश्वविद्यालयका शिक्षकरुले आफ्ना विद्यार्थीका लागि अनलाइनको माध्यमबाट निर्दिष्ट पाठ्यक्रमहरू पढाउन शुरु गरकोे कुरा पनि यदाकदा सुन्न थालिएको छ ।
परिस्थीती विषम छ । त्यस माथि सबै विद्यार्थी साधन सम्पन्न अवस्थामा छन् र तिनीहरूको सिकाइ औपचारिक मात्र हो भन्नु त्यती उत्तम नहुन सक्छ । यसको अलवा यदि बालबालिकाहरूका अविभावकहरूले यस बन्दाबन्दीलाई सकारात्मक रुपमा लिने हो भने यो हाम्रा बालवालिकाहरूका लागि सुनौलो अवसरको रुपमा उपयोग गर्न सकिन्छ । बालबालिकाहरूलाई घरमा आफूसँगै बिभिन्न क्रियाकलापहरूमा संलग्न गरिएको खण्डमा हालसम्म विद्यालयका औपचारिक कक्षाहरूमा सिकेका बिषयवस्तुका व्यवहारिक पक्षलाई दैनिक जीवनमा कसरी प्रयोग भएका छन् र कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराहरूको जानकारी प्राप्त गर्न सक्दछन् । जसको फलस्परुप विद्यार्थीमा गुणस्तरीय जीवन ज्यूनका लागि उययोगि व्यवहार कुशल, मानसिक एवं अन्य शारीरिक सिपहरूको विकास हुन्छ । यस बन्दाबन्दीको अवसरलाई बालबालिकामा निम्नानुसारका सिपहरू हासिल गराउनका लागि सदुपयोग गर्न सकिन्छ ।
क) गुणस्तरीय जीवन ज्यूने तथा आत्मनिर्भर हुने सिप सिकाइ
हामीले हाम्रा बालबालिकाहरूलाई पढाइ बाहेक घरपरिवारमा गरिदै आएका दैनिक अत्यावश्यक कार्यहरुमा समेत संलग्न गराएका छैनौं । हाम्रा बालबालिकाहरूलाई भान्सा कोठाका लागि गरिने कामहरु जस्तै तरकारी टिप्ने, केलाउने, काट्ने, खाना पकाउनका लागि ग्यास बाल्ने, चामल र पानीको अनुपात अनुमान गर्ने र मिलाउने, खाना पस्कने, पानी उमाल्ने, भाँडा माझ्ने आदि कामबाट टाढा नै राखेका छौं । यदि यो फूर्सदको समयमा बालबालिकाहरूलाई माथि उल्लेखित कामहरूमा आफ्नो प्रत्यक्ष निगरानीमा संलग्न गराउन सक्याँै भने यिनीहरूमा बिभिन्न प्रकारका जीवन उपयोगी सिपहरूको विकास हुन्छ । एउटा त त्यस्ता क्रियाकलापहरूबाट औपचारिक सिकाइबाट जानेका ज्ञानको दैनिक जीवनका क्रियाकलापमा हुने सम्बन्धको बारेमा जानकारी प्राप्त हुन्छ भने दोस्रो जीवन उपयोगी सिपहरूको कारणले बालबालिकाहरूले आफ्नो जीवनमा भोली गएर आफूले गर्नुपर्ने कामहरूको सिकाइ हुन्छ र पछि आफ्नो लागि आवश्यक कामहरुको लागि पराश्रीत हुनु पर्दैन ।
ख) व्यवहार कुशल सिप विकास
पहिलो हामी अभिवावकहरू प्रायः आफ्नो कार्य व्यस्तताको कारणले कहिल्यै पनि आफ्ना बालबालिकाहरूलाई यथेष्ट समय उपलब्ध गराउन सकेका हुदैनौं । आफ्ना हजरुबुवा तथा हजुरआमा लगायतका अन्य परिवारका सदस्यहरूसँग मनग्गे तरिकाले समय मिलाइ बस्ने अवसर जुरेको हुदैन । दोस्रो, हाम्रा अैपचारिक शिक्षामा विद्यार्थीका लागि उपलब्ध गृहकार्यका, अन्य पढाइ तथा लेखाइका कारणले बालबालिकाहरूले आफ्ना अविभावकहरूसँग बसेर खेल्ने तथा गफ गर्ने समय पाएका हुदैनन् । अहिलेको परिस्थितीलाई त्यस कार्यका लागि अवसरको रुपमा लिन सकिन्छ । तसर्थ अविभावकले आफ्ना बालबालिकाहरूलाई पारिवारिक छलफल, समाजिक तथा व्यवहारिक बिषयवस्तुहरूका बारेमा बादबिवाद तर्क गर्न लगाउने आफ्नो बिचार राख्न लगाउने, परिवारका कुनै सदस्यको विचारको समर्थन बा खण्डन गर्ने कार्य गर्नाले उनीहरूमा सोचाइ तथा सञ्चार सिपको विकास हुनुका साथै तर्क गर्ने क्षमताको विकास हुन्छ । साथै आफू भन्दा सानासँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने तथा ठुलाहरूसँग कसरी व्यबहार गर्ने भन्ने क्षमताको विकास हुन्छ । साथै मानिस र परिवेश अनुसार बोल्न सक्ने सञ्चार सिपको विकास हुन्छ ।
ग) सांस्कृतिक तथा नैतिक सिप विकास
अहिलेको सुचना तथा सञ्चारको युगमा हाम्रा बालबालिकाहरू लगायत हाम्रा दैनिक क्रियाकलापहरू पश्चिमा संस्कृति उन्मूख भएका देखिन्छन् । फलस्वरुप हाम्रा बालबालिकाहरू हाम्रो धर्म, संस्कृति, रीती रिवाज, कर्तव्यहरूबाट बिस्तारै टाढा जान लागेको देखिन्छ । परिस्थीती यस्तै रहेको अवस्थामा हाम्रा यि संस्कृति इतिहासमा सिमीत रहन बेर लाग्दैन । तसर्थ, यो बन्दाबन्दीको अवसरमा हामीले हाम्रा बालबाललिकाहरूलाई हाम्रो धर्म, संस्कृति, रीती रिवाज, कर्तव्यहरूका बारेमा जानकारी तथा परिबारमा यी बिषयवस्तुहरूको बारेमा बालबालिकाहरूलाई समावेश गराएमा छलफल तथा वहस चलाउन सकेमा हाम्रो धर्म, संस्कृति, रीती रिवाजको संरक्षणका लागि उनीहरूमा उत्प्रेरणा जगाउन सकिन्छ । यसका साथ साथै परिबारका जेष्ठ सदस्यहरूबाट आफ्नो जीबनका अनुभवजन्य कथाहरू तथा कथनहरू धार्मिक अनुष्ठानहरू सुनाएर बालबालिकाहरूमा आफ्नो कर्तव्यबोध गराउनका सथै जिउने कलाहरूको विकास र तिनीहरुको बारेमा तर्क गर्नेर प्रश्न गर्ने वानीको विकास गर्न सकिन्छ ।
घ) शारीरिक तथा मानसिक विकास
बालबालिकाको सर्वाङ्गीण विकासका लागि मानसिक र शारीरिक विकास हुनु अति आवश्यक हुन्छ । यो बन्दाबन्दी समयमा बालबालीकाको मानसिक तथा शारीरिक विकाका लागि अविभावकहरूको अति नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । बालबालिकाहरूसँग विभिन्न किसिमका घरभित्र खेलिने खेलहरू जस्तै, चेस, लुँडो, बाघचाल लुक्ने खेल आदि तथा टेलब टेनिस, व्याडमिण्टन, कपर्दी आदि खेलहरूमा बालवालिकाहरूलाई संलग्न गराई मानसिक तथा शारीरिक विकासका साथ साथै अनुसाशन, नियमहरूको पालना गर्ने बानीको विकास गर्न सकिन्छ । यसको साथ साथै फरक संस्कृति र परिवेशमा र स्थानीय तहमा खेलिने विभिन्न स्थानीय ९ष्लमष्नभलयगक० खेलहरूको बारेमा पनि जानकारी दिलाउन सकिन्छ । अभैm बालबालिकाहरुलाई करेसाबारी तथा फूलबारीका साना तिना कामहरूमा समावेश गराएको खण्डमा उनीहरुमा शारीरिक अभ्यासका साथसाथै अपनत्वको भावना विकास गराउन सकिन्छ ।
ङ) एकिकृत सिकाइ
माथिको छलफल गरिएका बिषयवस्तुहको साथमा एउटा महत्वपूर्ण बिषय भनेको एकिकृत सिकाइ नै हो । विद्यार्थीले आजसम्म औपचारिक शिक्षाबाट सिकेका फरक फरक बिषय वस्तुहरूलाई दैनिक जिवनका क्रियाकलापहरूसँग जोडेर तिनीहरूको उपयोगिताबाट नयाँ ज्ञानको निर्माण गर्नु नै एकिकृत सिकाइ हो । कुनै बिषयको निरपेक्ष ज्ञानलाई कसरी अर्को बिषयसँग एकिकृत गरेर सिक्ने भन्ने कुरा दैनिक क्रियाकलापहरूबाट सिक्न सकिन्छ । यसको साथसाथै आफ्नो घरमा परिवारसँग भएका तथा गरिएको कुनै क्रियाकलापलाई फरक फरक बिषयवस्तुसँग जोेडेर सिकाइ गर्न सकिन्छ ।
जस्तै खाजाखाने समयमा खाजा के छ कसरी बन्छ भन्ने विज्ञान, बनोट आकार, सङ्ख्या, परिकार, बाँड्ने तरिका र अनुपातहरू, मूल्य, बनाउन लाग्ने समय आदि गणित, खाने तरिका, कसले के के काम गर्ने, कसको भूमिका के हुने आदि सामाजिक, खाजाको श्रोत, काम नलाग्ने वा खेर गएको वस्तुहरूको व्यवस्थापन वाताबरण आदि । माथि उल्लेखित बिषयवस्तुको बारेमा सम्पूर्ण जानकारी लिन सकेको खण्डमा एउटै क्रियाकलापबाट धेरै बिषयवस्तुहरूको एकिकृत सिकाइ गर्न सकिन्छ ।
च) आर्थिक तथा सामाजिक पक्षको सिकाइ
अहिलेको यो बन्दाबन्दीको समयमा बालबालिकाहरू तथा अविभावकहरू प्रायः फूर्सदमा भएको अवस्था छ । तसर्थ उनीहरूका लागी घरमा भएका वा बजारमा ल्याइएका वस्तुहरू अवलोकन गर्न लगाएर तिनीहरू के बाट बनेका, तिनीहरू कहाँ बनेको, कसले बनायो, त्यसको कच्चा पदार्थ तथा तिनीहरुकोे अनुपात, कहि बनेको, कहिले सम्म प्रयोग गर्न मिल्ने, यसको महत्व, मूल्य आदिको बारेमा जानकारी लिई वहस तथा परिवारका सदस्यहरू समक्ष प्रस्तुत गर्न लगाउनु उत्तम हुन्छ । यसो गर्नाले बालबालिकामा कुनै पनि विषयवस्तुलाई शुक्ष्म तरिकाले अध्ययन गर्ने वानीको विकास हुन्छ । फलस्वरुप बालबालिकाहरूमा परिवारमा आवश्यक पर्ने बस्तुहरू तिनीहरूको परिमाण, महत्व र परिवारको बजेटका बारेमा सामान्य जानकारी पनि पाउन सक्छन् ।
छ) तनाव तथा समय व्यवस्थापन
बिषम परिस्थितीका कारणले घरमा नै नजरबन्दमा जस्तै लामो समय बिताउनु पर्दा बालबालिका तथा वयस्कहरुमा बिभिन्न प्रकारका मानसिक समस्याहरू देखा पर्न सक्ने कुरा बिभिन्न लेखहरूबाट सार्वजनिक भएका छन् । तनाव र फूर्सदको समयको व्यवस्थापन उचित तरिकाले गर्न सकिएन भने ति समस्याको भागिदार जो कोहि पनि हुन सक्दछ । त्यसका लागि परिवारमा सम्पूर्ण सदस्यहरू बालक देखि बृद्धसम्म मिलेर आवश्यक साबधानी साथ बिभिन्न प्रकारका बहस, मनोरञ्जन लगायत वादविवाद र भुमिका निर्वाह गर्ने क्रियाकलापहरू गर्नु पर्दछ । यस्ता क्रियाकलापहरु बालबालिकाहरूका लागि नयाँ कुराहरू सिक्ने अवसर हो भने बयस्कहरूका लागि समय तथा तनाव व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
सारांशमा भन्नु पर्दा माथिका बिषयवस्तुहरू बालबालिकाहरूको खाली समयको उचीत व्यवस्थापन गर्नुका परिणामहरु हुन् । बालबालिकाको लागि औपचारिक ज्ञानलाई व्यवहारिक ज्ञानसँग एकिकृत गर्नका लागि र जीवन उपयोगी सीप सिकाइका लागि महत्वपूर्ण हुन्छ । यसका साथै शारीरिक तथा मानसिक विकासका क्रियाकलापहरूबाट बालबालिकाहरूमा एकिकृत रुपमा जीवन उपयोगी सिप प्राप्त हुनुका साथै अबिभावकहरूको खाली समय तथा तनाव व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । जसले गर्दा बालबालिकाले जीवनमा आइपर्ने सामाजिक, व्यवहारिक, संवेगात्मक तथा आर्थिक अड्चनहरू समायोजन गर्नका साथै उनीहरूलाई स्वतन्त्र एवं गुणस्तरीय जीवन ज्यूनका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।
आचार्य, सानोठिमी क्याम्पस, भक्तपुरमा अध्यापनरत छन् ।
प्रतिक्रिया