Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

अनलाइनबाटै नतिजा प्रकाशन

विहीबार, २७ चैत्र २०७६

भक्तपुर - कोरोना भाइरस कोभिड १९ को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन गर्ने निर्णय गरे सँगै विद्यालयहरुले बार्षिक नतिजा समेत प्रकाशन गर्न नसकिरहेको अवस्थामा चाँगुनारायण नगरपालिकाको एक विद्यालयले भने अनलाइनबाटै नतिजा प्रकाशित गरेको छ । नगरपालिकाको वडा नंं ८ सुडाल, चरेली स्थित बाल्मिकेश्वर माध्यमिक विद्यालयले अनलाइनबाटै परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा दिएर पनि नतिजा थाहा पाउन नसके पछि विद्यार्थी र अभिभावकमा बढेको अन्यौल हटाउन यस्तो उपाय निकालेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र धमलाले बताए । विद्यालयले परीक्षाको नतिजा सार्वजनिक गरे पछि अभिभावक तथा विद्यार्थी लाभान्वित भएका छन् ।

'लकडाउनमा रहेका विद्यार्थी तथा अभिभावकले परीक्षाफल बारेमा बारम्बार प्रश्न सोध्न थाले, हामीले अनलाइन मार्फतै नतिजा निकाल्ने तरिका सिक्यौं र त्यही अनुसार नतिजा निकालेका हौं' उनले भने अलिकति चासो दिने हो भने सजिलो छ, अहिलेको परिस्थिति अनुुसार गर्नु जरुरी पनि छ ।'

देशका अधिकाँश विद्यालयहरुले सूचना टाँस गरी नतिजा प्रकाशित गर्न नसक्ने जनाइसकेका छन् । केही निजी विद्यालयले अभिभावकलाई फोन गरेर अनौपचारिक रुपमा नतिजा जानाकरी दिएका भए पनि अनलाईन मार्पmत् नतिजा सार्वजनिक गर्ने सामुदायिक विद्यालयका रुपमा यो विद्यालयले नयाँ प्रयोग गरेको छ । यस अघि ललितपुर स्थित सेण्ट जेभियर्स स्कुलले पनि आफ्नो क्यालेण्डर अनुसार तोकिएकै दिनमा अनलाईन मार्फत् नतिजा सार्वजनिक गरिसकेको छ ।

चाँगुनारायण नगरपालिका भित्र यो सहित ४२ सामुदायिक विद्यालय छन् । यो विद्यालय गत बर्ष नगरपालिकाले लिएको कक्षा ८ को परीक्षामा उत्कृष्ट भएको थियो । कक्षा १० सम्म अध्ययन हुने विद्यालयमा ३ सय २५ विद्यार्थी छन् ।*

* सच्याईएको - सं.

प्रतिक्रिया