Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षकलाई मन्त्रीले नै भन्नु पर्यो - विद्यालय समयभर बसिदिनुहोस् !

शनिबार, ०५ मंसिर २०७२

महोत्तरी - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले तराईको शिक्षा सुधार गर्न शैक्षिक मञ्च गठन गर्न जिल्ला शिक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

तराई मधेशका शैक्षिक सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले हरेक जिल्लामा सवै सरोकारवालालाई समेटेर शैक्षिक मञ्च बनाउन भनेका हुन् । मञ्च मार्फत जिल्लाको समग्र  शैक्षिक योजना बनाएर एक साताभित्र विभागमा पठाउन उनले निर्देशन दिएका हुन् । खाकामा जिल्लामा हुने योजना कार्यान्वयन कसरी गर्ने भन्ने उल्लेख गर्नु पर्ने हुन्छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, वारा, पर्सा, रौतहट र सिन्धुलीका सरोकारवाला सहभागि कार्यक्रममा मधेशवादी दलले बिहान कक्षा सञ्चालन गर्न दिने भनिए पनि जाडोले समस्या हुने बताएका थिए । कोर्स पुरा गर्न अतिरिक्त, कक्षा, कोचिङ र ट्युसन चलाउनु पर्ने सहभागिहरुले सुझाव दिएका छन् ।

अधिकांश सहभागिले शिक्षा अधिकारीलाई पूरा काम गर्ने वातावरण बनाउनु पर्ने, मधेश आन्दोलन राजनितिक मुद्दा भएकोले राजनीतिक रुपमा नै हल गर्नु पर्ने, विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा सुधार गर्नु पर्ने, मधेशको शैक्षिक विकासका लागि शैक्षिक सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने, विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नु पर्ने सुझाव दिएका छन् ।

मन्त्री पोखरेलले शिक्षाबाट राष्ट्रिय एकीकरण प्रक्रिया शुरु गर्नु पर्ने बताए । विद्यालयमा विद्यार्थी नआए पनि शिक्षकहरू अनिवार्य उपस्थित हुन उनले निर्देशन दिएका छन् । ‘सवैको मुल्याङ्कन कार्यसम्पादनका आधारमा गरिनेछ’ उनले भने ।

बर्दिबासको जनता मा.बिमा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, प्राध्यापकका  संघ संगठन, जिल्ला शिक्षा अधिकारीहरु, प्याब्सन, एनप्याब्सन, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सहभागि थिए ।
कार्यक्रममा ६२ जनाले शिक्षामा सुधारका लागि सुझाब दिएको मन्त्रीका प्रेस सल्लाहकार प्रकाश खतिवडाले बताए ।

प्रकाशित मिति : २०७२ मंसिर ५ गते

प्रतिक्रिया