कक्षा १० को अन्तिम परीक्षा अर्थात् यो बर्षको एसईई आगामी बिहीबारबाट शुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन पक्कै पनि उचित व्यवस्था मिलाएकै होला । परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र पनि तोकिइसकेको छ । एकातिर विगतका केही वर्षहरूदेखि परीक्षालाई व्यवस्थित गराउने भनेर जुन विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ त्यो विद्यालयका विद्यार्थीले अर्कै परीक्षा केन्द्रमा गइ दिन पाउने व्यवस्था मिलाइएको छ भने अर्कोतिर केन्द्र नपर्ने र अलि टाढाका विद्यालयले पनि शहरमुखी वा सुगम ठानिएका विद्यालयमा तोकिएको केन्द्रमा पुगी परीक्षा दिने प्रबन्ध मिलाइएको छ । यसरी अर्को र टाढाको विद्यालयमा विद्यार्थीले परीक्षा दिनु पर्दा उनीहरूमा पर्न सक्ने आर्थिक र मनोवैज्ञानिक समस्या प्रति सरोकारवाला कोही कसैको ध्यान पुगेको पाईंदैन । त्यसैले प्रत्यक्ष धरातलमा आधारित भएर समस्याको उठान गरिएको छ ।
समस्याहरू
क) अघिल्लो वर्ष एसईईको अघिल्लो दिन मेरो घर नजिकैको कक्षा १० मा पढ्ने विद्यार्थीलाई आमासँगै खेतमा गहुँ काटिरहेको देखें । भोलिको परीक्षा आज काममा व्यस्त हुनु पर्दा यसरी विना तयारीले कसरी नतिजा राम्रो होला !
हुन त काम गर्दैमा तयारी नै छैन होला भनेर सोच्नु उपयुक्त हैन कि भन्ने पनि मनमा लाग्यो । तर म त्यसै नसोधी बस्न सकिनँ । अनि त्यहीँ पुगेर सोधें – भोलि परीक्षा भएको मान्छे, पढ्न छाडेर किन खेतमा ?
- अङ्कल मैले परीक्षा नदिने भएँ
- किन ?
- परीक्षा दिन खैरेनी जानु पर्छ । होटलमा बस्न र खानको लागि कम्तीमा दश हजार लाग्छ रे ! पैसा छैन त्यसैले ।
आमाले आँसु नै झारिन् र भनिन्, “पैसा नभएर यत्रो वर्ष पढाएर नि परीक्षा दिन पाएन बाबु यसले । यसको परीक्षाको लागि चाहिन्छ भनेर पालेको खसी कुन्नी के रोगले मर्यो । फेरि यहीँ दिन किन नपाएको होला बाबु १० को जाँच ?
कक्षा ९ को परीक्षा गाउँमै दिन पाएको तर १० को नपाउँदा आमाको प्रश्न स्वभाविक हो ।
ती आमाछोराको कुरा सुनेर निकै दुःख लाग्यो । परीक्षा केन्द्र हुनु नहुनुको कारणहरू व्याख्या विश्लेषण गर्ने अवस्था त्यहाँ थिएन ।
हामीले गर्न सक्ने भनेको उसको खर्चको जोहो गर्ने थियो एक जना साथी र म मिलेर उसलाई सहयोग गर्यौं । उसले परीक्षा दियो । अहिले ११ मा पढ्दै छ । यस्तै समस्यामा पर्नेहरू अरू पनि नहोलान् र ?
ख) मेरो पेशा नै शिक्षक भएकाले नियमित झैं कक्षा १० मा पसें । विद्यार्थीले परीक्षा केन्द्र कहाँ हो भन्ने जिज्ञासा राखे । मैले दुलेगौँडा हो भनेर जानकारी गराएँ । उक्त परीक्षा केन्द्रमा जान २५ मिनेट बसमा जानुपर्छ । विद्यालयले परीक्षा केन्द्रसम्म जानको लागि बसको व्यवस्था गरेको छ भन्ने जानकारी गराएँ । एक जना छात्राले निन्याउरो भएर भनिन्, “सर मलाई त बसमा चढ्दा बस लागेर खप्न हुँदैन । बसबाट झरे पछि पनि धेरै समयसम्म कस्तो कस्तो हुन्छ । मैले त लेख्नै सक्दिनँ के हो । उतै बस्न नि आफन्त कोही छैन । “ती छात्राको कुरा सामान्य लाग्ला तर उसको मनोविज्ञानमा पर्ने असरलाई हेर्ने हो भने सामान्य रुपमा लिन मिल्ला र ?
समस्याको चिरफार
माथिका समस्या प्रतिनिधि समस्या मात्र हुन् । यस्ता समस्या अनगिन्ति हुन् सक्छन् । माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने संवैधानिक व्यवस्था भईसकेको अवस्थामा एउटा स्थानीय तहको परीक्षा केन्द्र अर्कै स्थानीय तहमा पुर्याउनु के युक्ति सङ्गत हो ? त्यस तर्फ न त स्थानीय सरकारको चासो पुगेको छ न त सम्बद्ध निकायको । न त शिक्षाविद्हरूकै । विषय सानो लाग्ला तर त्यसको भित्री समस्याले ठुलै असर पार्न सक्छ । भविष्यका कर्णधारका रुपमा लिइने तिनै विद्यार्थीको मस्तिष्कमा पर्ने प्रभाव अनि परीक्षा व्यवस्थाको कारणले निम्त्याउने शिक्षा प्रतिको विकर्षण बढ्ने अवस्था त आउनु भएन नि ।
निचोड
हो परीक्षालाई व्यवस्थित गराउनु पर्छ । तर व्यवस्थित गराउने नाममा विद्यार्थीको सर्वपक्षीय अवस्थाको विश्लेषण विनै योजना बनाउनु सान्दर्भिक कत्ति पनि होइन । तसर्थ भौगिलिक एकाइलाई, समाजको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विकल्पहरू खोज्नु पर्दछ । विद्यार्थीले कम्तीमा एक घण्टा भित्र हिडेर पुग्न सक्ने ठाउँमा परीक्षा केन्द्र निर्धारण गर्न सकिन्छ । परीक्षालाई मितव्ययी र प्रभावकारी बनाउन सरोकारवालाहरूसँग छलफल र अन्तक्रिया गर्दै सहज रूपमा विद्यार्थीले सहभागी बन्न पाउने व्यवस्था मिलाउनु पर्छ । त्यसको लागि स्थानीय सरकार र राष्ट्रिय परीक्षा बोर्डको ध्यान र चासो दुवै हुनुपर्छ ।
यस बर्षको परीक्षा त आईसक्यो, अर्को बर्षको लागि यस कोणबाट सोच्ने र सोही अनुसारको योजना र कार्यक्रम निर्धारण गर्न सकियो भने पनि निकै फलदायी हुन्न र ?
लम्साल जनज्योति मा वि भिमाद - १, तनहुँका शिक्षक हुन् ।
प्रतिक्रिया