Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

युनिसेफले भन्यो "नेपालका बालबालिकाको पढाईमा विश्व पक्षपाती" 

शनिबार, ०५ मंसिर २०७२

काठमाडौँ, ५ मङ्सिर । संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) ले सन् १९८९ मा बालअधिकार महासन्धि पारित भएपछि विश्वमा महत्वपूर्ण उपलब्धि हासिल भएपनि विश्व अति विपन्न तथा उपेक्षित बालबालिकाका लागि पक्षपातपूर्ण रहेको जनाएको छ । 

युनिसेफद्वारा शुक्रबार प्रकाशित ‘प्रत्येक बालबालिकाका लागि निष्पक्ष अवसर ः समताको बाचा’ शीर्षक प्रतिवेदनमा आधारभूत मानव विकास सूचकअनुसार विश्वका अति सीमान्तकृत बालबालिकाको स्थितिबारे तथ्यपरक तस्वीर औँल्याइएको छ । 

सम्पन्न परिवारका बालबालिकाको तुलनामा विपन्न परिवारका बालबालिकाको पाँच वर्ष पुग्नुभन्दा अगाडि नै मृत्यु हुने सम्भावना झन्डै दुई गुणाले बढी छ भने बीचमै विद्यालयको पढाई छाड्ने सम्भावना पाँच गुणाले बढी रहेको युनिसेफले जनाएको छ । 

सम्पन्न परिवारका बालिकाको तुलनामा विपन्न परिवारका बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने सम्भावना चार गुणाले बढी रहेको तथ्य रहेको छ । “रु दुई अर्ब ४० करोडभन्दा धेरै मानिससँग अझै पनि शौचालयको पहुँच छैन जसमध्ये ४० प्रतिशत दक्षिण एसियामा छन् ।

६६ करोडभन्दा बढी मानिससँग सफा पिउने पानी छैन जसमध्ये झन्डै आधा जनसङ्ख्या उपसहारा अफ्रिकामा बस्छन्” युनिसेफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “लगभग एक पुस्ताको अवधिमा विश्वमा बाल मृत्युदर आधाले घटेको छ ।

९० प्रतिशत बालबालिका प्राथमिक विद्यालयमा पढ्छन् र सुरक्षित पानीमा पहुँच भएका व्यक्तिको सङ्ख्या दुई अर्ब ६० करोडले बढेको छ”, युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले भने, “अझै पनि विश्वको विपन्न समुदायमा झन्डै आधा जनसङ्ख्या बालबालिकाको छ । 

२५ करोड बालबालिका द्वन्द्व प्रभावित मुलुकहरूमा बस्छन् र यस वर्ष युरोपमा शरण खोजिरहेका दुई लाखभन्दा बढी बालबालिकाको जीवन जोखिममा छ ।” 

प्रत्येक बालबालिकाका लागि निष्पक्ष अवसरले समतामा भएका फराकिला खाडललाई साँघुरो बनाउनु र अति जोखिममा रहेका बालबालिकाका लागि लगानी गर्नु सैद्धान्तिक तथा व्यावहारिक दुबैरूपमा सही हो भन्ने युनिसेफको भनाइ रहेको छ । यस्तो लगानीले बालबालिकालाई मात्र नभै उनीहरूका परिवार, समुदाय तथा अर्थतन्त्रलाई समेत धेरै तरिकाले लाभ पु¥याउँछ भन्ने तर्क गरिएको छ । 

युनिसेफको ‘पक्षपातविरुद्धको सङ्घर्ष’ अभियानकै एक अंगको रूपमा युनिसेफका सद्भावना दूतहरूको एक प्रभावशाली टोलीले विश्वका अति जोखिमपूर्ण बालबालिकाका लागि तत्काल काम सुरु गर्न र आवाज उठाउन सामाजिक सञ्चार सञ्जाललाई सक्रिय बनाइरहेको जनाइएको छ । 

(रासस)

 

प्रतिक्रिया