शिक्षाले मानव मूल्यहरूको अभिवृद्धि गर्न सक्नु पर्छ । सत्य, धर्म, शान्ति, पे्रम र अहिंसा मानवीय मूल्यहरु हुन् । यिनको संरक्षण, विकास र रक्षाका लागि शिक्षा सदैव तत्पर हुनुपर्छ । विडम्वना हामीकहाँ न शिक्षा मानवीय मुल्यकै संरक्षण गर्न सक्ने खालको छ न नागरिकलाई गरिखान नै सिकाउने खालको !
कति पढ्ने भन्ने कुरामा जोड दिदा के पढ्ने भन्ने विषयवस्तु ओझेलमा परेको छ । यसैले बेरोजगार नागरिक उत्पादन गर्नकै लागि शिक्षा किन चाहिने ? कतिसम्म चाहिने ? छलफलको विषय बन्न सक्छ । मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र ईमान्दारी पूर्वक अरूहरू माझ पुर्याउने व्यक्तिको खाँचोलाई आजको शिक्षाले टार्न सक्नुपर्छ । तर शिक्षा यस मामलामा सफल बन्न सकेको छैन । अहिले पुरानै ढर्रामा नयाँ मान्यतालाई बोक्न खोज्दा शैक्षिक प्रणाली माथि नै प्रश्न चिन्ह खडा हुने अवस्था छ ।
कुनै पनि मुलुकको सामाजिक संरचना र व्यवहार तर्पm विचार गर्दा परिवार टुक्रिनु, टि.भी., इण्टरनेट जस्ता माध्यमबाट मौलिक संस्कृतिको अतिक्रमण हुनु, पौराणिक मान्यता र मूल्यहरूको ह्रास हुनु, भौतिकवादले प्रश्रय पाउनु, भ्रष्टाचारले बढावा पाउनु, मानवीय मूल्य र मान्यतामा ह्रास आउनुु जस्ता चुनौतीहरू देखिन्छन् । आज हामीले परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अन्धा धुन्दा नक्कल, मदिरा र लागूपदार्थको अत्यधिक लत, नेपाली परम्परा, संस्कृति र संस्कारमा गिरावट, भौतिकवाद, प्रदूषण, भ्रष्टाचार, समाजलाई टुक्र्याउने शक्तिहरूको विगविगी जस्ता चुनौतीहरूको सामना गरिरहेका छौँ । यी चुनौतीको निर्मुल पारी मानवीय मूल्य, मान्यता र आदर्श बोक्ने नागरिक उत्पादन गर्न नसक्ने शिक्षालाई काखी च्यापेर बस्नुपर्छ भन्ने सोचमा परिवर्तन हुन जरुरी छ । तसर्थ शिक्षामा नवीन क्रान्ति आजको अपरिहार्यता हो । शिक्षामा आमुल परिवर्तन आजको खाँचो हो । यसका लागि उपयुक्त अभियन्ताको खाँचो देखिन्छ ।
दुर्व्यवहार रोकेको खोइ ?
शिक्षाले दुर्व्यवहार, खराब आचरण रोक्न सक्नुपर्छ । पढेका र नपढेका बीचको अन्तर देखाउन सक्नुपर्छ । तर आज यस्तो अवस्था देखिदैन । प्रत्येक तीन जनामा एक जना केटी र सात जनामा एकजना केटा अठार वर्ष पुग्नुअघि नै यौन दुव्र्यवहारको शिकार हुने गरेको एक अनुसन्धानले बताएको छ । बेला नहुँदै गर्भधारण गरेका कैयन् उदाहरण छन् । हामीकहाँ मात्रै होइन, विश्वमा नै शिक्षाले मानवीय मूल्य बोक्न सकेको छैन ।
भनिन्छ, अमेरिकामा हरेक पाँच मिनेटमा एउटा बालक हिंसात्मक अपराध गरेको अभियोगमा समातिन्छ र प्रत्येक तीन घण्टामा एउटा अमेरिकन बालकको मृत्यु बन्दुकसँग सम्बन्धित हिंसाबाट हुन्छ । 'किण्डरगार्डेन' जानु अघि नै केटाकेटीहरू पाँच हजार घण्टा टिभी हेर्दछन् । मोवाइलको दुरुपयोगमा केटाकेटीहरुको संख्या अधिक छ । जुवा, तासमा पनि कैयन् बालबालिकाहरु संलग्न भएको पाइन्छ । शिक्षाले यस्ता कुराहरु वरण नगर्न सघाउनु पर्छ । मानवीय चेत उजागर गराउन सक्नुपर्छ । अर्थात् नैतिक, आध्यात्मिक र सदाचारयुक्त शिक्षाको खाँचो छ, तर हाम्रो सोच अंग्रेजी माध्यम तर्फ छ । भाषिक माध्यम मात्र परिवर्तन गरेर हामीलाइ चाहिने नागरिक उत्पादन हुन सक्दैन । हामी अर्को भूल गर्दैछौ । बरु अंग्रेजी माध्ययममा जोड दिन लालायित हुनु भनेको त २,४ जना विदेश नगई स्वदेशमा बस्न खाजेकाहरुलाई पनि जवर्जस्त विदेश धकेल्न खोज्नु हो । हाम्रो सोच र अंग्रेजी मोह कुनै पनि हालतमा त्याज्य नै छ ।
एक अध्ययनका अनुसार बालबालिका प्रत्येक साता औसतमा १ हजार छ सय ८० मिनेट टिभी हेर्द छन् भनिएको छ । अभिभावकहरू आफ्ना छोराछोरीसँग प्रत्येक साता केवल ३८.५ मिनेट मात्र उपलब्धीमूलक कुराकानी गर्दछन् यस तथ्यले पनि के दखाउँछ भने अभिभावक र बालबालिका बीच पारिवारिक, व्यवाहारिक विषयमा अन्तरक्रियाको गुञ्जायस नै देखिदैन । दोहोरो संवादको स्थिति नै छैन । यसले गर्दा बालबालिकमा एकांकीपन स्वतः आउने भयो । शायद जेष्ठ नागरिकका लागि बृद्धाश्रम यसै कारण प्रिय बन्दै गएको हुनसक्छ ।
केही त गरेको छ
शिक्षाले केही पनि गरेन त ? यो होइन । केही सकारात्मक परिवर्तन त शिक्षाकै माध्यमबाट आएको छ तर ती अपुर्ण भए भन्ने चिन्ता मात्र हो । शिक्षाले विश्वभरि धेरैभन्दा धेरै बालबालिकालाई साक्षर त गराएकै छ । यसैको कारण साक्षरता दर उच्च छ । धेरै विद्यार्थी विश्वविद्यालय तहसम्म पुुगेका पनि छन् । राम्रो शैक्षिक सुविधा र आधुनिक ज्ञानको प्रष्फुटन भएको पनि छ । शिक्षाकै कारण अन्तरिक्ष माथि मानिसको विजय भएको छ । यसलाई सकारत्मक रुपमा लिनुपर्छ ।
नकारात्मक पक्षहरू
अहिलेको शिक्षाले शैक्षिक उपलब्धिमा मात्र बढी जोड दिएको छ । पाठ्यक्रम र परीक्षामा बढी जोड दिएर कति अंक ल्यायो भन्नेमा जोड दिएको छ । अर्थात् कति पढ्ने भन्ने कुरामा चासो राखेको छ तर किन पढ्ने, के पढ्ने भन्ने कुरामा चासो राखेको छैन । यसले गर्दा चरित्र विकासमा कम जोड दिएको पाइन्छ । उदाहरणीय र असल नागरिक बन्नुपर्नेमा कम चासो दिएको छ । रूपान्तरण नभई जानकारीमा मात्र जोड दिएको छ । यो राम्रो होइन । प्रायशः हामी जे सिक्दछौँ त्यो तुरुन्तै बिर्सि हाल्छौँ । हामीले बालबालिकालाई के सिकाउँदै छौँ भन्ने कुरा बिर्सेर विषयवस्तुमै रुमलिन्छौँ । यसैकारण शिक्षा प्रक्रियामै सम्मिलित रहने जो कोही पनि असन्तुष्ट देखिन्छन् । विद्यार्थी, शिक्षक, अभिभावक, सरकार र समाज कोही पनि अहिलेको ज्ञानार्जन प्रक्रिया, विषयवस्तु र विधिबाट सन्तुुष्ट देखिदैनन् । हामी बीच शैक्षिक विरोधाभाषको स्थिति छ । एकातिर शिक्षाकै माध्यमबाट मानिसले पदार्थ र अन्तरिक्ष माथि नै विजय प्राप्त गरिरहेको छ भने अर्कोतर्पm शान्ति र खुसीको खोजीमा भौँतारिरहेको अवस्था पनि । यो वा ऊ को दोधारमा हाम्रो शैक्षिक अवस्था रुमलिइरहेको छ ।
धैरैजसो समाजमा मद्यपान, लागूपदार्थ सेवन, मानसिक रोग, अपराध र नाबालकहरूको बढ्दो अपराधिक संलग्नता विकराल बन्दै गएको छ । यो अवस्थालाई शिक्षाले न्युनीकृत गर्नुपर्ने हो तर वर्तमान शिक्षाले भाषा र अवधारणा सिकाउँछ तर आपूmसँग र अरूहरूसँग कसरी सन्तुलित जीवनयापन गर्ने भन्ने सिकाउँदैन । यो नै आजको शिक्षाको मूल कमजोरी हो ।
हिजो आजको शिक्षा दिमागलाई किताबी कुराले भर्ने, भरिएको कुरा परीक्षा भवनमा खन्याउने र घर फर्कँदा रित्तो दिमाग फर्कने प्रक्रियाको छ । वर्तमानमा शिक्षाले वुद्धि र गफको विकास गर्दछ, तर असल गुणहरूको विकासमा कम योगदान दिन्छ । यदि व्यक्तिसँग असल चरित्र नै छैन भने उसले प्राप्त गरेको सांसारिक ज्ञानको के अर्थ रहन्छ ? यो त नालीमा पानी बगे जस्तै मात्र भयो । इच्छाहरू बढ्दै गयो भने ज्ञान बढाएर केही काम छैन । यसले त गफ गर्न हिरो (नायक) र काम गर्न जिरो (खलनायक) मात्र बनाउँछ ।
पौडेल शिक्षा मन्त्रालयका उपसचिव हुन्, हाल उनी भिमाद नगरपालिका तनहुँमा कार्यरत छन् ।
प्रतिक्रिया