काठमाडौं २४ फागुन / परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षकले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् ।
नयाँ पत्रिकामा कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाइन् शिक्षिकाले शिर्षकमा टेकराज थामीले लेखेको खबर अनुसार हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।
१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षक सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए । निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए ।
पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षकले १५ भन्दा कम ल्याउने सबैको हात काट्न लगाएकी हुन् । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ ।
जडीबुटी बस्ने कक्षा ६ का विद्यार्थी सविन तामाङले ५ नम्बर मात्रै ल्याएका थिए । उनको देब्रे नाडी २० ठाउँमा चिरिएको छ । आलो घाउ देखाउँदै सविनले नयाँ पत्रिकासँग भने, ‘कम नम्बर ल्याउनेले धेरै काट्न भनेर मिसले भन्नुभएको थियो । नभए आफैँले काटिदिने चेतावनी दिनुभएको थियो । परीक्षामा मेरो कम नम्बर आयो, त्यसैले डराइडराई धेरै काटेँ ।’
सविनकै सहपाठी अरुण तामाङले पनि ५ नम्बर नै ल्याएका थिए । अरुणको १६ ठाउँमा काटिएको छ । ९.५ अंक ल्याएका कक्षा ६ कै अमृत गौतमको उनीहरूको भन्दा केही कम चिरिएको छ । सबैभन्दा कम सोही कक्षाका सार्थक श्रेष्ठको एक ठाउँमा मात्रै चिरिएको छ । उनले १४.५ नम्बर ल्याएका थिए ।
एकेडेमीका प्रधानाध्यापक राजनकुमार श्रेष्ठका छोरा आर्यको हातमा पनि एकपटक चिरिएको छ । ६ कक्षामा अध्ययनरत उनको १३.५ नम्बर आएको थियो । ‘मेरो माक्स अरूको भन्दा अलि धेरै आयो । त्यसैले एक ठाउँमा मात्रै काटियो,’ उनले भने ।
प्रअ श्रेष्ठले कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको स्वीकार गरे । ‘केही दिनअघि क्लास टेस्ट थियो । यसक्रममा नम्बर कम ल्याउने विद्यार्थीको हात काटिएको देखियो । सोसल साइन्स पढाउने शिक्षकबाट यस्तो काम भएको देखिएको छ । यो गम्भीर गल्ती हो । अब के गर्ने भन्ने विषयमा हामी अध्ययन गर्दै छौँ,’ श्रेष्ठले भने ।
शिक्षक कर्माचार्यले बालबालिकालाई हात चिर्न लगाएपछि घाउमा नुन खुर्सानी समेत दल्न भन्दै फोन गरेको अभिभावकको आरोप छ । कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीले नयाँ पत्रिकासँग भनिन्, ‘म्यामले फोन गर्नुभएको थियो । नम्बर कम ल्याएकाले मैले छोरीको हात काट्न लगाएको छु । उनलाई नुनखुर्सानी लगाउने हो । छोरीलाई त्यही भन्नुहोला ।’
पीडक शिक्षक सीतालक्ष्मी कर्माचार्य भन्छिन् मैले थोरै काट्न भनेँ, विद्यार्थीले धेरै काटेछन्
विद्यार्थीलाई अलिअलि डर त देखाउनै पर्यो । मैले कम नम्बर ल्याए काट्न लगाउँछु भनेकै हो । तर, काटिहाल्ने भनेको थिइनँ, विद्यार्थी एक स्टेप अघि बढेर धमाधम काटेछन् । जे भयो, मबाट ठूलो गल्ती भयो । मैले भन्नै नहुने थियो । एकपटकलाई माफी चाहन्छु ।
प्रअ राजनकुमार श्रेष्ठ भन्छन्–अमानवीय घटना भयो यो घटना गम्भीर मात्रै होइन, अमानवीय हो । अब के गर्ने, सञ्चालक समितिले निर्णय गर्छ ।
प्रतिक्रिया