काठमाडौं - विषयगत शिक्षक अभाव कम गर्न भन्दै सरकारले नियुक्त गर्न लागेको स्वयंसेवक शिक्षकको प्रवन्ध प्रति विमती जनाउँदै नेपाल शिक्षक महासंघले विमती जाहेर गरेको छ । महासंघका अध्यक्ष बाबुराम थापा र लक्ष्मीकिशोर सुवेदीले बुधबार विज्ञप्ति जारी गर्दै उक्त कार्यलाई छड्के बाटोको संज्ञा दिएका छन् ।
शिक्षाको गुणस्तर कायम गर्न विद्यालय तहमा शिक्षक सेवा आयोग मार्फत योग्यतम र समर्पित शिक्षक प्रवेश गराउनु पर्नेमा उक्त वास्तविकतालाई नकार्दै मौजूदा ऐन तथा नियमको समेत वेवास्ता गरी दुराशय युक्त तरिकाले नयाँ प्रवन्ध गर्न लागिएको महासंघले ठहर गरेको छ ।
;छड्के बाटोवाट शिक्षण स्वयम्सेवकका नाममा सेवा शर्त र सुविधामा शोषण गरी म्यादी प्रकृतिको नयाँ खालको शिक्षक प्रवेश गराउने अभियानमा मन्त्रालय लागीरहेको छ' विज्ञप्तिमा भनिएको छ 'ऐनमा भएको अध्यापन अनुमतीपत्रको अनिवार्यताको प्रबन्ध , शिक्षक सेवा आयोगबाट निस्केको करार सूचीको प्रबन्ध, उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले गरेको सिफारिस तथा सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ समेतलाई नजरअन्दाज गरी ल्याउन खोजिएको शिक्षण स्वयंसेवकको प्रवन्ध प्रति नेपाल शिक्षक महासङ्घ जोडदार विमती जाहेर गर्दछ ।'
देशको समग्र विकासको प्रमुख आधार शिक्षा भएको स्मरण गराउादै महासंघले राज्य पक्ष आफ्ना काम र निर्णयहरु मार्फत् शिक्षामा तदर्थवादी र असङ्गत नयाँ नयाँ प्रयोग गरी शिक्षालाई झन् कमजोर, अस्तव्यस्त र भताभुङ्ग पार्न उद्दत रहेको आरोप लगाएको छ ।
दरबन्दी मिलान तथा पुनर्वितरण कार्यदलले दिएको सुझाव अनुसार नयाँ दरबन्दी प्रक्षेपण नगरी नयाँ प्रवन्ध गरिएको भन्दै महासंघले महासङ्घ र मन्त्रालय बीच भएको सहमती विपरीत सरकार अघि बढेको आरोप पनि लगाएको छ । दरबन्दी बाट मात्र पुनर्वितरण गर्दा सवै विद्यालयमा शिक्षक अभावको अवस्था निर्माण हुन जाने हुनाले आवश्यक दरबन्दी प्रक्षेपण गरी महासङ्घसँग भएको सहमती अनुसार मात्र दरबन्दी मिलान तथा पुनर्वितरणको कार्य अघि बढाउन महासंघको माग छ ।
'विभिन्न स्थानीय तहले राजनीतिक आस्था र विमतीको कोणबाट शिक्षकलाई दण्डित गर्ने हतियार बनाएको उदाहरणहरु सार्वजनिक भएका छन्' फरक प्रसंगमा विज्ञप्तिमा भनिएको छ 'यसवाट आम नेपाली शिक्षकमा आतङ्कको अवस्था सिर्जना भएको छ ।'
यसैगरी महासंघले योगदनमा आधारित सामाजिक सुरक्षा कोषको प्रबन्ध गराउन संस्थागत विद्यालय शिक्षक युनियन आन्दोलित भई रहेको सन्दर्भमा त्यसप्रति पनि ध्यानाकर्षष गराएको छ । यस्तै सवै क्षेत्रका पेशाकर्मीको तलव बृद्घि भएको अवस्थामा अत्यन्त न्यून वेतनमा काम गरीरेहका विद्यालय कर्मचारी र वालकक्षाका शिक्षकको अझै तलव वृद्घि हुन नसकेको भन्दै उनीहरुको तलब अविलम्व वृद्घि गरी रकम निकासा गर्न समेत महासंघको माग छ ।
अविलम्ब संघीय शिक्षा ऐन जारी गर्न तथा चीनबाट शुरु भई संसार भर फैलदैँ गएको रहेको कोरोना भाइसरबाट बच्न ठूला भेला तथा जमघट आयोजना नगर्न अपील पनि गरेको छ ।
यस अघि बुधबारनै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघले पनि शिक्षक स्वयंसेवक नियुक्ति गर्ने सरकारको तयारीलाई कार्यकर्ता भर्ती गर्ने अभिप्राय भएको आरोप लगाउँदै विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीद्वारा जारी विज्ञप्तिमा तत्काल दरबन्दी मिलान गरी आवश्यक परेमा करार सूचीबाट मात्रै नियुक्ति गर्न माग गरिएको छ ।
शिक्षक स्वयंसेवक नियुक्ति सँग सम्बन्धित अन्य खबर पढ्नुहोस् :
शिक्षक अभाव कम गर्न स्वयंसेवक परिचानल गरिने, इकाइको सूचीका आधारमा विद्यालयले नियुक्त गर्ने
स्वयंसेवक शिक्षक हुन चाहनेका लागि आवेदन खुल्यो, १०५ बाहेकका स्थानीय तहमा खटाईने
प्रतिक्रिया