Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

नियुक्ति नै नभई बधाईको ओईरो !

सोमबार, १९ फागुन २०७६

काठमाडौं - खाली भएका विभिन्न ६ विश्वविद्यालय मध्ये २ वटा विश्वविद्यालयमा नयाँ उपकुलपतिको नियुक्ति भएको छ । मध्यपश्चिममा प्रा.डा. नन्दबहादुर सिंह र पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. यादवराज कोइरालालाई उपकुलपति नियुक्त गरिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । पोखरा विश्वविद्यालयमा अर्को व्यवस्था नहुँदा सम्मका लागि आवश्यक काम काज गर्ने गरी मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. ईन्द्र प्रसाद तिवारीलाई जिम्मेवारी दिईएको उनले बताए । अन्य विश्वविद्यालयमा चाँडै नै नियुक्ति गर्ने उनको भनाई छ ।

'लामो समय देखि विश्वविद्यालयहरु खाली हुँदा विश्वविद्यालयहरुको प्रशासनिक एवं शैक्षणिक कृयाकलापमा असर पुगेको छ' मन्त्री पोखरेलले भने, 'त्यसैले चाँडै नै नियुक्ति हुन्छ ।'

तर त्यो चाँडै भनेको कहिले सम्म हो भन्ने बारेमा उनले स्पष्ट पार्न चाहेनन् । उपकुलपति नियुक्तिका अन्य कार्यबारे पनि उनले केही बताउन चाहेनन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका  प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो पटक मृगौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना हुनु अघिल्लो दिन आईतबार ओलीले गरेको नियुक्तिमा २ उपकुलपति मात्रै पर्नुले अन्य उपकुलपतिको नियुक्ति उनको उपचार सकिए पछि हुन सक्ने अड्कल काटिएको छ । तर सामाजिक सञ्जालमा अन्य विश्वविद्यालयमा उपकुलपति भएको भन्दै विभिन्न व्यक्तिहरुलाई बधाईको ओईरो लागेको छ ।

सुदुरपश्चिम विश्वविद्यालयमा प्रा. अमरराज जोशी र संस्कृत विश्वविद्यालयमा प्रा. डा. प्रेम नारायण अर्याल, कृषिमा प्रा.डा.पुण्य रेग्मीको नियुक्ति भएको भन्दै सामाजिक सञ्जालमा बधाईको ओईरो लागेको छ ।

सुदूरपश्चिम, संस्कृत, पोखरा र कृषि तथा वन विज्ञान विश्वविद्यालय पनि विगत ६ महिना देखि उपकुलपति लगायत पदाधिकारी विहीन छन् । ती मध्ये मध्यपश्चिम र पूर्वाञ्चलमा मात्रै नियुक्ति गर्नु र नियुक्त भएका दुवै जना प्रधानमन्त्री ओली निकट अर्थात् सत्तारुढ नेकपाको पनि पूर्व एमाले खेमाका हुनुले अरु विश्वविद्यालयमा अन्य दलको भागवण्डा हुने आँकलनमा बधाई दिईएको हुन सक्ने देखिन्छ । किन भने, एपेण्डिसाईटको अप्रेसन गरेर डिस्चार्ज भए पछि प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा विश्वविद्यालयमा भागवण्डा गर्ने अनौपचारिक सहमती भएको खबर त्यति खेरै सार्वजनिक भएको थियो । सोही आधारमा सामाजिक सञ्जालमा बधाईको ओईरो लागेको देखिन्छ ।

पूर्व उपकुलपतिहरुले विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सार्वजनिक अपील गर्दै आएका छन् ।

प्रतिक्रिया