Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

छोराको दैनिकी

शनिबार, ०५ मंसिर २०७२

- रूप रसाइली / समय अनुभवलाई अक्षरका माध्यमबाट अभिब्यक्त गर्ने बेजोड खुवी भएका नयाँ पुस्ताका कवि हुन् उनको लेखन् कविता गजलमा केन्द्रित , ती लेखनमा उनी जीवनका भोगाई नै उतार्छन् विभिन्न पत्रपत्रिकामा कविता तथा गजल प्रकाशित उनी अनेसास कतारद्धारा आयोजित नवोदित वाचनालय को खुला गजल प्रतियॊगितामा प्रथम, जलसा नेपालमा युवा गजलकार सम्मान लगायत सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् कास्की , घान्द्रुक , फुलिवाङका रसाइली हाल कतामा छन् यो साताको शिक्षा साहित्यमा उनकै कविता : छोराको दैनिकी

विज्ञान पढ्यो
अनियमित वस्तुको आयतन नाप्यो
बेलुन उडायो, स्याउ खसाल्यो
सिद्धान्तहरू रेटेर
मध्यरातमा लाल्टिन निभायो।

गणित पढ्यो
SIN, COS, TAN ले भित्ता रंगायो
lXbXh गुलेली झैं तन्काउँदै हिंड्यो
मुनाफा नाफाले कापीको पाना सिध्यायो।

अंग्रेजी पढ्यो
Past, Present Future च्यातेर
I N G, WILL, Yes/No Question घोक्यो
सेक्सपियर, रोवर्ट अब्राहम चिन्यो
दशैं, तिहार छठको बारेमा निबन्ध लेख्यो
अंग्रेजी कविता परररररर पढ्छ,
कण्ठष्ट सुनाउँछ दिनदिनै।

सामाजिक शिक्षा पढ्यो
जात, धर्म, वर्ण क्षेत्र छुट्यायो
मेल-मिलाप, बिकास कर्तव्य बुझ्यो
सिमाना रक्षार्थ
सिसाकलमले मोटा घर्काहरू कोर्यो।

जनसंख्या वातारण पढ्यो
जन्म, मृत्यु आयु जाँच्यो
सहभागिता
पारदर्शिता
विश्वसनियता
जवाफदेहिता काँधमा बोक्यो।

इतिहास पढ्यो
नझुकेको शिर नेपालीको भन्थ्यो
भगाएको हुन् रे
इष्टइन्डिज कम्पनिलाई नेपाली वीरहरूले
१९५० को सुगौली सन्धी
दोहोर्याएर हेर्यो
लिच्छवी, मल्ल, राणा, शाह लोकतन्त्र
नाङ्लामा निफन्यो।

स्वास्थ्य शिक्षा पढ्यो
आफ्नै लिंगको लम्बाइ नाप्यो
आफ्नै अण्डकोशको काम लेख्यो
कोमल, मुटुको नक्शा कोर्यो

योनिको चित्र कोरेर एक्लै हाँस्यो
अस्पतालबाट कण्डम चोरेर भाग्यो
जहाँ,
'सित्तैमा पाइन्छ' लेखिएको हुन्छ।

मेरो छोरो नेपालमा जन्मिएको हो
उसले दैनिक नेपाली बोल्छ
मसिनो जिब्रो लठ्ठाएर बोल्छ
हो,
उस्ले नेपाली पनि पढ्छ-चस्मा लगाएर
विपिको गाह्रो शब्दहरू
लेखनाथको असजिला हरफहरू
सिद्धीचरणले भोगेका आगो युग
माघव प्रसादको जोशिला राष्ट्र प्रेम
विवेचनात्मक उत्तर ब्याकरण
जीवनी कविको कविता....

लाई शुद्ध लेख्यो
लाई सँधै बोल्यो
प्रवेशिका परिक्षामा उस्को नतिजा
सबैको भन्दा धेरै
सबैको भन्दा राम्रो
सबैको भन्दा जाति
आहा!
आमाले उस्लाई
ठूलो मान्छे बनाउने सपना दिइन्।

तर पनि यतिन्जेल
उस्ले आफु भित्र '' पढ्नै पाएन
नेपाली भएर 'नेपाल' पढ्नै पाएन
भोलिको लक्ष्य ठम्याउनै सकेन
आफू भित्रको क्षमता चिन्नै सकेन
के कुरा गर्नु यार......
यति बर्ष पढ्यो...पढ्यो... पढ्ये
'हाताँ केही इलम छैन'

अब
छाति फुलाउँछ हर सासमा
रंगशालामा दौडन्छ हर मिर्मिरे
भारत बेलायतको लागि
रक्षार्थ उभिन्छु भन्दै।

प्रत्येक आइतबार
जिल्ला प्रशासन धाउँछ, झिजो नमानी
राहदानीको सट्टा मेरो छोरो
हाकिमको 'भोलि' सुनेर थाक्दैन।

मुलगेटमा पिच्च थुक्छ
आकाश हेर्दै कल्पनामा पुग्छ
उसले पढेको ऐच्छिक भूगोलमा
कहिल्यै नघोकेको राजधानीको नाम
दोहा,
रियाद,
क्वालालम्पुर,
कुवेत,
मनामा
दिल्ली,
लण्डन,
वासिंटन,
सेउल जेरुसेलम सम्झँदै
मनको जहाजमा सयर गर्छ एक फन्को।

बिडम्बना,
काम बन्दै बन्दैन कसै गरी
धिक्कार आफ्नै भाग्यलाई
बलबुताले भए जति धन-पैसा
पढाइमा लगानी गरियो भनेर.......

घुस दिन सकेको भए, लाहुरे हुन्थ्यो
राहदानी बनाएको भए, खाडि पुग्थ्यो
आफन्त भएको भए, नोकरी मिल्थ्यो
के गर्नु
अब मेरो छोरा
जानेछ पुन: उही पूरानो विद्यालय
सोध्नेछ खाली पिरेडमा
साना नानीहरूलाई
गाउँखाने कथा चुट्किलाहरू
एउटा
वेवारिसे गाउँ दिनेछन् सित्तैमा
नानीहरू रमाई रमाई।

प्रकाशित मिति : २०७२ मंसिर ५ गते

प्रतिक्रिया