Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शुल्क मिनाह नभए शैक्षिक हड्ताल सम्म

शनिबार, ३० जेठ २०७२

काठमाडौं ३० जेठ / भूकम्पका कारण पठन पाठन नभएको अवधिको शुल्क मिनाहको माग सुनुवाई नभएको विरोधमा विभिन्न १३ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । शनिबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक कार्यक्रम अनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण सहित शिक्षा मन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका मालिकहरु चढ्ने गाडि गुड्न नदिने सम्म छन् ।

कार्यक्रम अनुसार, आईतबार प्रधानमन्त्रीलाई जानकारी गराउने, सोमबार जिल्ला स्तरमा संयुक्त अनुगमन टिम बनाउने, असार १ गते देखि शिक्षा मन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका मालिकहरु चढ्ने गाडि गुड्न नदिने र सोहि दिन सम्पूर्ण शिक्षण संस्थामा अभिभावक सहितको संयुक्त संघर्ष समिति बनाउने उल्लेख छ ।

पहिलो चरणका लागि असार १ गते सम्मको कार्यक्रम सार्वजनिक गरिएको र यहि विचमा शैक्षिक हड्ताल गर्ने सम्मका कार्यक्रम तयारी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

यस अघि पटक पटकका छलफल र वार्तामा सहमतीमा आउन नचाहे पछि बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको विद्यार्थी संगठनका नेताहरुले बताए ।

गत बिहीबार निजी विद्यालय सञ्चालकहरुको संस्था दुवै प्याब्सनले विज्ञप्ति जारी गरेर विभिन्न शिर्षक अन्र्तगतका शुल्क मिनाह गर्ने सार्वजनिक गरेका थिए । तर, विद्यार्थीहरुले प्याब्सनको उक्त तर्क छलछाम भएको बताउँदै आएका छन्

विद्यार्थी संगठनका नेताहरुल यो आन्दोलन शुल्कका बारेमा गत वैशाख ६ गते भएकोे सहमती कार्यान्वयनका लागि समेत भएकोले सबै कुरा एकै पटक सल्ट्याउनु पर्ने बताए ।

सभासद् तथा नेपाल विद्यार्थी संघका सभापति रञ्जीत कर्णले भूकम्पका बेलाको शुल्क मिनाह र यस अघिको सहमती कार्यान्वयन नभएर आमरण अनसन सम्म बस्ने चेतावनी दिए । 'यहाँ पार्टीको सरकार छ, नेविसंघले केही गर्दैन भन्ने जस्तो गरिएको छ, विद्यार्थीको हक अधिकार र शैक्षिक बेथितीको अन्त्यका लागि हामी कृयाशिल छौं, विद्यार्थी आन्दोलन कुनै सरकार र कुनै पार्टीको हुँदैंन' उनले भने, 'अहिले निजीले लिने शुल्कका बारेमा जस्तो मात्रै ब्याख्या गरिएको छ, यो शुल्क मिनाह सबै शैक्षिक संस्था र प्रतिष्ठानहरु लक्षित आन्दोलन हो ।'

अनेरास्ववियूका अध्यक्ष किशोर विक्रम मल्लले निजी विद्यालय सञ्चालकहरुले आफूहरुलाई हेपेको नटेरेको अनूभूति भएको भन्दै शैक्षिक ब्यापारीकरण विरुद्ध हड्ताल गर्न सम्म पछि नपर्ने चेतावनी दिए । 'विद्यार्थीहरु जहिले पनि निजी शिक्षण संस्थाको विरुद्धमा छन् भन्ने ब्याख्या गर्दै हिँडेको सुन्दै छु' उनले भने, 'यो सरासर विद्यार्थी आन्दोलन प्रति आरोप हो, हामी सबै शैक्षिक संस्थाले शुल्क मिनाह गर्नु पर्छ भन्नेमा अडिग छौं ।'

अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले भूकम्पका कारण त्रासमा रहेका विद्यार्थी विद्यालय जान थाले संगै जनजीवन सामान्य बनेको अनूभूति भईरहेको कुरालाई आत्मसाथ गर्दै तत्काल हड्तालको कार्यक्रम घोषणा नगरेको बताए । 'आन्दोलनका विविध स्वरुप अन्र्तगत हामी पहिलो चरणका कार्यक्रम अलिक फरक रुपमा ल्याएका छौं' उनले भने, 'धेरै दिन पर्खदाँ पनि हेप्ने मात्रै काम भएको छ, हाम्रो यो विचारलाई कमजोरी नठानियोस् '

कार्यक्रममा विभिन्न विद्यार्थी  संगठनका नेताहरुले भूकम्प पछि राहत र पुर्ननिर्माणमा लाग्नु पर्ने बेलामा बाध्य भएर आन्दोलनमा लाग्नु परेको भन्दै चिन्ता समेत ब्यक्त गरे ।

प्रतिक्रिया