सरकारले बालमैत्रीका नाममा धेरै रकम खर्च गरिसकेको छ । टोल, वडा, विद्यालय हुँदै पुरै गाउँ तथा नगर नै बालमैत्री भयो भनेर गाजाबाजा सहित घोषणा गर्दै र यस्ता कार्यक्रममा शिक्षा मन्त्री आफै प्रमुख अतिथिका रुपमा उभिने गरेको पनि विगतमा धेरै पाइयो । तर व्यवहारमा के हाम्रा विद्यालयहरु साँच्चै बालमैत्री छन् त ? के हाम्रा विद्यालयमा दण्ड विनाको पठन पाठन सञ्चालित छन् त ? प्रश्न चिन्ह खडा भएको छ ।
भनिन्छ शिक्षा भनेको सिकाइ हो जसरी सिके पनि जीवन जीउने कला सिक्नु पर्छ । त्यसकारण शिक्षालाई दण्डरहित वनाएर प्रेमपूर्ण ढंगले सिकाइ हुन जरुरी छ । यसका लागि विद्यालय शान्ति क्षेत्रको अवधारणा सरकारले धेरै अघिदेखि अघि सारेको हो । तर सिकाइकै बेलामा राजा महाराजाका शैलीमा देशका राष्ट्रपति, प्रधानमन्त्री देखि उच्च पदस्थ भनिनेहरुका स्वागत र बिदाइमा विद्यालयका बालबालिकाहरुलाई उतारेर घण्टौं लाइनमा उभ्याएर पठन पाठन बन्द गराएका अनेकौ उदाहरण छन् । यो प्रवृत्तिले दण्ड रहित विद्यालयको अवधारणालाई व्यवहारिक रुप दिन सक्दैन ।
शाब्दिक अर्थमा दण्ड भन्नाले दमन गर्ने काम वा कुनै पनि कार्य गर्दा नियमको पालना नगर्नाले पाइने सजाँय वा अनुशासनको परिपालना नभएको भन्ने बुझिन्छ । पुरातन कालदेखि शिक्षा विशिष्ट थियो, प्राचीन समयमा रूखको फेदमा र ऋषिको कुटीमा बसेर लिइने गुरुकुुल प्रणालीको शिक्षा देखि बेडमा बसी, बसी प्रविधिबाट लिइने शिक्षा प्रणालीको विकास भएको वर्तमान अवस्थामा कक्षा कोठामा दण्ड रहित शिक्षाको आवश्यकता देखिन्छ । वर्तमान अवस्थामा हाम्रा विद्यालयहरू कतै वन्दी थन्काउने कारागार जस्ता त छैनन ?
बालवालिकाहरू सधै डर त्रासमा वस्नुपर्ने अवस्था त छैन ? शिक्षकको सिकाउने पुरानै शैली त छैन ? सोच्नुपर्ने भएको छ । शिक्षकहरूले अब बालमैत्री व्यवहार प्रदर्शन गरेर मात्र पुग्दैन शान्ति शिक्षा पनि दिन जरुरी छ । हरेक बालबालिकाहरूलाई दण्ड रहित वातावरणमा शिक्षा पाउनुपर्ने उनीहरूको नैसर्गिक अधिकारको प्रत्यायभूति दिलाउन जरुरी छ ।
विद्यार्थीलाई स्वतन्त्रता चाहिन्छ । हरेक व्यक्तिका आफ्नै चाहना हुन्छन् । पढ्ने र काम गर्ने शैली फरक फरक हुन्छन् । आफ्नो शारीरिक व्यवहार, पोशाक र साथीको छनोट पनि आआफ्नै रूची अनुसार हुन्छन् । कुन खेल खेल्ने, कस्तो कपाल काट्ने, कुन गित गाउने वा सुन्ने भन्ने सम्बन्धमा विद्यार्थीमा भर पर्दछ तर अभिभावक र शिक्षक भने विद्यार्थी एवं छोराछोरीलाई आफ्नो चाहना अनुसार चलाउन चाहन्छन् । आफ्नो सोचाइ भन्दा वाहिरको क्रियाकलाप देख्ने बित्तीकै छोराछोरीले गलत बाटो लिए भन्ने चिन्ता गर्न थाल्छन् र अनावश्यक दवाव दिन थाल्छन् । जसका कारण विद्यार्थीमा मानसिक तनाव उत्पन्न हुन्छ ।एउटा वालकको दैनिक जीवन सञ्चालनका लागि शिक्षकको महत्वपूर्ण भुमिका रहन्छ । बालबालिकालाई स्वतन्त्र रूपमा शिक्षण सिकाइको वातावरणमा छोडिनुपर्दछ । कुनै पनि बालक पुरै खराव हुँदैन उसको एक बानी मात्रै खराब हुनसक्छ । सोही खराब बानीका आधारमा बालकले शारीरिक सजाँय र मौखिक दुव्र्यवहारको सामना गर्नुपर्ने बाध्यता देखिन्छ ।
शिक्षाको ज्योती प्राप्त गर्नको लागि विद्यालयमा गएका विद्यार्थीको शिक्षा लिने आँखाको ज्योती नै गुम्ने गरी सजाय गरिएका घटनाहरु पनि देखिएका छन् । कानको जालीनै विग्रने गरी विद्यार्थीहरु पिटिएका समाचारहरु पनि आइरहेका छन् । यी व्यवहारले दण्डरहित विद्यालयको अवधारणालाई सघाउँदैनन् । अपराध गरेर जेल वसेको अपराधीलाई जस्तो शरीरभरी निलडाम हुने गरी पिट्नुका साथै हात भाँचिने तरिकाले सजाँय पाइरहेका घटनाहररू पत्रपत्रिका तथा समाचारमा आइरहेको अवस्थामा शिक्षाका लागि बनेका नीति, नियम र कानूनको पालना गर्नुपर्ने कुरा महत्वपुर्ण देखिन्छ । यसैकारण विद्यालयमा भयरहित तथा दण्डरहित सिकाइ वातावरण र बालमैत्री सिकाइ व्यवहार वर्तमानको आवश्यक्ता रहेको छ ।
आज पनि कतिपय शिक्षकहरू कक्षा कोठामा जाँदा लठ्ठी लिएर तर्साउने तरिकाले जाने गर्दछन् । स साना बालवालिकाहरूलाई लठ्ठीको त्रासमा शिक्षा ग्रहण गर्न असम्भव हुन्छ । लठ्ठी त पशुका लागि हो । मानव त विवेकशील प्राणी भएको हुनाले विद्यार्थीलाई सजाँय दिनु भन्दा उसको मनोवैज्ञानिक अवस्था वुझेर सम्झाउन सक्नुपर्छ । एक्काइसौं शताब्दीको शिक्षण सिकाइमा एउटा लठ्ठीभन्दा उसको व्यवहारलाई बुझेर शिक्षण कार्यमा लाग्नु पर्ने देखिन्छ ।
एक सर्वेक्षण अनुसार एउटा बच्चा जन्मदा तीस प्रतिशत मस्तिष्कको विकास भइसकेको हुन्छ । त्यही बालक पाँच वर्षको हुँदा नब्बे प्रतिशत मस्तिष्कको विकास भैसकेको हुन्छ । त्यसैले पाँच वर्ष पूरा भएपछि बालबालिकालाई विद्यालयमा भर्ना गरिन्छ । बाँकी दश प्रतिशत मस्तिष्कको विकास ९ देखि १६ वर्षसम्म हुने गर्दछ । यो समयमा बालवालिकालाई दण्डवाट भन्दा उसको मनोवैज्ञानिक अवस्था अनुसार भयरहित बालमैत्री वातावरणमा शिक्षा दिनसकेमा मात्रै शिक्षण प्रभावकारी हुनसक्छ । कलिला दिमागमा पशुलाई जस्तो व्यवहार कक्षा कोठामा प्रर्दशन गरेमा पछि त्यसको असरले बालबालिकामा हिंसात्मक , असहयोग र असमझदारी भावना विकसित हुन्छ, जसको कारण बालकहरुको भविष्यमा अन्योलता उत्पन्न हुनजान्छ । सभ्य समाजको कल्पना यसरी संभव हुँदैन ।
विद्यालयमा दिइने दण्ड
आज विद्यालयले विद्यार्थीलाई पिट्ने, कान तान्ने, कक्षाकोठा बाहिर दिनभर उभिन लगाउने, घुँडा टेकेर हिंड्न लगाउने, वेञ्चमा उभिएर वस्न लगाउने, उठबस गर्न लगाउने, बालबालिकाहरूलाई प्र. अ. कार्यकक्षमा पठाउने, कक्षामा उभिन लगाउने जस्ता शारीरिक सजायँ दिएको पाइन्छ । त्यस्तै गरी गाली गर्ने, होच्याउने, जिस्काउने, तनावमा वा छटपटी सिर्जना हुने अवस्था सिर्जना गर्ने, जनावरका नाम दिएर गाली गर्ने, अपशव्दहरू प्रयोगमा ल्याउने जस्ता मानसिक दण्ड दिने गरेको पाइन्छ । यी दुबैथरी दण्ड आजको शैक्षिक प्रणालीमा वर्जित मानिन्छन् ।
दण्ड दिनुपर्ने कारण
विद्यालयमा स्कुल पोशाक नलगाई उपस्थित हुनु, समयमा विद्यालय नआउनु, गृहकार्य नगरी आउनु, विद्यालयका नियम पालना नगर्नु, शिक्षकलाई आदर भाव नराख्नु, कक्षा कोठामा झैझगडा गर्नु, कक्षा छोड्नु, साथीहरूका सामान चोर्ने, कक्षा कोठामा पढाइरहँदा निदाउने, कक्षामा कापी च्यातेर साथीहरूलाई जिस्क्याउनु, सोधेको समयमा ठीक उत्तर दिन नसक्नाले, समयमा शुल्क तिर्न नसक्नाले, अरूलाई झुक्याउने तथा जिस्क्याउने गर्दा विद्यार्थीले प्रायः दण्ड पाउने गरेको छ । तर आजको चासो विद्यार्थीलाई यी नकारात्मक भावतिर बिमुख हुने गरी शिक्षा दिनु हो, न कि दण्ड दिएर उनीहरुको आदत सुधार्ने तरिका कुनै पनि हालतमा उपयुक्त होइन ।
मनोवैज्ञानिक असर
यसरी दण्ड दिंदा विद्यार्थीमा कम सोच्न सक्ने, पढाइमा रूचीको कमी, उत्सुकतामा कमी, तनाव सिर्जना हुनु, समयमा कार्य नगर्नु, एकान्त मन पराउनु, एकोहोरोपना देखिनु, झगडालु स्वभाव हुनु, अस्वभाविक रूपमा खाना खानु, खाने वा सुत्ने समय तालिका नहुनु, लागू पदार्थ सेवन गर्ने, मनोरोग तथा आत्म हत्या गर्न खोज्ने आदि जस्ता नकारात्मक भावहरु देखिन्छन् । यसैले विद्यार्थीमा नकारात्मक असर पर्ने गरी सजायँ दिने छुट कसैलाई पनि हुनु हुँदैन ।
सरकारी नीति
नेपालको संविधान २०७२ को भाग ३ मा स्वतन्त्रताको हकमा विचार र अभिव्यक्तिको स्वतन्त्रता उल्लेख गरिएको छ । साथै संविधानको धारा ३९ मा बालबालिकाको हकको व्यवस्था उल्लेख गरिएको छ । प्रत्येक विद्यार्थीले आफुलाई भौतिक रूपमा सुरक्षित, संवेगात्मक रूपमा रमाइलो, मनोवैज्ञानिक रूपमा मनोवल उच्च महशुस गराउने वातावरण भएको विद्यालयलाई बालमैत्री विद्यालय भनिन्छ । जसमा बालबालिकाले आफ्नो गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको विद्यालय हो भनी बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले परिभाषित गरेको छ ।
शिक्षण सिकाइको क्रममा बालबालिकालाई शारीरीक तथा मानसिक सजाँय दिनु हुँदैन भन्ने चेतना जगाउनका साथै गैर हिंसात्मक विधिहरूको खोजी गर्नुपर्ने देखिन्छ । अझै पनि कतिपय विद्यालयहरूमा बालमैत्री शिक्षा, भयरहित शिक्षाको अवधारणा रहेता पनि शिक्षाको नाउँमा भय सहित शिक्षा चलिरहेको अवस्थालाई निर्मुल गर्न आवश्यक छ । यसका लागि नारामा होइन, व्यवहारमा दण्ड रहित विद्यालय देखिन आवश्यक छ ।
लेखक ढकाल र पौडेल नेपाल सरकारका कर्मचारी हुन्, पौडेल दशौं तहका र ढकाल सातौं तहका अधिकृत कर्मचारी हुन् ।
प्रतिक्रिया