Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

पढाउन नसक्नेलाई किन शिक्षक बनाएको मन्त्री ज्यू ?

शुक्रबार, ०४ मंसिर २०७२

काठमाडौं - शिक्षा मन्त्रालयद्धारा प्रतिवद्धता पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा अधिकांश सुझाव शिक्षकका समस्या र शिक्षकका कारण उत्पन्न समस्या समाधानका लागि मन्त्रालयले गर्नु पर्ने कार्यका बारेमा केन्द्रित भए ।
मन्त्री गिरिराजमणि पोखरेलले प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेपछि निमित्त सचिव डा. लवदेव अवस्थीले उपस्थित ब्यक्तिहरुलाई प्रश्न र सुझाव राख्न फ्लोर ओपन गरेका थिए ।

प्रतिवद्धता पत्र पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

डिल्लीबजार स्थित पद्म कन्या उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने जुही यास्मिनले मन्त्रीलाई सोधिन् – 'सरकारी स्कुलमा किन अँग्रेजी माध्यामबाट पढाई हुन सक्दैन मन्त्री ज्यू ? यदि शिक्षकले अँग्रेजीमा पढाउन नसक्ने हुन् भने किन शिक्षक बनाईयो ?'

शिक्षक कृष्णराज कट्टेलले निजामतीमा प्रबेश गर्ने श्रेणी विहीन कर्मचारी विशिष्ट तह सम्म पुग्ने तर शिक्षकको अपग्रेट किन नभएको होला भन्ने प्रश्न गरे । शिक्षक तथा कर्मचारीको स्वास्थ्य परीक्षणका लागि छुट्टै ब्यवस्था गर्न उनको माग थियो ।

'निजामती कर्मचारीको उपचारका लागि निजामती अस्पताल हुने, प्रहरीकालागि छुट्टै अस्पताल हुने, आर्मिका लागि पनि छुट्टै अस्पताल हुने तर हामी शिक्षकका लागि अस्पताल चाँहिदैन मन्त्री ज्यू ?' शिक्षक महासंघका उपाध्यक्ष मधु तिमिल्सिनाले प्रश्न गरे 'शिक्षक बिरामी हुँदैनन् मन्त्री ज्यू ?'

शिक्षक संगठन काठमाडौंका राजकुमार केसीले लियन शिक्षकलाई हटाएर मन्त्रालयले ठूलो अन्याय गरेको बताउँदै शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधा देखि समस्या समाधानमा ध्यान दिन आग्रह गरे । 

सहभागिहरुले मन्त्रीबाट आफ्ना प्रश्नको उत्तर आउने अपेक्षा गरेपनि मन्त्रीले ब्यक्तिगत रुपमा कसैको पनि उत्तर दिएनन् ।

कार्यक्रममा सहभागिहरुले शिक्षकका समस्या सहित तराई क्षेत्रको पठन पाठनमा आएको अवरोध, नीतिगत त्रुटि र सच्याउनु पर्ने कुराहरुका बारेमा प्रतिकृया र प्रश्न सोधेका थिए । मन्त्रीले तिनीहरुको पनि उत्तर दिएनन् । मन्त्री पोखरेलले शिक्षा मन्त्रालयका काम मार्फत् भोलिका दिनमा यी सबै कुराको सम्बोधन हुने बताए ।

प्रकाशित मिति २०७२ मंसिर ४ गते

प्रतिक्रिया