Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

राम्रो विद्यालय खोज्दै जनप्रतिनिधि, शिक्षकलाई १५ महिनाको तलब दिएको देखेर छक्क !

मंगलबार, २८ माघ २०७६
भक्तपुर - 'देशका अन्य ठाउँका सामुदायिक विद्यालयका शिक्षकहरुले १३ महिनाको तलब पाउँछन् हाम्रोमा त १५ महिनाको पाउँछन् ।'
 
भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले यसो भनिरहँदा विद्यालय अवलोकनमा आएका ककनी गाउँपालिका, नुवाकोटका जनप्रतिनिधि र शैक्षिक सरोकारवालाहरु छक्क परे ! 
 
एक दिन पनि गयल नहुने शिक्षक र कारणवस शिक्षक अनुपस्थित भएर खाली भएको कक्षामा जाने अर्को शिक्षकलाई पनि थप पैसा दिने गरेको प्रजापति सरका कुरा सुने पछि विद्यालय अवलोकनमा आएकाहरुले शायद कुरा बुझे – विद्यालय राम्रो हुन शिक्षक खुसी हुनु पर्दो रहेछ । विद्यालय प्रशासन र व्यवस्थापन समितिको स्पष्ट योजना सहित काम प्रतिको निस्वार्थ भाव अनी विद्यार्थी र कक्षाकोठा प्रति शिक्षकको निष्ठा नै विद्यालय सफल हुने पहिलो खुट्किलो रहेछ ।  
 
संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेसँगै आफ्ना क्षेत्रका विद्यालयलाई पनि कसरी राम्रो बनाउन सकिन्छ भन्ने ध्येय बोकेर अवलोकन भ्रमणमा निस्केको सो टोलीलाई विद्यालयले गरेको कार्यबारे बताउँदै गर्दा भवानी माविका प्रधानाध्यापक शंकरप्रसाद लोहनीले सोधि हाले – विद्यालय राम्रो कसरी बनाउने ? 
 
'कहिलै पनि कक्षा खाली नहुनु, अतिरिक्त कक्षा सञ्चालन गर्नु, विद्यालय बन्द नहुनु, सहयोगको नाममा जस्तो पायो त्यस्तो सहयोग नलिनु, विद्यालय राम्रो बनाउनु पर्छ भन्ने विषयमा स्थानीय सहित सरोकारवालामा सहयोगको भावना र साथ रहनु आवश्यक छ' – सरल भाषामा प्रजापति सरले उपाय बताए । 
 
विद्यालयको अवलोकनका लागि आएका गाउँपालिकाका ३९ विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षाका कर्मचारी र जनप्रतिनिधि गरी ७० जनालाई समूह बनाएर विद्यालय घुमाईएको थियो । विद्यालय घुम्दै गर्दा प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र सहायक प्रअ प्रजापतिले विद्यालयका प्रत्येक भवन निर्माणका संघर्ष, इतिहास र दुःख सुनाए । उतिखेर जति दुख भए पनि आजको उपलब्धिले फुरुङ्ग रहेका धन्छा र प्रजापतिका उत्साह देख्दा सहभागीहरुले मुखामुख गर्दै भने – 'स्कुल त दुःखले नै बनेको रहेछ ।’
 
विद्यालय घुमिसके पछि  एकै ठाउँमा भेला भएको उक्त टोलीलाई विद्यालयको इतिहास र वर्तमानका बारेमा प्रधानाध्यापक धन्छा, सहायक प्रअ प्रजापतिले जानकारी दिएका थिए । वागमति प्रदेशको नमूना विद्यालय अवलोकनका लागि आएकाहरुले विद्यालयको इतिहास, वर्तमान अवस्था र विद्यालयलाई उत्कृष्ट बनाउन भईरहेका प्रयासबारे जानकारी पाए । 
 
सूर्य आधारभूत विद्यालयकी प्रधानाध्यापक वसन्ती ठकुरीले वागीश्वरीबाट आफूले धेरै कुरा सिकेको र विद्यालयको शैक्षिक उपलब्धि, शैक्षिक वातावरण र व्यवस्थापन सुधारमा आफूले पनि यस्तै अभ्यास लागू गर्न सक्दो पहल गर्ने बताइन् । 
 
विद्यालय तहमा जारी निजी लगानीका कारण शिक्षा पनि व्यापार भएसँगै पछिल्लो समय सामुदायिक विद्यालय भनेका हुँदा खानेका सन्तानले मात्रै पढ्ने विद्यालय हुन् भन्ने मानक निर्माण हुँदै गएको छ । लामो राजनीतिक संघर्ष पछि बदलिएको व्यवस्था र त्यसले निर्माण गरेको संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत मात्रै राखेको छैन, समाजवाद उन्मुख समाज निर्माणको परिकल्पना समेत गरेको छ । आधारभूत तह सम्म निशुल्क र अनिवार्य तथा माध्यमिक तह सम्म अनिवार्य हुने गरी संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत व्यवस्था गर्दा पनि विद्यालय शिक्षा मार्फत् व्यापार जारी छ । यसले संविधानमा उल्लेख समाजवाद उन्मुख समाज निर्माणको भाषा कालो अक्षर मात्रै भएको भन्दै आलोचना जारी छ । 
 
तर बागीश्वरीको यथार्थ बेग्लै छ – ‘यहाँ पिउन देखि शिक्षक सम्मका सन्तान पढ्छन् ।’
 
धन्छा सरले यसो भनिरहँदा ककनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष घननाथ बजगाईंको प्रतिकृया थियो – वागीश्वरीका शैक्षिक अभ्यासहरु लोभ लाग्दो रहेछ, अब हाम्रा ठाउँका विद्यालयमा पनि यीनै अभ्यास शुरु गर्नु पर्छ । 
 
राम्रो गरिरहेका विद्यालयको अध्ययन अवलोकन गराएर विद्यालयको नेतृत्वकर्ताहरुलाई उत्साह दिन भ्रमण गराएको जनाउँदै उनले ६ दिने भ्रमणको क्रममा चितवन, बुटवल, पोखरा लगायतका ठाउँमा रहेका नमूना विद्यालयहरुको पनि अवलोकन गर्ने कार्यक्रम रहेको बताए । 
 
वि.सं २०१५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको बागश्विरी वि.सं २०३० मा निमावि, र २०३७ मा मावि, २०६१ म उच्च मावि (कक्षा ११ र १२ ) भएको हो । कलेजमा स्नातक र स्नातकोत्तर तहसम्मको कक्षा सञ्चालनमा छन् । विद्यालयमा ३ हजार ५ सय विद्यार्थी अध्ययन गरिरहेको तथ्याङ्क छ । अँग्रेजी माध्यमबाट पढाइ हुने यस  विद्यालयमा पूर्व प्राथमिक कक्षामा २० जना विद्यार्थी बराबर दुई जना शिक्षक छन् । 
 
वागीश्वरीका बारेमा केही बर्ष अघि लेखिएको यो सामग्री पनि पढ्नुहोस् : शिक्षकले आफैंलाई पत्याउँदा
 

प्रतिक्रिया