Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

थाक पुस्तकालयको पुनःनिर्माण गर्न माग

शुक्रबार, ०४ मंसिर २०७२

मुस्ताङ, ४ मङ्सिर । मुस्ताङको पुरानो र ऐतिहासिक महत्व राख्ने थाक पुस्तकालयको भवन पुनर्निर्माण गरिदिन स्थानीयले माग गरेका छन् ।  विसं २००७ सालमा टुकुचेबासीको पहलमा ढुङ्गा र विशेष किसिमको माटोबाट निर्मित पुस्तकालयको भवन चर्किएर भत्किने अवस्थामा पुगेको छ । 

भवनको छानोबाट पानी चुहिने भएपछि दुई महिनादेखि पुस्तकालयमा रहेका पुस्तक नजिकै रहेको रेडक्रसको भवनमा राखिएका छन् । नेपालमा प्रजातन्त्र प्राप्तिसँग जोडिएको पुस्तकालयको भवन पुनर्निर्माण गर्न स्थानीयले माग गरेका छन् । 

थाक पुस्तकालय व्यवस्थापन समितिका कोषाध्यक्ष पथबहादुर थकालीले प्रजातन्त्र स्थापना भएको सालमै स्थापना भएको पुस्तकालयको ऐतिहासिक महत्व रहेको बताएका छन् ।  “हाम्रा समाजसेवी एवम् शिक्षाप्रेमी नरसिंहभक्त तुलाचनको नेतृत्वमा स्थापित पुस्तकालयले जिल्लामा शैक्षिक जागरण ल्याएको हो, कोषाध्यक्ष थकालीले भने, “सरकारले पनि हेर्नुप¥यो र अन्य सामाजिक सङ्घसंस्थाबाट पनि सहयोगको अपेक्षा गरेका छौँ ।” 

पुस्तकालयको नयाँ पक्की भवन निर्माण गर्न स्थानीयले जिल्ला विकास समितिलाई समेत आग्रह गरेका छन् ।  पुस्तकालयमा विद्यालयका पुस्तकदेखि धर्म, साहित्य, कला र ऐतिहासिक महत्वका सात हजार पुस्तक छन् । “एक वर्ष अघिसम्म पानी खासै चुहिने थिएन, तर यसवर्ष पटक–पटक परेको हिउँले थप समस्या भएको हो, कोषाध्यक्ष थकालीले भने ।  

नयाँ भवनलाई रु ६० लाख बजेट आवश्यक पर्ने पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ । पुस्तकालयमा पुस्तक र आन्तरिक व्यवस्थापनमा रिड नामक शैक्षिक संस्थाले निरन्तर सहयोग गर्दै आएको छ । स्थानीयको पुस्तकालयप्रतिको लगावकै कारण रिडले थाक पुस्तकालयलाई दुई पटकसम्म उत्कृष्ट पुस्तकालयको पुरस्कार प्रदान गरेको थियो । 

टुकुचे गाविसका सचिब टोपबहादुर ढुंगानाले गाविसले चालु आर्थिक वर्षमा पुस्तकालय भवन मर्मतसम्भारका लागि रु ५० हजार रकम विनीयोजन गरेको बताए ।  “तर, यति रकमले केही पनि हुदैन, इलाका परिषद्बाट हामीले प्राथामिकतामा राखेर जिविसमा माग गरेका छौँ,” सचिब ढुङ्गानाले भने, “जिल्लाकै धरोहर पुस्तकालय भएकोले सबैले सहयोग गर्ने विश्वास छ ।” 

(रासस)

 

प्रतिक्रिया