विद्यालय तहमा विद्यार्थी मूल्यांकन आलोचित छ । मूल्यांकन प्रक्रिया अहिले आएर मात्र विवादित बनेको भने होइन । विगतमा पनि विद्यालय शिक्षाको अभिन्न अंग मानिएको मूल्यांकन प्रणालीमा बारम्वार प्रश्न उठेकै हो । पछिल्लो अवस्थामा लेटर ग्रेडिङ पद्दति पनि आलोचनामुक्त हुन सकेन । विद्यार्थीले लगभग वर्ष दिन पढेको सिकेको कुराको मूल्यांकन एक दिन दुई घण्टाको पेपर पेन्सिल टेष्टमा संकुचन भनेको पक्कै वैज्ञानिक नभएकै हो । हामी हिजोको पढाई होइन, अहिले त सिकाइ केन्द्रित हुनुपर्छ भनिरहेका छौं । विद्यार्थी पनि पढ्न जाने नभई सिक्न जानुपर्छ भनेर हामीले वकालत गरिरहेका छौं । अर्कोतर्फ सैद्धान्तिक परीक्षामा ई ग्रेड ल्याउने विद्यार्थीले सोही विषयको प्रयोगात्मकमा भने ए प्लस पाएको भनेर प्रयोगात्मक परीक्षा भनेको नाम मात्र हो, सही अर्थमा विद्यार्थीको सिकाइ सीप जाँच्ने काम नभएको आरोप लागेकै छ र यस आरोपमा रहेका सत्यता पनि उत्तिकै छ ।
१. हाल पूर्व प्राथमिक तह देखि कक्षा ३ सम्म दुई घण्टे पेपर पेन्सिल टेष्ट लिएर होइन, नियमित मूल्यांकन गरेर अर्थात् निरन्तर मूल्यांकन प्रणाली मार्फत् कक्षा प्रमोशन गर्ने भनिएता पनि व्यवहारमा यो पद्दति नाम मात्रको छ । यद्यपि यो विधि धेरै मुलुकमा प्रचलित र वैज्ञानिक पनि हो । परम्परागत मूल्यांकन प्रणाली तोड्न नसक्ने मानसिक समस्या पनि यो विधिको बाधक नै हो ।
त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक परीक्षाको नाममा स–साना नानीहरुले लिखित परीक्षामा बसेनन् भने हाम्रा अभिभावकले विद्यार्थीको जाँच नै नभएको भन्ने गर्दछन् । यो परम्परागत सोचमा परिवर्तन नहुँदा समस्या बनेको छ । विद्यार्थी र शिक्षकमा पनि यो धारणाले भित्रै सम्म जरो गाडेको छ । यस तहमा मूल्यांकन गर्दा साप्ताहिक विधि अर्थात् एक सातामा एक दिन मूल्यांकन मात्र गर्ने गरी विधि बनाउन सकिन्छ । एक शैक्षिक सत्रमा कम्तिमा तीस दिन विद्यार्थी मूल्यांकनका लागि निर्धारण गर्दा राम्रो हुन्छ ।
सम्बन्धित कक्षामा पाठ्यक्रमले निर्धारण गरेको विषयगत सिकाइ उपलब्धिको मापन नै परीक्षा हुनुपर्छ । न्यूनतम उपलब्धि हासिल गर्न असक्षम विद्यार्थीले सोही कक्षामा अर्को वर्ष बस्नुपर्ने हुन्छ । उदार कक्षोन्नतिको नाममा वर्ष पुगे पछि कक्षा चढाउने भन्ने धारणा स्वयममा गलत त छ नै, धारणा र दृष्टिकोण पनि त्रुटीपूर्ण नै हो ।
२. कक्षा ४ र ५ मा निरन्तर मूल्यांकन अन्तर्गत पचास प्रतिशत र बाँकीलाई लिखित सैद्धान्तिक परीक्षामा समावेश गरिएको छ । नाम मात्रको आन्तरिक परीक्षा अर्थात् मूल्यांकन विधिबाट विद्यार्थीको यथार्थ उपलब्धि परीक्षण नभएकै हो । निरन्तर मूल्यांकनमा उच्च ग्रेड ल्याउने विद्यार्थीको लिखित परीक्षामा न्यून ग्रेड हुने कारणले कमजोर विद्यार्थी पनि कक्षा प्रमोशन हुन पुगेका छन् ।
विद्यार्थीको देखासिकी गर्ने, मिहिनेत नगर्ने, सिक्न नखोज्ने जस्ता प्रवृत्तिलाई हाम्रो आन्तरिक मूल्यांकनले प्रोत्साहन गरेको तथ्य स्वीकार्नै पर्छ । त्यस्तै कक्षा ६ र ७ मा पनि समस्या देखिएको छ । आन्तरिक परीक्षा चालीस प्रतिशत र सैद्धान्तिक परीक्षा साठी प्रतिशत हुने प्रचलन छ । यस तहका विद्यार्थीको पनि तल्लो तहकै हविगत पाइन्छ । तोकिएको सिकाइ उपलब्धि हासिल नहुँदै कक्षा प्रमोशन हुँदै आउने, उता जग कमजोर भएको कारणले माथिल्लो तहको सिकाइ उपलब्धि प्राप्त गर्न विद्यार्थी सक्षम हुँदैनन् । यो झनै गम्भीर समस्या बनेको छ ।
३. कक्षा ८ को परीक्षालाई विगतमा जिल्ला स्तरीय परीक्षा समिति मार्फत् र हाल सम्बन्धित स्थानीय तहबाट मूल्यांकन गरिने विधि रहेको छ । यो मूल्यांकन पनि औपचारिकताबाट मुक्त हुन सकेको छैन । स्थानीय तहमा बनाइने परीक्षा समितिले हतारमा प्रश्नपत्र र उत्तर पुस्तिका विद्यालयमा पठाउने अनि नतिजामा छाप लगाउन बोलाउने र ग्रेडसिट वितरण गर्ने कामबाट सही मूल्यांकन भएको छैन । कतिपय स्थानीय तहले प्रश्नपत्र मात्र नभई उत्तर पुस्तिका केन्द्रिकृत गरी परीक्षा गराई नतिजा दिने गरेको पनि पाइन्छ ।
यो कक्षामा पनि प्रयोगात्मक अंकको व्यवस्था पाठ्यक्रमले तोकेको छ । नतिजामा प्रयोगात्मकतर्फ उच्च ग्रेड र सैद्धान्तिक तर्फ न्यून ग्रेडलाई विश्लेषण गर्नै पर्ने विषय कुनै अंगले बनाएन । औपचारिकतामा दौडिरहने संस्कारमा फेरबदल खोजिएको हो, जुन भएको छैन । नतिजा प्रकाशनमा देखिने उदारता विद्यमान मूल्यांकन प्रणालीको त्रुटीपूर्ण विशेषता बनेको छ ।
४. कक्षा ९ र १० मा गणित विषय बाहेक सबै विषयमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । पाठ्यक्रमले पचहत्तर प्रतिशत मात्र सैद्धान्तिक परीक्षा र पच्चीस प्रतिशतलाई प्रयोगात्मक गरी विभाजन गरेको मूल्यांकन प्रणालीले विद्यार्थीको स्तर झन् ओरालो लागेको पाइन्छ । कक्षाका प्रायः सबैलाई पूर्णाङ्क नै प्रयोगात्मकमा प्रदान गर्ने, उता सैद्धान्तिकमा भने ई ग्रेड आउने अनि दुबै जोड्दा सहजै डी प्लस हुने भएकाले विद्यार्थीमा मिहिनेत गर्ने, पढाई, सिकाइ प्रति लगाव वृद्धि गर्ने संस्कार फितलो बनेको स्वीकार्नै पर्छ ।
गणितमा डी प्लस नआए पनि माथिल्लो कक्षामा प्रमोशन निश्चित छ । यस्तो अवस्थामा विद्यार्थीले थप तनाव बोक्न नचाहेको स्पष्ट हुन्छ । प्रयोगात्मक परीक्षाको मूल्यांकन वस्तुपरक र ठोस नहुने, हचुवामा पूर्णाङ्क दिने प्रवृत्ति सबैभन्दा घातक भएकै हो । यसले विद्यार्थीको वास्तविक स्तरलाई ढाकछोप गरेको हुन्छ । यो रोगको निरन्तरता कक्षा ११ र १२ मा पनि पाइन्छ । कक्षा ११ र १२ का अधिकांश विषयहरुमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । तर, व्यवहारमा भने मात्र औपचारिकता अर्थात् विधि पूरा गर्ने काम मात्र भएको पाइन्छ ।
५. प्रयोगात्मक परीक्षा पाठ्यक्रमले राम्रो नियत राखेर व्यवस्था गरेको हुनुपर्छ । यो नीतिगत सवाल हो । मूल्यांकन गर्ने जिम्मेवारी शिक्षककै हो, यसमा दुईमत छैन । सम्बन्धित विषय शिक्षकले आफ्नो विषयको यथार्थ मूल्यांकन गर्ने हो भने यो समस्या स्वतः हल हुन्छ । हुन त प्रयोगात्मकमा उत्तम ग्रेड ल्याउने सैद्धान्तिकमा पनि राम्रो र उत्तिकै गर्छ भन्ने छैन भन्नेहरु पनि पाइन्छन् । तर, त्यो तर्कको लागि तर्क मात्र हो । जुन विद्यार्थीले प्रयोगात्मकमा २५ पूर्णाङ्कमा त्यति नै अर्थात् २५ नै ल्याउँदा सैद्धान्तिक ७५ पूर्णाङ्कमा कम्तिमा ४० को अपेक्षालाई अन्यथा भन्न मिल्दैन । तर, व्यवहारमा त यस्तो छैन । तसर्थ यो विद्यमान प्रयोगात्मक मूल्यांकनमा शिक्षक नै जिम्मेवार हो, त्यो जिम्मा लिनैपर्छ । सैद्धान्तिकमा ग्रेड नपुगेर वा फेल भएर उही विषय एउटै विद्यार्थीले चार पटकसम्म जाँच दिएको तथ्य यहाँ भुल्न सकिन्न । उता प्रयोगात्मकमा पुनः परीक्षा दिएको विद्यार्थी विद्यालयमा पाइँदैन । जबकि प्रयोगात्मक परीक्षा उत्तीर्ण हुन कम्तिमा ४० प्रतिशत अर्थात् सी ग्रेड ल्याउनै पर्छ ।
६. पाठ्यक्रमले आज मात्र होइन, हिजैदेखि प्रयोगात्मक मूल्यांकनका आधारहरु किटानी गरेको छ । विद्यार्थीको नियमितता, कक्षा कार्य, अनुशासन, प्रोजेक्ट वर्क, गृहकार्य जस्ता शीर्षकको अतिरिक्त सुनाई र बोलाई सीपको माध्यमबाट समेत मूल्यांकन गर्न भनिएको छ । तत्कालीन एसएलसीको अँग्रेजी विषयमा २५ अंकलाई विभाजन गरी सुनाई र बोलाई सीपको सम्बन्धित परीक्षा केन्द्रहरुमा नै गएर प्रयोगात्मक परीक्षा सञ्चालन समिति मार्फत् मूल्यांकन गरिन्थ्यो । यद्यपि उक्त परीक्षा पनि आलोचनाबाट मुक्त हुन भने सकेन ।
औपचारिकता मात्र पूरा भयो, सही मूल्यांकन भएन भनेर बारम्बार चर्चा पाएकै हो । हाल कक्षा ११ तथा १२ मा विज्ञान, कम्प्युटर लगायतका विषयमा पनि गर्न खोजिएको छ । नीति राम्रा छन् । तर व्यवहारमा परीक्षा नाम मात्रको छ । प्रयोगात्मक परीक्षामा विषय शिक्षक जोडिने हुनाले शिक्षक नै यो परीक्षाको जिम्मेवार पक्ष हो । जब सम्म शिक्षकले सही मूल्यांकन गरेर ग्रेडिङ गर्दैनन्, तब सम्म अन्य कसैले पनि बोलेर वा लेखेर यो सुधार हुँदैन । शिक्षकलाई प्रयोगात्मक परीक्षा सञ्चालन वा मूल्यांकन गर्न आइपरेका समस्या के के हुन सक्छन् र तिनीहरुको समाधानमा अलग पारिश्रमिक खोजिएको हो वा अन्य कुनै विषयले प्रभाव पारेको छ भन्ने बारेमा गहिरिएर विश्लेषण गर्न जरुरी छ । प्रयोगात्मक मूल्यांकनको विधि नै फेर्न पर्ने वा हिजो आज चर्चामा आए जस्तो प्रोजेक्ट वर्क, कक्षा कार्य, नियमितता मात्र आधार बनाउने कि थप प्रयोग नै गरिने टास्क दिएर हेर्ने मूल्यांकन गर्ने भन्ने पनि महत्वपूर्ण विषय बनेको छ ।
७. प्रयोगात्मक परीक्षा सीपको जाँच बन्नुपर्छ । विद्यार्थीको तोकिएको सीप र ज्ञानका क्षेत्रको प्रयोगबाट मात्र यो मूल्यांकन हुनुपर्छ । पाठ्यक्रमले निर्धारण गरेको सिकाइ उपलब्धिको न्यूनतम मापदण्डमा विद्यार्थीको प्रवेश हो वा होइन यकिन हुनैपर्छ । सैद्धान्तिकमा जस्तै प्रयोगात्मकमा पनि न्यूनतम ग्रेड नल्याउनेले पुनः परीक्षा दिने लिने विधि नै तोक्नुपर्छ ।
सारमा, हामी प्रयोगात्मक मूल्यांकनको प्रभावकारिता वृद्धिको पक्षमा छौं । ठोस र यथार्थपरक मूल्यांकन गर्ने पारदर्शी आधारबाट प्रयोगात्मक परीक्षा हुनुपर्छ । विद्यमान हचुवा मूल्यांकन तत्कालै अन्त्य गर्नैपर्छ । गरेर सिक्ने सिद्धान्तलाई व्यवहारमा प्रदर्शन गर्ने प्रयोगात्मक शिक्षा र परीक्षामा वैज्ञानिकताको अपेक्षा हामी सबैको चाहना हो ।
प्रतिक्रिया