Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विद्यार्थीका माग पुरा गर्न प्रधानमन्त्रीले शिक्षामन्त्रीलाई निर्देशन दिने

आइतबार, ३१ जेठ २०७२

काठमाडौं ३१ जेठ / आन्दोलनरत विद्यार्थी संगठनका माग पुरा गर्न प्रधानमन्त्री सुशील कोइरालाले शिक्षा मन्त्री चित्रलेखा यादवलाई निर्देशन दिने भएका छन् । आफ्ना मागहरुका बारेमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी संगठनका नेताहरुलाई प्रधानमन्त्रीले यस्तो बताएका हुन् । आईतबार बस्ने मन्त्रीपरिषद् बैठकमा शिक्षा मन्त्रीसंग विद्यार्थीको मागका बारेमा आफूले सोध्ने र आवश्यक निर्णय गर्न निर्देशन दिने प्रधानमन्त्रीले बताएका छन् ।

राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण बनिरहेको बेला विद्यार्थीहरु आन्दोलनमा जान नहुने भन्दै प्रधानमन्त्रीले माग पुरा गराउन शिक्षा मन्त्रीलाई निर्देशन दिने बताएको भेटघाटमा सहभागी अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले जानकारी दिए । उक्त अवसरमा प्रधानमन्त्रीले राजनीतिक पार्टिका नेताहरुलाई पनि मागका बारेमा जानकारी गराएको नगराएको चासो राखेका थिए । विद्यार्थी नेताहरुले माग शिक्षा मन्त्रालयसँग सम्बन्धित भएकोले मन्त्री, मन्त्रालयका अधिकारीहरु र विद्यालय सञ्चालकहरुसंग बारम्बार छलफल भएको बताए । शिक्षा मन्त्रालयले गरेको सहमती पुरा गराउने वित्तिकै समस्या समाधान हुने भएकोले आफूहरु प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आएको उनीहरुले बताए ।

शनिबार सार्वजनिक गरेको विरोधका कार्यक्रम अन्र्तगत विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

भूकम्पका कारण पठन पाठन नभएको अवधिको शुल्क नलिन र शुल्कका बारेमा वैशाख  ६ गते भएको सहमती कार्यान्वयन गर्न शिक्षा मन्त्रालय संबेदनशील नहुँदा समस्या भएको विद्यार्थी नेताहरुले बताएका थिए । त्यसैले अवको आन्दोलन शिक्षा मन्त्रालयका पदाधिकारी तथा निजी विद्यालयका मालिकहरु केन्द्रित भएको विद्यार्थी नेताहरुले बताएका थिए ।

फोटो : नेविसंघ प्रवक्ता यूपी लामिछानेको फेसबुकबाट ।

प्रतिक्रिया