Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालय खुलाउन मन्त्रालयको अभियान

शुक्रबार, ०४ मंसिर २०७२

काठमाडौं ४ मंसिर / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेसका जिल्लामा शुक्रबारबाट शिक्षालय सञ्चालन गर्न दिने निर्णय गरेसँगै शिक्षा मन्त्रालयले विद्यालय पूर्णरुपमा खुलाउन अभियान चलाउने भएको छ।
९६ दिनदेखि बन्द विद्यालय पूर्ण रूपमा सञ्चालन गराउन शिक्षा मन्त्रालयले मंसिर ५ गते 'स्कुल खोलौं, शैक्षिक सत्र प्रभावित नपारौं' नाराका साथ कार्यक्रम गर्न लागेको हो। जसका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेल महोत्तरीको बर्दीवास, गौरीडाँडास्थित जनता मावि पुग्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार शिक्षामन्त्री पोखरेल महोत्तरीको जनता मावि पुगेर तराई–मधेसका आठ जिल्लाका विद्यालय सञ्चालक, शिक्षक, अभिभावक, विद्यार्थी नेता, जिल्ला शिक्षा अधिकारी, मोर्चाका पदाधिकारी तथा विज्ञको सहभागितामा कार्यक्रम गर्नेछ।

'मन्त्रीज्यू आफैँ तराई पुगेर सुरक्षित वातावरणमा विद्यालय सञ्चालन गराउन सरोकारवालासँग अन्तर्क्रिया, छलफल र सुझाव संकलन गर्नुहुन्छ,' पोखरेलका प्रेस सल्लाहकार लोचन खतिवडाले नागरिकसँग भने, 'त्यसैअनुसार विद्यालय खुलाउने निर्देशन जिल्ला शिक्षा अधिकारीलाई दिइनेछ।'

महोत्तरीको रामदास सर्वोदय उच्चमाविका शिक्षक कृष्ण चौधरीले शुक्रबारदेखि बिहानको समयमा विद्यालय सञ्चालन गर्न दिने मोर्चाको निर्णय सकारात्मक रहेको प्रतिक्रिया दिए। तराईका विद्यालयमा २५ प्रतिशत मात्र कोर्ष अघि बढेको बताउँदै उनले अब सरकार र मोर्चाले त्रासरहित र सुरक्षित वातावरण बनाउनुपर्नेमा जोड दिए। 'तराई–मधेसका विद्यालय शुक्रबारदेखि खुले पनि थप र अतिरिक्त कक्षा सञ्चालन गरे मात्र कोर्स पूरा हुन सक्छ,' शिक्षक चौधरीले आग्रह गरे, 'बिहान मात्र कक्षा सञ्चालन गरेर कोर्ष पूरा गराउनै मुस्किल पर्छ, त्यसैले विद्यालयलाई आन्दोलनबाट टाढा राखी बालबालिकाको पढ्ने अधिकार सुरक्षित पार्नुपर्छ।'

बिहीबार सिंहदरबारमा बसेको मोर्चाको बैठकले बालबालिकाको भविष्यप्रति जिम्मेवार हुँदै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको तराई–मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले जानकारी दिए।

'एलएलसी दिने विद्यार्थीको पढाइ पूरा गराउन हामी जिम्मेवार बनेर विद्यालय खोलाएका हौं,' उनले भने, 'तीन महिनाभन्दा बढी विद्यालय बन्द हुँदा पनि सरकार मधेसका बालबालिकाको भविष्यप्रति जिम्मेवार भएन।'

नागरिकमा रुबी रौनियारले खबर लेखेकी छन् ।

प्रतिक्रिया