Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

विद्यार्थी र शिक्षकमाथि आक्रमण

सोमबार, २१ पुस २०७६

काठमाडौं २१ पुस / भारतको दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालय जेएनयूमा आइतबार साँझ भएको हमलाका विषयलाई पनि आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाले स्थान दिएका छन् ।
जेएनयूमा हिंसात्मक आक्रमण  विद्यार्थी संघकी अध्यक्षसमेत दर्जनौँ घाइते शिर्षकमा कान्तिपुर दैनिकले लेखेको खबर अनुसार आक्रमणमा जेएनयू विद्यार्थी संघकी अध्यक्ष आइशी घोष समेत दर्जनौँ विद्यार्थी र शिक्षक घाइते भएका छन् ।

रुमालले अनुहार छोपेर विश्वविद्यालय परिसरमा छिरेका आक्रमणकारी अखिल भारतीय विद्यार्थी परिषद्(एबीभीपी) र राष्ट्रिय स्वयम सेवक संघ(आरएसएस) का कार्यकर्ता भएको जेएनयू विद्यार्थी संगठनले आरोप लगाएको छ। झण्डै ५० जनाको समूहमा क्याम्पस परिसरमा छिरेको नकाबधारीको समूहले विभिन्न होस्टेलभित्रै गएर विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेको थियो।

उनीहरुले फलामका रड, बेल्चा, लट्ठीलगायतका घरेलु हतियारले विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेका थिए। क्याम्पस परिसरमा पस्नेबित्तिकै उनीहरुले विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

जेएनयूमा विभिन्न विचारधाराका विद्यार्थी संगठन रहे पनि यस्तो घटना भने पहिलो पटक भएको बताइएको छ। वैचारिक बहस भए पनि क्याम्पस परिसरमा विद्यार्थी र शिक्षकमाथि यसअघि भौतिक आक्रमण कहिल्यै नभएको जेएनयूका पूर्व विद्यार्थीसमेत रहेका स्वराज इन्डियाका अध्यक्ष योगेन्द्र यादव बताउँछन्।

सत्तारुढ दल निकट विद्यार्थी संगठन एबिभीपीले भने वामपन्थी विद्यार्थी संगठनले आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएको छ।

मध्यरातसम्म जेएनयूको मुख्य गेटबाहिर सयौँ विद्यार्थीले आक्रमणकारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए। प्रहरी र क्याम्पस प्रशासनको मिलेमतोमा एबीभीपी कार्यकर्ताले आक्रमण गरेको विद्यार्थीले आरोप लगाएका छन्। प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। तर उनीहरु को हुन् भन्नेबारेमा भने केही जानकारी दिएको छैन। जेएनयूमा भएको आक्रमणको विरोधमा मुम्बईमा पनि मध्यरातमा विद्यार्थीहरु गेटवे अफ इन्डियामा आएर विरोध प्रदर्शनमा उत्रिएका थिए।

एम्स अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ। आइतबार राति नै घाइतेहरुलाई भेट्न कांग्रेस महासचिव प्रियंका गान्धी, बीजेपी नेता मिनाक्षी लेखी, विजय गोयललगायतका विभिन्न दलका नेताहरु अस्पताल पुगेका थिए ।

दक्षिण एसियाकै प्रतिष्ठित विश्वविद्यालय मानिने जेएनयूमा भएको हिंसात्मक आक्रमणको विरोध भारतमा मात्रै होइन, यस संस्थासँग जोडिएका विभिन्न व्यक्तिले घटनाको निन्दा गरेका छन्। जेएनयूका पूर्वविद्यार्थीसमेत रहेका पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले बलिउड अभिनेत्री स्वरा भाष्करको भिडियो सेयर गर्दै ‘सिकाइको पवित्र स्थललाई जोगाउन’ सबैलाई अपिल गरेका थिए।

केही दिनदेखि शुल्कवृद्धिकाे विराेधमा जेएनयूमा विद्यार्थीहरु विराेध प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया