Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

२३ करोड खर्चै भएन, सिद्धान्त घोकेरै सकिन्छ पढाइ

आइतबार, १३ पुस २०७६

काठमाडौं १३ पुस / विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक गराउन ल्याब निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूलाई रकम दिए पनि खर्च भएको छैन । नयाँ पत्रिकामा साइन्स ल्याब बनाउन त्रिविले  दिएको २३ करोड खर्चै भएन शिर्षकमा भवानीश्वर गौतमले लेखेको खबर अनुसार एउटै क्याम्पसका लागि दुई करोड रुपैयाँसम्म बजेट दिइएको छ । तर,पनि ल्याब अभावमा विज्ञानका विद्यार्थी सिद्धान्त पढेर परीक्षा दिन बाध्य छन् ।

उपकरण नदेखी परीक्षा दिने विज्ञानका विद्यार्थीको नतिजा मानविकीको भन्दा कमजोर भएको अध्ययनले देखाएको छ । उपकरण नहुँदा प्रयोगात्मक कक्षाविनै तह पूरा गर्ने क्याम्पसले समेत केन्द्रले दिएको बजेट खर्च गर्न सकेका छैनन् । गत आर्थिक वर्षका लागि त्रिविले बिएस्सी र एमएस्सी पढाइ हुने २३ आंगिक क्याम्पस र १३ केन्द्रीय विभागका लागि २३ करोड २३ लाख बजेट विनियोजन गरेको थियो । शैक्षिक उपकरण र औजार खरिद गरी प्रयोगशाला सुधार गर्न न्यूनतम २५ लाखदेखि बढीमा दुई करोडसम्म बजेट दिएको थियो । तर, कुनै पनि क्याम्पस तथा विभागले केन्द्रले दिएको रकम खर्च गर्न सकेनन् । त्यति मात्र होइन, त्रिविले पहिलो किस्तामा पठाएको रकमबाहेक थप किस्तासमेत माग गरेनन् ।

‘पहिलो किस्ताबाहेक कसैले पनि प्रयोगशाला सुधारको काममा खर्च गर्न सकेनन्, प्रगति नै नभएकाले थप रकम पनि माग गर्न सकेनन्,’ त्रिविका पूर्वरजिस्ट्रार डिल्ली उप्रेतीले भने । गुणस्तरीय जनशक्ति उत्पादन गर्ने विषयमा जिम्मेवारीबोधमा कमी भएका कारण पनि ल्याबलगायत सुधारका काम प्रभावकारी हुन नसकेको उनको भनाइ छ । त्रिविले विद्यार्थी संख्याका आधारमा रकम बाँडफाँड गरेको थियो । सयजनासम्म विद्यार्थी हुने क्याम्पसलाई २५ लाख, सयभन्दा बढी पाँच सयसम्म विद्यार्थी भएकालाई ५० लाख, हजारसम्म विद्यार्थी भएकालाई एक करोड र हजारभन्दा बढी विद्यार्थी हुने संस्थालाई दुई करोड रकम विनियोजन गरेको थियो । विनियोजित रकम कुनै पनि संस्थाले खर्च गर्न सकेनन् ।

हजारभन्दा बढी विद्यार्थी भएका त्रिचन्द्र बहुमुखी, अमृत साइन्स, पाटन संयुक्त, पृथ्वीनारायण बहुमुखी, वीरेन्द्र बहुमुखी क्याम्पसले दुई करोड अनुदान पाएका थिए । तर, ल्याब सुधारको प्रगति नहुँदा रकम खातामै थन्किएको छ । हजारसम्म विद्यार्थी भएका सिद्धनाथ विज्ञान र बुटवल बहुमुखी क्याम्पसले एक–एक करोड पाएका थिए । पाँच सयसम्म विद्यार्थी भएका मेची बहुमुखी, केन्द्रीय प्रविधि, महेन्द्र–मोरङ आदर्श बहुमुखी, महेन्द्र–बिन्देश्वर, रामस्वरूप रामसागर, ठाकुरराम बहुमुखी, महेन्द्र बहुमुखी (नेपालगन्ज), त्रिभुवन बहुमुखी, भक्तपुर बहुमुखी, पद्मकन्या बहुमुखी, महेन्द्र बहुमुखी (दाङ), धौलागिरि बहुमुखी र भैरहवा क्याम्पसले ५०–५० लाख अनुदान पाएका थिए ।

धनकुटा बहुमुखी, स्नातकोत्तर क्याम्पस, सूर्यनारायण सत्यनारायण क्याम्पसले २५–२५ लाख पाएका थिए । त्रिवि विज्ञान संकायका १३ केन्द्रीय विभागले ३० लाखको दरले अनुदान पाएका छन् । चालू आर्थिक वर्षका लागि त्रिविले विज्ञानको ल्याब विकासका लागि ११ करोड बजेट विनियोजन गरेको छ ।

त्रिविका आंगिक क्याम्पसमा सञ्चालित विज्ञानका कार्यक्रममा बेथिति रहेको विश्वविद्यालय अनुदान आयोगको अनुसन्धानले देखाएको छ । प्रयोगात्मक कक्षा हुनुपर्ने कतिपय क्याम्पसका विद्यार्थीले उपकरण नै नदेखी पढाइ सकेको पाइएको छ । केही क्याम्पसमा क्षमताभन्दा तेब्बर बढी विद्यार्थी भर्ना गर्दा विद्यार्थीले अभ्यास गरेर होइन हेरेर चित्त बुझाउनुपरेको छ ।

अनुदान आयोगले बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरूको अवस्था अध्ययन गर्न प्रा.डा. राजु खनालको संयोजकत्वमा गठित समितिले विज्ञानको अवस्था नाजुक रहेको प्रतिवेदन बुझाएको छ । समितिले त्रिविका २४ क्याम्पसमा अध्ययन गरेको थियो । समितिले ०७५ मा गरेको अध्ययन प्रतिवेदनअनुसार पछिल्ला वर्षहरूमा मानविकीतर्फको बिएभन्दा विज्ञानतर्फको बिएस्सीको नतिजा कमजोर छ ।

प्रतिक्रिया