Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

पूर्व शिक्षा सचिवको निधन, भाइरस र ब्याक्टेरिया संक्रमण फैलिएर निमोनियाका कारण

आइतबार, १३ पुस २०७६

काठमाडौं १३ पुस /  पूर्व शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको निधन भाइरस र ब्याक्टेरिया संक्रमण शरीरमा फैलिएर निमोनिया हुँदा भएको खुलेको छ । ज्वरो आएपछि श्रेष्ठलाई शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको थियो ।

नयाँ पत्रिकामा विजय कार्की र अर्जुन अधिकारीले श्रेष्ठको घटनालाई आधार मानेर चिसोमा इन्फ्लुएन्जाको खतरा, डेढ लाख बालबालिकालाई निमोनिया शिर्षकमा लेखेको खबर अनुसार चिसोकै कारण श्रेष्ठको शरीर भर निमोनियाले गम्भीर असर पुर्‍याइसकेको थियो ।

खबरमा चिसोले स्वास्थ्यमा पार्ने असरका बारमा विस्तृत उल्लेख गरिएको छ ।

केही दिनयता राजधानी काठमाडौंसहित देशैभर चिसो बढेको छ । चिसोकै कारण रुघाखोकी र निमोनियाका बिरामी बढ्नुका साथै दीर्घरोगीहरूमा गम्भीर समस्या देखिन थालेको छ । ‘फ्लु’ (इन्फ्लुएन्जा) ले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गर्छ ।

चिकित्सकका अनुसार जाडोयाम र मौसम परिवर्तनको अघिपछि मौसमी रुघाखोकीसहित ज्वरो (सिजनल इन्फ्लुएन्जा) का बिरामी बढ्छन् । रुघाखोकीले वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, अंग प्रत्यारोपण गराएका, गर्भवतीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू जोखिममा पर्छन् । सरुवारोग अस्पताल टेकुमा कार्यरत डा. शेरबहादुर पुन भन्छन्, ‘मौसमी इन्फ्लुएन्जा सामान्य रुघाखोकीको रूपमा देखा पर्छ । तर, केहीमा जटिलता देखापरी बिरामीको मृत्युसमेत हुने गर्छ ।’

उनका अनुसार इन्फ्लुएन्जाविरुद्धको खोप हरेक वर्ष रोग प्रतिरोधात्मक क्षमता कम भएका ६ महिनाभन्दा बढी उमेर समूहका जो कसैले पनि चिकित्सकको सल्लाहअनुसार लिन सक्छन् । तर, विशेष गरी ६० वर्ष उमेर पूरा भएकाले अनिवार्य रूपमा लिए राम्रो मानिन्छ । यसलाई सरकारले नियमित खोपको सूचीमा राखेको छैन । उनका अनुसार यो खोपले रुघाखोकीका कारण ज्येष्ठ नागरिकलाई मृत्युको मुखबाट जोगाउन र संक्रमण फैलन नदिन महत्वपूर्ण काम गर्छ । इन्फ्लुएन्जाविरुद्धको खोप एक हजार देखि १३ सय रुपैयाँमा लगाइन्छ ।

इन्फ्लुएन्जा ए, बी, सी र डी गरी चार प्रकारका हुन्छन् । इन्फ्लुएन्जा डी जनावरमा मात्रै पाइन्छ । इन्फ्लुएन्जा सीलाई सामान्य रूपमा लिइन्छ । तर, ए र बी ले कडा खालको रुघाखोकी, ज्वरो निम्त्याउँछ । डा. पुनका अनुसार ए को छुट्टै दुई प्रजाति हुन्छ । पहिलो एचवानएनवान पिडिएम ०९, यसलाई सर्वसाधारणले चिन्ने भाषामा स्वाइनफ्लु भन्ने गरिन्छ । अर्को एचथ्रीएनटूलाई हङकङ फ्लुले चिनिन्छ । बीको पनि भिक्टोरिया र यामागाता भन्ने दुई प्रकारका जिन हुन्छन् ।  

स्वास्थ्य मन्त्रालयका अनुसार पाँच वर्षमुनिका ३० लाख बालबालिकामध्ये १७ लाखलाई रुघाखोकी हुने गरेको छ । जसमध्ये एक लाख ५५ हजारलाई रुघाखोकीसँगै निमोनिया हुने तथ्यांकमा उल्लेख छ । कुल बिरामीमध्ये चार हजार पाँच सयमा गम्भीर समस्या देखिई अस्पताल नै भर्ना गर्नुपरेको छ ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार पछिल्लो समय नेपाल इन्फ्लुएन्जाको उच्च जोखिममा छ । ‘

इन्फ्लुएन्जा भाइरस मानव शरीरमा नाक, मुख र आँखाबाट प्रवेश गर्छ । यो भाइरस खोक्दा, हाच्छिउँ गर्दा वा निकट सम्पर्कका कारण एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । कलेजो, मुटु, मिर्गौला, फोक्सोजस्ता दीर्घरोगी, क्यान्सरको उपचार गराइरहेका बिरामीले इन्फ्लुएन्जाको खोप लिनु उत्तम हुने डा. पुन बताउँछन् ।

चिसोबाट वृद्धवृद्धालाई जोगाउने भन्दै ललितपुर महानगरपालिकाले निमोनियाविरुद्धको खोप दिने कार्यक्रमको घोषणा गरेको थियो । तर, जाडोयामको मध्यतिर आइपुग्दासमेत खोप कार्यक्रम भने सुरु भएको छैन ।

महानगरका अनुसार अब फागुन पहिलो साताबाट मात्रै खोप कार्यक्रम सुरु हुनेछ । महानगरका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीका अनुसार मंसिर पहिलो साता नै खोप कार्यक्रम सुरु गर्ने योजना थियो । तर, टेन्डर प्रक्रियामा भएको ढिलाइले कार्यक्रम प्रभावित भएको छ । यो खोपले जम्मा २१ दिन मात्र काम गर्छ । चालू अर्थिक वर्षमा ललितपुर महानगरले ६५ वर्ष पूरा भएका नागरिकका लागि निमोनियाविरुद्धको खोप दिन दुई करोड २७ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

ललितपुर महानगरले दसैँअघि नै वृद्धवृद्धालाई निमोनियाविरुद्धको खोप दिने गरी प्रक्रिया थालेकोे थियो । मन्त्रालयको खोप समितिले प्रस्ताव अध्ययन गरेपछि मात्रै अनुमति दिने हुँदा ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताए । यो प्राविधिक हिसाबमा कत्तिको प्रभावकारी छ भन्ने बुझन जरुरी छ ।

 

प्रतिक्रिया