Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

प्रधानमन्त्रीद्वारा दाहालको नियुक्ति

शुक्रबार, ११ पुस २०७६

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा. डा.पेशल दाहालको नियुक्ति भएको छ । उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले दाहाललाई नियुक्ति गरेका हुन् । निवर्तमान रजिष्ट्रार डिल्ली उप्रेतीको चार वर्षे कार्यकाल सकिए पछि उक्त पद रिक्त थियो ।

रजिष्ट्रार, विश्वविद्यालयको कर्मचारी र आर्थिक प्रशासनको जिम्मेवार व्यक्ति हुन्छ । यस अघि सामान्यतया अर्थशास्त्र वा व्यवस्थापनका व्यक्ति रजिष्ट्रार हुने प्रचलन रहे पनि यस पटक संस्कृतीमा विद्यावारिधि गरेका दाहालको नियुक्ति गरिएको छ । उनले सन् १९८६ मा भारतको वनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । 

दाहालले शुक्रबारै पदवहाली गरेका छन् । पद वहाली पछि एडुखबरसँग संक्षिप्त कुरा गर्दै दाहालले विश्वविद्यालय सुधारका लागि उपकुलपतिले तयार गरेको योजना अनुसार अघि बढ्ने उल्लेख गरे । 

'रजिष्ट्रार भनेको प्राज्ञिक मात्रै नभई व्यवस्थापकीय काम गर्ने पद भएकाले म स्वयंको योजना भन्दा पनि भिसि सरको योजना सफल बनाउने मेरो कोशिस रहन्छ' उनले भने, 'शैक्षिक सुधार, नतिजा प्रकाशसनमा व्यवस्थित प्रणाली विकास र आर्थिक पारदर्शितामा मेरो ध्यान हुने छ ।'

६५ बर्ष अघि तेह्रथुममा जन्मेका दाहाल तत्कालिन नेकपा एमालेका सकृय कार्यकर्ता हुन् । उनी प्रधानमन्त्री ओली निकट मानिन्छन् । प्रधानमन्त्रीकै रुचीमा उपकुलपति भएका बास्कोटाले आफ्नो टीममा ओलीकै निकट व्यक्तिलाई ल्याउन सफल भएका छन् । दाहाल यस अघि २ पटक सम्म विश्वविद्यालय सेवा आयोगमा सदस्य भएका थिए । उनी सेवा आयोगको सदस्य भएकै बेला बास्कोटाले प्राध्यापकको उपाधि पाएका थिए । 

बास्कोटाले दाहाल सहित त्रिविकै उच्च शिक्षा परियोजनाका पूर्व संयोजक शंकर भण्डारी र व्यवस्थापन सङकायका डिन डिल्लीराज शर्माको नाम सिफारिस गरेका थिए । 

विश्वविद्यालयको शिक्षाध्यक्ष सुधा त्रिपाठीको कार्यकाल सकिए पनि नियुक्ति हुन बाँकी छ । 

 

प्रतिक्रिया