Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

पूर्व शिक्षा सचिव श्रेष्ठको निधन

विहीबार, १० पुस २०७६

काठमाडौं - पूर्व शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको ५८ बर्षको उमेरमा निधन भएको छ । सामान्य ज्वरो आए पछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २ दिन अघि भर्ना भएका श्रेष्ठको बिहीबार विहान निधन भएको हो । उनका श्रीमती सहित ३ छोरी र १ छोरा  छन् । 

कुनै किसिमको कडा फ्ल्युले दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि रगत परिक्षणको नतिजा नआईञ्जेल यसै भन्न नसकिने चिकित्सकले बताएको पारिवारिक रुपमा निकट रहेका शिक्षा मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठले जानकारी दिए । 

'२ दिन अघि सामान्य ज्वरो आए पछि डाक्टर भगवान कोइरालासँग सर सल्लाह गरेरै टिचिङ् जानु भएको रहेछ, तर अकस्मात यस्तो घटना भयो' श्रेष्ठले भने, 'ब्लड कल्चर लगायतको रिपोर्ट नआईकन के कारणले यस्तो हुन पुग्यो भन्न नसकिने चिकित्सकले बताएका छन् ।'

बैंककमा रहेकी एक जना छोरी आए पछि उनको अन्त्येष्टिको संस्कार बारे तय हुने उनले बताए । 

सचिव भएको ४ बर्षमा उनी सबै भन्दा पहिला स्थानीय विकास र त्यस पछि लामो समय स्वास्थ्य मन्त्रालयमा सचिव थिए । उमेर हदका कारण तत्कालिन शिक्षा सचिव विश्वप्रकाश पण्डितको अवकासको एक महिना पछि श्रेष्ठ शिक्षा मन्त्रालयमा आएका थिए । २०७३ भदौ १६ गते शिक्षा सचिव हुनु अघि उनी प्रधानमन्त्री कार्यालयमा जगेडामा थिए । 

नयाँ सरकार गठन भए संगै तत्कालिन शिक्षा मन्त्री स्व. धनिराम पौडेलले उनै जगेडाका सचिव श्रेष्ठलाई मन्त्रालयमा सचिवका रुपमा भित्र्याएका थिए । 

तनहुँको गजरकोटमा २०१८ सालमा जन्मेका श्रेष्ठ २०३७ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेका हुन् । उनको पहिलो पोष्टिङ् पोखरा स्थित मालपोत कार्यालयमा भएको थियो । ०४१ सालमा नायव सुब्बा, ०४३ सालमा अधिकृत, ०५३ सालमा उपसचिव, ०६० सालमा सहसचिव र ०६९ सालमा सचिवमा बढुवा भएका श्रेष्ठसँग शिक्षा मन्त्रालयमा सचिव हुनु अघि यस मन्त्रालय अन्र्तगतका कुनै पनि निकायमा काम गरेको अनुभव भने थिएन । 

तर पनि शिक्षा मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्दै गर्दा श्रेष्ठले शिक्षा भनेको सामाजिक क्षेत्र भएको र यसमा राज्यको दायित्व महत्वपूर्ण हुने भएकाले यस तर्फ आफ्नो ध्यान केन्द्रित हुने एडुखबरसँग बताएका थिए । 

शिक्षा क्षेत्रको नियमन तथा सामुदायिक शिक्षाको गुणस्तरीयता अभिवृद्धिमा ध्यान दिने 

उनको कार्यकालमा शिक्षा प्रशासनको दैनिक कार्य भन्दा माथि उल्लेख गर्न लागयकको काम भने भएन । सचिवको पदावधि सकिए पछि २०७४ कात्तिक २ गतेबाट निवृत्त भएका श्रेष्ठले निजामती सेवाबाट विदाई हुँदै गर्दा एडुखबरसँगकै कुराकानीमा शिक्षा भनेको सहमतीको पोको रहेको जसलाई खोल्दा खोल्दै अलमलमा समय वितेको स्विकार गरेका थिए । 

जाँदा जाँदै शिक्षा सचिवले भने 'सहमतीको पोको' मै अलमल

श्रेष्ठ पछि सरकारले २०७४ कात्तिक ६ गते मधुप्रसाद रेग्मीलाई शिक्षा सचिव बनाएको थियो ।  

प्रतिक्रिया