Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

थप चारले पाए क्यूएए प्रमाणपत्र

बुधबार, ०९ पुस २०७६

काठमाडौं ९ पुस / विश्वविद्यालय अनुदान आयोगले चार सामुदायिक क्याम्पसलाई संस्थागत गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्यूएए) प्रदान गरेको छ। विश्वविद्यालय अनुदान आयोगले ती क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गरेको हो।

नेपाल समाचारपत्रमा गुणस्तरमा अब्बल सामुदायिक क्याम्पस शिर्षकमा ईश्वरराज ढकालले लेखेको खबर अनुसार क्यूएए प्रमाणपत्र ललितपुर चापागाउँको जनभावना, काठमाडौं कुलेश्वरको जनमैत्री बहुमुखी, काभ्रे बनेपाको काभ्रे बहुमुखी क्याम्पस र महेन्द्रनगरको कञ्चन विद्या मन्दिरलाई दिइएको हो।

क्यूएएमा छनोट भएकामध्ये जनभावना चार वर्षअघि प्रक्रियामा गएको थियो। जनमैत्री नौ वर्षअघि प्रक्रियामा गएको थियो। उच्चशिक्षा परियोजनाअन्तर्गत सञ्चालित सो कार्यक्रममार्फत क्यूएए प्रमाणपत्र पाएका क्याम्पसले विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा रकम पाउनेछन्।

एउटा विद्यार्थीले ग्र्याजुऐट भए पाँच वर्षभित्र ८० हजारका दरले कलेजले रकम पाउनेछन्।उक्त रकम क्याम्पसको भैतिक, शैक्षिक, प्रशासनिक, पाठ्यक्रम सुधारमा प्रयोग हुनेछ।जनभावना सामुदायिक क्याम्पसका प्रमुख शिवराज सञ्जेलले लामो समयको प्रयासपछि प्रमाणपत्र पाउन सफल भएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘आठवटा बेन्चमार्फत सोधिएका १ सय २० इन्डिकेटरमा सोधिएको प्रश्नको उत्तर दिएपछि त्यसको मूल्याङ्कनका आधारमा आयोगको टोलीले अनुगमन गरी प्रमाणपत्र दिन योग्य भएको घोषणा गरेपछि प्रमाणपत्र पाएका हौं।’

सोधिएका प्रश्नमध्ये करिब ५० नम्बर प्राप्त गरेपछि प्रमाणपत्र पाउन योग्य हुने उहाँको भनाइ थियो। आयोगका क्यूएए निर्देशक डा. ऋषिकेश पाण्डेले आयोगको मूल्याङ्कन र क्याम्पसको परिश्रमका आधारमा प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो।

‘हामीले मापदण्ड बनाएका हुन्छौं, सो मापदण्ड पूरा गरेपछि कलेजले प्रमाणपत्र पाउँछन्।’ –पाण्डेले बताउनुभयो। उहाँले हाल करिब ३ सय ३८ क्याम्पस प्रक्रियामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार त्रिविसँग सम्बन्धन लिएका सबैभन्दा बढी सामुदायिक क्याम्पसले क्यूएए प्रमाणपत्र पाएका छन्।

जनमैत्री क्याम्पसका प्रमुख भोला ओझाका अनुसार क्यूएए प्रक्रियामा सामेल भएर गुणस्तर परीक्षण कार्य सम्पन्न गरेपछि प्रमाणपत्र पाएको जानकारी दिनुभयो। प्रश्नको उत्तरसँगै आयोगले अनुगमन र निरीक्षण गरेपछि क्यूएए ती क्याम्पसहरूले प्रमाणपत्र पाएका हुन्।

क्यूएए पाएका क्याम्पसले कार्यसम्पादनका आधारमा रकम पाउनेछन्। जनभावना विसं २०७२ र जनमैत्री विसं २०६७ सालमा क्यूएएको लागि प्रक्रियामा गएका थिए।क्यूएए परियोजनाअन्तर्गत हालसम्म देशभरिका सरकारी, सामुदायिक तथा निजीस्तरका २९ वटा सामुदायिक क्याम्पसले प्रमाणपत्र पाइसकेका छन्।

तथ्याङ्कअनुसार सामुदायिक र निजी गरी १ हजार १ सय ६६, आंगिक ६० गरी कुल १ हजार २ सय २६ वटा क्याम्पस छन्। आयोगमा त्रिविबाट सम्बन्धन प्राप्त ४ सय ५० वटा क्याम्पस दर्ता छन्। अहिले ११ वटा विश्वविद्यालय छन्। तथ्याङ्कअनुसार ४ संस्थागत, ४ सम्बन्धन क्याम्पस र बाँकी त्रिविको सामुदायिक गरी ४० वटाले क्यूएए प्रमाणपत्र प्राप्त गरिसकेका छन्।

नेपालमा २०३९ सालबाटै सामुदायिक क्याम्पसहरू सञ्चालन गर्न थालिएको हो। त्रिविअन्तर्गत २९ क्याम्पसले प्रमाणपत्र पाइसकेका छन्। त्रिविबाहेक पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ६ र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत दुईवटा सामुदायिक क्याम्पस छन्।

आयोगले नेपालका उच्च शैक्षिक संस्थामा गुणस्तर कायम र सुधार प्रक्रिया गराई गुणस्तरको प्रमाण–पत्र प्रदान गर्न सहजीकरण गर्दै आएको छ। विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्चशिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ।

अनुदान आयोगले गुणस्तर सुनिश्चिता प्रत्यायन समितिको निर्णयपछि आयोगले चार सामुदायिक क्याम्पसलाई क्यूएए प्रमाणपत्र दिएको हो।

एलओआई पाइसकेका दोस्रो चरणमा प्रवेश गरेका क्याम्पसले विश्वविद्यालय अनुदान आयोगमा स्वाध्ययन प्रतिवेदन (एसएसआर) बुझाउनुपर्छ। आयोगले एसएसआर प्रतिवेदन विज्ञहरूको मूल्यांकन टोली पियर रिभ्यु टिम (पीआरटी)ले गरेको निर्णयको आधारमा प्रमाणपत्र दिने प्रावधान छ।

एसएसआर प्रतिवेदनका आधारमा शैक्षिक संस्थाको भ्रमण गरी संस्थाको प्रमाणीकरण गरिन्छ। आयोगले सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर बढ्दै गएपछि केही वर्षयता सरकारले सामुदायिक क्याम्पसलाई अनुदान आयोगमार्फत सहयोग गर्दै आएको छ।

आयोगले सामुदायिक क्याम्पसहरूलाई नियमित अनुदान र भौतिक अनुदान दिँदै आएको छ। नियमित अनुदान क्याम्पसको उपलब्धिका आधारमा ३ लाखदेखि १२ लाख रुपियाँसम्म हुने गरेको छ। भौतिक अनुदानतर्फ भवनलगायत पुस्तकालय, उपकरण खरिद, इन्टरनेट जडान, फर्निचर खरिदजस्ता शीर्षकमा खर्च हुँदै आइरहेको छ।

प्रतिक्रिया