घर घरमै सिंहदरबार पुग्ने चर्चाका कारण देश बन्ने कुराले मन खुसी बनाएको तीन बर्ष भयो । देशको संरचना र व्यवस्था बदलिए सँगै विद्यालय शिक्षा सञ्चालनको अधिकार घर घरमै पुग्ने भनिएका तिनै सिंहदरबार मातहत हुँदा सुधार हुने अपेक्षा उस्तै थियो । परिवर्तनले दुर दरारका सामुदायिक विद्यालयको स्वरुप फेरीएला भन्ने आशाले पनि उत्साहित बनाएको थियो ।
यो बिचमा सत्ताको स्वरुप फेरियो, लत्ताको अवस्था जस्ताको त्यस्तै !
कालेको ठाउँमा गोरे आए तर, दुर दराजका सामुदायिक विद्यालयमा देखिने परिवर्तनको कुनै संकेत आएन !
लाला बालाले सास्ति मात्र पाए !
फोटो : बाहिर भारी हिमपात कोठा भित्र परीक्षा
प्रसंग माथिल्लो हुम्लाका विद्यालयमा सञ्चालित वार्षिक परीक्षाको । विगतको अनुभवले पनि बोल्छ कि मंसिर महिनाको चिसोमा ति कलिला हात कक्रक्क पर्छन् भन्ने कुरा । गत वर्षको कुरा हो मंसिर २३ गतेबाट थालिएको परीक्षा मौसमको अनुकुलतामा पनि कोठा भित्र सम्भव नभई खुला चौरमा सञ्चालन भएको । राष्ट्रिय दैनिकका मुख्य पेजमा समेटिएका ति समाचार पनि संघीयताको कानमा परेन ! झनै यस पाली मंसिर २७ को मिति तय भयो थप कारवाही स्वरुप । कोठा भित्र उच्च भोल्टेजको फ्रिज राखे झैँ चिसो त कोठा बाहिर तारान्तारको भारी हिमपात । कठिन भुगोलको कष्टकर यात्रा । जबकी २ देखी ३ घण्टाको बाटो हिड्नु छ । त्यो पनि १२, १३ वर्षका बालबालिका ! बाटोमै चिसिएको जिउ, लट्ठिीएका हात, लरवराएको जिब्रो परीक्षामा सामेल गराउँदाको पिडा कसले बुझ्ने ?
अनुत्तरीत प्रश्नको उत्तर जवाफ खोज्नु भन्दा नखोज्नु नै जाति बनाउन खोजिएको हो ?
विगतमा परीक्षा सञ्चालन गर्दा विद्यालय, साविकको जिल्ला शिक्षा कार्यालय र सरोकारवाला बिच छलफल भई परीक्षा समिति निर्माण हुने, प्रश्न पत्रका लागि विषयगत विज्ञको टोलि बनाइने पद्धतिगत अभ्यास एकादेशको कथा पो भयो !
संघियताको अभ्यास थालिएको तिन वर्ष बित्यो सवै वडा पालिकाका विद्यालयको प्रतिनिधि सहितको छलफल त परै जाओस् हर वडाका अगुवा विद्यालय समेत यसका लागि जानकारका लायक भएनन् । प्रारम्भिक चरणमै गाउँ पालिकाबाट ल्याइएको शिक्षा नीति पनि गोप्य कोठाको टेबुल कार्य भन्दा अरु भएन, न त त्यो टेबुल नीति पाए विद्यालयले । कुनै पनि विद्यालयका शिक्षकलाई थाहा छैन कि त्यस भित्र के लेखिएको छ ? अन्य शिक्षा सरोकारका हर विषयमा कहाँ र कसको सहभागितामा छलफल भई निर्णय गरिन्छ त्यो पनि समयको गर्भमै रह्यो ।
म एक माध्यमिक विद्यालयको जिम्मेवार शिक्षकको हैसियतले शिक्षा संग सरोकारका विषयको जानकारी पाउनुपर्ने अधिकार संघियतामा या त्यो निर्माण भएको शिक्षा ऐनमा नै छैन ? न त शैक्षिक सत्र भरी पर्याप्त छलफल, न त परीक्षा तालिका प्रश्न निर्माण र नतिजा विश्लेषणमै राय सुझावको आवश्यकता !
परिणाम एउटै प्रश्नपत्रमा ३१ वटा त्रुटी त्यो पनि ग्रीडलाई बेवास्ता गरिएका प्रश्न सहितको परीक्षा, सम्पुर्ण ग्रेडको ब्याख्या नगरिएका ग्रेडसिट । शैक्षिक उपलव्धि नसुध्रिएकोमा गालिको तारो शिक्षक !
शैक्षिक सत्र नियमानुर सञ्चालन भयो भएन, शिक्षकले पेशागत मर्यादालाई भन्दा जागिरेको रुपमा उभ्यायो कि ? कुन विद्यालयले उच्च ग्रेड ल्यायो, कसले ल्याएन, पुर्वाधारको अवस्था के छ ? यि सब कुराको अनुगमन र मुल्याँकन गर्ने निकाय र जिम्मेवारी नतोकिएको वेवारिसे त पक्कै नहोला । राम्रोलाई पुरस्कार र नराम्रोलाई दण्ड नदिने परिपाटी नहुने पनि त नहोला । तर सव बेकम्मा बनायो संघियताले । हिजो सम्म त विद्यालय जिर्ण थिए ता पनि शैक्षिक उपलव्धि समयानुर सुधारान्मुखै थियो । आज हिजोका तिनै तत्थाँकलाई समाएर वर्तमानसंग तुलना गरिन्छ र भनिन्छ यति प्रतिशतले सुधार गर्यौँ । विज्ञान र प्रविधिको चुलिदोँ बेला प्राप्त हुने गरेको आजको यो तथ्याँक के सन्तुष्टि लिन लायक हो त ? जवाफ ?
म र म जस्तै शिक्षक, जनताको अभिमतबाट गहन जिम्मेबारीमा रहेका स्थानीय सरकारका जनप्रतिनिधि, विद्यालय विकासको छाँटिलो बोलिमा ठाँटिएका वि.व्य.स. सिअश, लालाबालाको उज्वल भविष्यको पर्खाइमा कठिन दैनिकि व्यतित गर्ने अभिभावक हामी सबैको साझा जिम्मेवारी भनेकै बालबालिकाको सिकाइमा सहयोग पुर्याई सजिलो बालमैत्रि वातावरण सिर्जना गरिदिने हैन र ? बाँकी त विद्यार्थी स्वयम्ले नै गर्ने हो । तर म शिक्षक झोले बने, ति अभिभावक ढोँगी बने, जनप्रतिनिधि व्यवसायी बने अनि सरोकारवालाहरु रमिते । प्रतिफल विद्यार्थी टुसा नउम्रने भटमास ।
एक त नेपालको परीक्षा प्रणाली नै अवैज्ञानिक छ । वर्ष भरीमा पढेका कुराको मुल्याँकन केही घण्टाको समयले निक्र्यौल गर्ने । शिक्षक विद्यालयमा अनुपस्थित हुन्छ निरन्तर , न्युन उपस्थितिमा पनि विषयगत पठान पाठन उसका औपचारिकता मात्र छ, अनि झ्याली पिटिन्छ कोर्ष पुरा भएको । किताव पढाएकोमा गर्व गर्छु म शिक्षक । शिक्षकले त पढाउने नभई सिकाउने हैन र ? अनि ग्रिड, स्तर र विषयवस्तुको तालमेल बिनै प्रश्न पत्र निर्माण गरी लिइन्छ परीक्षा त्यस माथि भारी हिमपात !
परीक्षामा बसेको विद्यार्थीको मस्तिष्क परीक्षाका लागि पटक्कै तयार छैन । सिकाइका लागि तयारी प्रमुख सर्त हो । अनि रुन्छ गणितको परीक्षामा १५ मिनेट नवित्दै । कारण नजानेर होइन चिसोले कक्रिएका हातबाट लिपिन उत्रिदाँ । विद्यालयले गर्न सक्ने केही हैन बस् फेरी रमिते । सहानुभुतिले उसको अन्तिम नतिजा सुधारिने हो र ? अनि विद्यार्थीले के राम्रो सिकाइ उपलव्धि ल्याउला? विद्यालयले कसरी काँचुली फेर्ला । उपलव्धि हुने र काँचुली फेर्नेमा उहि म जस्तै समयको भ्रष्टाचार गर्ने शिक्षक, सिकाइ उपलव्धि सुधार र विद्यालय स्तरोन्नतीको नाममा घर खर्च धान्नेहरु कै हो ।
विद्यार्थीको समुन्नत भविष्यका सपना, अभिभावकका व्यवस्थित घर वासका आशा संघियताको सुनामिले यसैगरी तितरवितर पारिरह्यो भने उहि पुरानै व्यथा विद्यालय जिर्णको जिर्ण, विद्यार्थी संकिर्णको संकृर्ण अनि हातमुख लाउनेहरु अजिर्णको अजिर्ण । अब यस्तो काम विद्यार्थीका लागि सहयोग कि सजायँ ?
त्यसैले सकिन्छ सहयोग गर सकिदैन सजायँ नगर ।
शाही मान्धार मा.वि. खार्पुनाथ, हुम्लाका शिक्षक हुन् ।
प्रतिक्रिया