Edukhabar
विहीबार, ०६ मंसिर २०८१
राम्रा कसरी राम्रा

खेलाडीले चर्चित बनाएको विद्यालय, सुधारमा दबाव

बुधबार, ०२ मंसिर २०७२

भक्तपुर - यो वर्ष दुई माध्यमिक विद्यालय चर्चामा छन् । एउटा काठमाडौं सितापाइलाको युवा सहभागिता माध्यमिक विद्यालय र अर्को भक्तपुरको श्री पद्म उच्च माध्यमिक विद्यालय । मुलुकभरका ६ हजार ५५ माध्यमिक विद्यालय मध्ये यि दुई विद्यालय चर्चामा आउनुको कारण भने छुट्टा छुटटै छ ।

युवा सहभागिता, राष्ट्रिय उत्कृष्ट शिक्षा पुरस्कार पाएर चर्चामा छ भने, भक्तपुरको श्री पद्मलाई अन्तराष्ट्रिय फुटबलका खेलाडी डेबिड बेक्याहमको आगमनले चर्चित बनाईदियो ।

गत कात्तिक २० गते नेपाल आएका बेक्याहमले पद्म नै किन रोजे ? सबैको चासो छ । भूकम्पले बर्षौ पुरानो भवन भत्किएको छ । मान्द्रो र जस्ताले बारबेर गरेर कक्षा सञ्चालन गरिरहेको यो विद्यालयमा बेक्याहम आएपछि विद्यार्थी र शिक्षक हौसिएका छन् । मुलुककै पुरानो मध्येको एक यो विद्यालयमा अहिले पनि हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

भूकम्पले क्षति पु¥याएको यो विद्यालयमा यूनिसेफ  लगायतका दातृ निकायले बनाइदिएको अस्थायी सिकाई केन्द्र छ । युनिसेफले विद्यार्थीलाई भूकम्पको पीडा बिर्साउन शैक्षिक र खेल सामाग्री समेत उपलब्ध गराएको थियो । भूकम्पपछि कसरी पढाउने भन्ने शिक्षकलाई तालिम समेत प्रदान गरेको थियो । विद्यालयको शैक्षिक र खेलकुद गतिविधि पनि राम्रो भएपछि युनिसेफसंग सम्बन्ध राम्रो बन्दै गएको थियो । यसको प्रतिफल बेक्याहमलाई विद्यालयमा ल्याउन सफल भएको प्रधानाध्यापक राम हाडाले बताए । ‘विश्वका प्रख्यात खेलाडीलाई विद्यालयमा ल्याउन पाउनु हाम्रो गौरव हो’ उनले भने, ‘विद्यालयलाई पनि विश्वमा चिनायो ।’
युनिसेफका ‘सद्भावना दुत’ समेत रहेका बेक्याहमले बालबालिकासंग रमाइलो गरेको र फूटबल खेलेको गतिविधिलाई बीबीसीको लागि डकुमेन्ट्री बनाउने क्रममा यो विद्यालयमा ल्याइएको हो ।

उनी विद्यालयमा आएपछि विद्यार्थीले समेत गौरव गर्ने गरेका छन् । आफू अन्तराष्ट्रिय चर्चामा रहेको विद्यालयमा अध्ययन गरिरहेको समेत ठान्छन् विद्यार्थी । बेक्याहमले आफ्ना विद्यार्थीसंग फूटबल, टेबलटेनिस खेलेर खेल प्रति हौसाएको हाडाको अनुभव छ । विद्यालयको खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा जति चर्चा छ, शैक्षिक उपलब्धी भने त्यति हुन सकेको छैन ।

बेक्याहमको आगमनले शैक्षिक स्तर उकास्न पनि दबाव दिएको शिक्षकहरु बताउँछन् । विद्यालयलाई विश्वमा चिनाएपछि सुधार गर्न आफूहरु तयार रहेको अरु शिक्षकले समेत विद्यालय प्रशासनलाई प्रतिबद्धता जनाएका छन् । विद्यार्थीको मात्रै हौसला बढेको छैन, हामी शिक्षकहरु पनि विद्यालय सुधार गर्नु पर्छ भनेर लागेका छौं २०३८ सालदेखि विद्यालयमा पढाउँदै आएका सूर्यराम धोँजु भन्छन्, पठन पाठन सुधारमा हामी प्रतिबद्ध छौं ।

कसरी शुरु हुन्छ दिन

विद्यालयमा बिहानको प्रार्थना सकिए लगत्तै शिक्षकहरु कक्षामा छिर्दैनन् । उनीहरु शिक्षक कोठामा भेला हुन्छन् । अनि विद्यालयको समस्या कहाँ छ ? कसरी समाधान गर्ने ? भनेर छोटो तर प्रभावकारी छलफल गर्छन् । कक्षागत रुपमा नै विद्यार्थीमा देखिएको समस्याका बारेमा सामुहिक छलफल गर्छन् । कमजोर विद्यार्थीको अवस्था सुधार गर्न के गर्ने भन्ने निष्कर्ष निकाल्छन् । ‘तत्काल शैक्षिक सुधार गर्छौ’ हाडाले भने, ‘सुधार गर्नु पर्ने बाध्यात्मक अवस्था भयो ।’

बेक्याहम विद्यालयमा आएपछि शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीलाई बधाई दिन आउनेहरुको पनि कमी छैन । शिक्षा मन्त्रालय, विभाग, शिक्षा कार्यालय र अन्य निकायका अधिकारीहरु हुलका हुल बधाई दिन विद्यालयमा पुग्ने गरेका छन् । बेक्याहम आउने निधो भएपछि विद्यालयले तयारी पनि राम्रै गरेको थियो । उनीसंग अंग्रेजीमा कुरा गर्न विद्यार्थीलाई पनि राम्रै तयारी गरिएको थियो ।

उनीसंग फूटबल खेल्न छात्र र छात्राको दुई वटा टोली बनाइएको थियो । हाडा आफूले पनि राम्रै तयारी गरेका थिए । उनीसंग छलफलको क्रममा बेक्याहमले यहाँ पढाउन थालेको कति वर्ष भयो ? भनेर छलफल अघि बढाएका थिए । हाडा भन्छन् ‘पढाउन थालेको कति वर्ष भयो भनेर सोधे, मैले ३० वर्ष भने । कुन बिषय पढाउने भनेर फेरी सोधे, मैले गणित भने ।’ शिक्षकको आवासगृह कहाँ छ भनेर समेत उनले जिज्ञासा राखेका थिए । आफ्नै घरबाट धाउने गरेको सुनाएपछि बेक्याहमले धेरै राम्रो भन्दै प्रशंसा गरेका थिए । विद्यार्थीले शुल्क तिर्नु पर्ने नपर्ने पनि सोधेका थिए ।

तीन घण्टा विद्यालयमा बिताएका बेक्याहमले कक्षाकोठा, पुस्तकालय, शौचालय लगायत हेरेका थिए । इसीडीका बालबालिकासंग फुटबल खेले । तीन कक्षाका विद्यार्थीसंग तातो आलु खेल पनि खेले ।

अरु भन्दा फरक

विद्यालयको शैक्षिक स्तर मुल्याङ्कनको आधार एसएलसीलाई मान्ने हो भने पछिल्लो पाँच वर्षमा उत्तीर्ण दर ६१ प्रतिशत भन्दा कम छैन । ०६७ मा ६१.९७ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । ६८ मा बढेर ७० पुग्यो । ०६९ मा ८१.८१ सम्म पु¥याउन सफल भयो । तर, ०७० मा ६४.५५ मा झरयो । गत वर्षको उत्तीर्ण प्रतिशत ६६.२३ प्रतिशत पुग्यो । ‘धेरै विद्यार्थी हुदाँ पास प्रतिशत कम देखिएको हो’ हाडाले भने ।

विद्यालयमा प्रवेश गरिसकेको शिक्षक बाहिर जाँदा अनिवार्य रजिष्टरमा लेख्नु पर्ने नियम छ । कति बजे गएको र कति बजे फर्केको भन्ने उल्लेख गर्नु पर्ने हुन्छ । बिदा बस्दा पनि अगाडी नै स्वीकृत गराउनु पर्ने हुन्छ । त्यस्तै बिषयगत शिक्षकको अनुपस्थितिमा कक्षा खाली भयो भने अर्को शिक्षकले पढाए बापत थप रकम पनि दिने व्यवस्था छ । खाली पिरियडमा प्राथमिक तहमा पढाए ५०, कक्षा ६ देखि ८ सम्म पढाए ७५, ९ र १० कक्षा पढाउँदा एक सय रुपैया दिने व्यवस्था मिलाएको हाडाले बताए । ‘यस्तो व्यवस्था गरेपछि कुनै पिरियड पनि खाली हुदैन’ उनले भने ।

विद्यालयमा सुधारको प्रक्रिया पनि सुरुवात भएको छ । ‘ब्ल्याक बोर्डबाट ह्वाइट बोर्ड र अहिले स्मार्टबोर्ड बाट पढाई सुरु गरेका छौ’ हाडाले भने, ‘विद्यार्थीलाई पाठसँग सम्बन्धित जानकारी देखाउन आइटीको प्रयोग गर्छौ ।’ पाठ्यक्रममा उल्लेख भएको बिषय यूटुबमा खोजेर भिडियो समेत देखाएर विद्यार्थीलाई बुझाउने गरेको उनले बताए । विद्यालयले होमओर्क भन्दा पनि टिम ओर्क गराउने गरेको उनले बताए ।

परीक्षामा विद्यार्थीको प्राप्ताङ्क सार्वजनिक गर्न अभिभावक अनिवार्य विद्यालय आउनु पर्ने बाध्यता छ । बालविकास देखि कक्षा  तीन सम्मका विद्यार्थीलाई विद्यालयमा जे सिकायो, घरमा पनि उस्तै व्यवहार गरिदिन भन्दै प्रत्येक शनिबार अभिभावकलाई पनि बोलाउने गरेको विद्यालयले जनाएको छ । यो विधिले कक्षा छाड्ने दर कम भएको हाडाको हनुभव छ ।

विद्यालयले १० देखि ४ बजे बाहेकको समयमा पनि कक्षा चलाउने गरेको छ । दिउसो पढाउने शिक्षकले बिहान बेलुकाको एक्स्ट्रा कक्षा पढाउन पाउँदैनन । कुनै बिषयका ज्ञाताले एक्स्ट्रा कक्षामा कोर्षमा आधारित रहेर पढाउने गर्छन् । अन्यत्र विद्यालयमा एक्स्ट्रा कक्षामा पनि कोर्ष अघि बढाउँछन । तर, यो विद्यालयमा यस्तो हुदैन ।

यस्ता कक्षामा सहभागि भए बापत न्यूनतम शुल्क तिर्नु पर्ने हुन्छ । कक्षा चार देखि १० सम्म अंग्रेजी र नेपाली माध्यमबाट पढाउने व्यवस्था गरेको छ । अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीका लागि पनि नेपाली बाहेक अरु सबै बिषयका पुस्तक अंग्रेजीमै हुन्छ । त्यसैले कक्षा आठमा चार सेक्सनमा विभाजन गरेर पढाउने व्यवस्था गरिएको छ । नौ कक्षामा चार, कक्षा  १० मा तीन सेक्सनमा बाँडेर पढाइरहेको छ । चाबहिल, गौशला, कोटेश्वर, बालकोट र बनेपाबाट समेत विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ । कक्षा  नौमा प्राविधिक बिषय पढाई हुने भएकोले टाढाबाट पनि आउने गरेको हाडाले बताए । भूकम्पले अन्य विद्यालयमा विद्यार्थी घटायो, तर यो विद्यालयमा तीन सय भन्दा बढी विद्यार्थी बढाएको छ ।

सरकारी दरबन्दीका शिक्षक बाहेक निजी स्रोतबाट पनि शिक्षक व्यवस्थापन गरिएको हाडाले बताए । निजी स्रोतबाट नियुक्ति भएका शिक्षकले पनि दुई वर्ष पढाए पछि विद्यालयले बिदाको सुविधा र बिरामी खर्च समेत दिन्छ ।

एक्स्ट्रा कक्षाबाट उठेको रकमबाट निजी स्रोतबाट राखेका शिक्षकलाई तलब दिने गरेको विद्यालयले जनाएको छ । त्यस बाहेक सटर भाडाबाट मासिक साढे २ लाख रुपैयाँ आम्दानी छ । एक्स्ट्रा कक्षाबाट गत वर्ष मात्रै २२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कक्षा शिक्षकले सरकारले दिएको तलब बाहेक थप भत्ता समेत पाउँछन । कक्षा तीन सम्म एक जनालाई जिम्मेवारी दिएको छ । त्यस बाहेक अरु कक्षामा एक जना कोर्डिनेटरको व्यवस्था छ । इसीडीको कोर्डिनेटरले तीन हजार रुपैयाँ पाउँछन । ४ देखि १० सम्म एक हजारदेखि एक हजार पाँच सय रुपैयासम्म मासिक भत्ता पाउँछन ।  

भादगाउँदेखि श्री पद्मसम्म

यो विद्यालय विक्रम सम्बत १९८१ कातिक १२ मा अनौपचारिक रुपमा सुरु भएको हो । विद्यालय भक्तपुरको क्वाठण्डोमा भादगाउँ इङलिस स्कूलबाट सुरु भएको हो । यो विद्यालय विक्रम सम्बत १९८१ मंसिर ८ मा विधिवत स्वीकृती भएको थियो । जुद्ध सम्शेर प्रधानमन्त्री भएको बेला यो विद्यालय ७ कक्षासम्म अनुमति पाएको थियो । नारायणचोकको पाटीमा समेत चलेको यो विद्यालय १९९० सालको भुकम्पका बेला सल्लाघारी चौरमा पढाएको अभिलेख छ ।

पद्म सम्शेर प्रधानमन्त्री भएको बेला यो विद्यालयले माध्यमिक तहको अनुमति पाएको थियो । यो विद्यालय भक्तपुरको दरबार क्षेत्रमा ३१ रोपनी क्षेत्रमा रहेको छ । ०६० सालमा प्लस टु, ०६७ मा बीबीएस, ०७० मा एमबीएससम्मको अध्ययन अनुमति पाएको छ । यो बर्षदेखि प्लस टुमा टेक्निकल बिषय अध्ययन गर्न अनुमति पाएको छ ।

प्रकाशित मिति २०७२ मंसिर २ गते

प्रतिक्रिया