Edukhabar
सोमबार, १४ माघ २०८१
गतिविधि

भौचरमा आधारित तालिमका लागि विद्यार्थी छनौट

आइतबार, ०६ पुस २०७६

काठमाडौं - व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ईभेण्टले यस बर्ष भौचरमा आधारित तालिमका लागि १० हजार ९ सय ४१ जना विद्यार्थी छनौट गरेको छ । काठमाडौं उपत्यकाका  ५८ वटा संस्था मार्फत् ३४ वटा विभिन्न पेशागत विषयमा तालिम लिनका लागि उनीहरु छनौट भएका हुन् । 

तालिम लिन चाहने १६ देखि ४० बर्ष उमेर पुगेका वेरोजगार युवाहरुका लागि लक्षित गरेर तयार पारिएका पारिवारिक स्थिती सहितको विवरणमा प्राप्त २६ हजार ३ सय ५९ आवेदनहरु मध्ये उक्त संख्या छनौट गरिएको परियोजनाले जनाएको छ ।  छनौट भएका विद्यार्थीलाई सोमबार र मंगलबार आयोजना गरिने मेलामा भौचर उपलब्ध गराईने परियोजनाका निर्देशक चन्द्रकान्त भुषालले जानकारी दिए । छनौट भएका संस्था र विद्यार्थीलाई एकै ठाउँमा भेला गराएर अन्र्तकृया गर्दा रुचीको विषय छान्न सजिलो हुने अपेक्षा गरिएको उनले बताए । 

परियोजनाले हरेक बर्ष मेला आयोजना गरेरै सम्बन्धित संस्थालाई भौचर उपलब्ध गराउँछ । सहभागीहरुले आफ्नो रुचीको विषय आफ्नो पायक पर्ने संस्थामा गई सिक्छु भने पछि त्यस बापत लाग्ने खर्च परियोजनाले तालिम प्रदायक संस्थालाई भौचर मार्फत् उपलब्ध गराउँछ । छनौट भएका सहभागीलाई भौचर लिनका लागि खबर गरिसकिएको र सहभागीहरुलाई बजारको आवश्यकता र माग जस्ता विषयमा परामर्श समेत दिईने उप निर्देशक प्रमोद कुमार शर्माले बताए । मेलामा राखिने तालिम प्रदायक संस्थाका स्टल मार्फत् आवश्यक जानकारी लिन सक्ने र सहभागिहरुले यस अघि नै उपलब्ध गरार्यएको टोकन र नागरिकताको सक्कल देखाएपछि भौचर दिईने उनले बताए । 

विभिन्न विधि पार गरेर तालिम दिने संस्थाहरु छनौट गरिन्छन् भने विद्यार्थी छनौटका लागि छुट्टै विधि निर्माण गरिएको परियोजनाले जनाएको छ । 

प्राविधिक सीप र ज्ञान सहितको शिक्षा प्राप्त गरेपछि मात्रै व्यक्तिले आयआर्जन गर्न सक्ने भएकाले त्यस तर्फ परियोजनाको यो भेला उपयोगी र प्रभावकारी हुने उप निर्देशक सुदर्शन मरहठ्ठाले अपेक्षा गरे ।  

प्राविधिक शिक्षाको विस्तार र व्यवसायिक तालिम कार्यक्रमलाई सुदृढ गर्ने उदेश्य सहित विश्व बैंकको ऋण सहयोगमा शिक्षा मन्त्रालय अन्र्तगत सञ्चालन हुने गरी सन् २०११ बाट परियोजना शुरु भएको हो । सन् २०१५ मा पहिलो चरण सकिएको उक्त योजनाको दोश्रो चरण सन् २०२२ सम्म सञ्चालन हुने छ । ७५ हजार युवा लाभान्वित हुने लक्ष्य राखेको परियोजनाबाट छाटो अवधिको तालिम प्राप्त युवाहरु मध्ये ७० प्रतिशत आयमूलक रोजगारीबाट लाभान्वित भएका परियोजनाको दावी छ । 

नतिजामा आधारित र भौचरमा आधारित गरी परियोजनाले दुई प्रकारका तालिम प्रदान गर्दै आएको छ ।  तीन महिनाको नतिजामा आधारित छोटो अवधिको तालिमको पहिलो तहका लागि ५८ जिल्लाका ८६ तालिम प्रदायक संस्थाहरुबाट ४३ विषयमा तालिम दिईन्छ । यस्तै सोही प्रकारको दोश्रो तहको तालिम अन्र्तगत ३९ जिल्लामा ५३ संस्था मार्फत् ६ विषयमा तालिम दिईन्छ । परियोजनाले औद्योगिक प्रशिक्षण र कार्यस्थलमामा आधारित तालिम पनि दिदैं आएको छ । छात्रवृत्ति, गुणस्तर सुधार अनुदान, रोजगारी पदस्थापन जस्ता क्षेत्रमा पनि परियोजनाले कार्य गर्दै आएको छ । 

परियोजनाले सुविधा विहिन अति सिमान्तकृत, अपाङ्गता भएकालाई समेत समेटेर समावेशी तरिकाबाट प्राविधिक शिक्षा र व्यावसायिक तालिमको पहुँच वृद्धि गर्ने लक्ष्य लिएको छ । तर परियोजनाले तालिमका बारेमा पर्याप्त जानकारी प्रवाह नगर्दा लक्षित समूदाय भन्दा पनि धेरै तालिम प्रदायक संस्थाकै पहुँचमा रहेका व्यक्तिहरु मात्रै लाभान्वित हुने क्रम कायम रहेको भन्दै आलोचना जारी छ । 

 

प्रतिक्रिया