Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

अवकासको ७ महिना पछि शिक्षकको बढुवा !

आइतबार, ०६ पुस २०७६

तनहुँ - अवकास भएको सात महिना पछि शिक्षक सेवा आयोगले शिक्षकको बढुवा गरेको छ । व्यास नगरपालिका ९ स्थित बसाहास्थान माध्यमिक विद्यालयमा कार्यरत नारायणदत्त पौडेल गत असार ५ गते उमेर हदका कारण अवकास भएका थिए । तर आयोगले सात महिना पछि उनको बढुवा गरेको छ । 

अभिलेख समयमा आई नपुगेका कारण पुरानै अभिलेखमा काम गर्दा त्यस्तो भएको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ प्रसाद अर्यालले बताए । शिक्षक बढुवाको काम तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयमा संकलन हुने अभिलेख मार्फत् हुने र त्यसकै आधारमा आयोगले काम गर्ने हुँदा यस्तो भएको उनको प्रतिकृया छ ।  

'कासमू, बढुवा फारम जस्ता क्षेत्रले पठाउने आवश्यक कागजातका आधारमा आयोगले काम गर्छ' उनले भने 'म्यानुअल काम गर्ने प्रणाली बाँकी नै रहेका कारण कहिले काँही यस्ता घटना हुन्छन्, केही समय अघि पूर्वाञ्चलमा पनि यस्तै भएको थियो ।'

बढुवाको प्रकृया अन्र्तगत उजुरी दिने अवधि भित्र प्राप्त उजुरीका आधारमा आयोगले कार्य गर्ने बताउँदै उनले अब पौडेल पछि बढुवाको सूचीमा रहेका वैकल्पिक व्यक्तिको बढुवा हुने बताए । 

बढुवा हुने शिक्षकका बारेमा अध्ययन गर्न प्रदेश स्थित सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको शिक्षा निर्देशनालयमा आयोगका उपसचिव स्तरका प्रतिनिधि सहितको सहभागितामा बढुवा समितिको बैठक बसेर निर्णय गरिन्छ । तर, २०६५ सालमा मावि द्धितीयमा बढुवा भएका पौडेल आयोगले समयमा काम नगरिदिदाँ आफू माथि अन्याय भएको बताउँछन् । 

'१ बर्ष अघिनै बढुवा हुनु पर्ने भए पनि आयोगले आन्तरिक बढुवाको काममा ढिलाई गर्दा योग्यता पुगेर पनि बढुवा हुन सकिएन' गुनासो गर्दै उनले भने, 'गत बर्ष पुस माघमै हुनु पर्ने बढुवा हो, कुरेर बस्दा बस्दा भएन, उमेर हदका कारण अवकास हुने दिन आईहाल्यो, सात महिना पछि पो बढुवा भएछ !' 

उनको बढुवाका विषयमा सामाजिक सञ्जाल मार्फत जिल्लाका शिक्षा सरोकारवालाहरुले आयोगको कार्य सम्पादन प्रति तिव्र आलोचना गरेका छन् । समयमा काम नसक्दा हुने यस्ता खाले अन्याय माथि आयोग संवेदनशील हुनु पर्ने उनीहरुको मत छ । आयोगले जे सुकै कारण देखाए पनि उक्त घटना एउटा व्यक्ति माथि सरकारले गरेको अन्यायको उदाहरण हुने भन्दै उनीहरुले आयोगको कार्यशैली माथि खरो टिप्पणी गरेका छन् । 

योग्यता पुगेको व्यक्तिको बढुवा समयमा गर्न के कारणले ढिलो भयो ? समयमा काम नगर्ने अनी जीवनभर सेवा गरेको राष्ट्रसेवक माथि भएको अन्याय प्रति  शिक्षा मन्त्रालय अन्र्तगतका निकाय र आयोगले केही संवेदनशीलता नदेखा पनि हुने ? सामाजिक सञ्जाल मार्फत् उनीहरुले प्रश्न गरेका छन् ।     

लामो समय श्रोत व्यक्तिका रुपमा कार्य गरेका पौडेल २०३५ सालमा प्राथमिक तहको शिक्षकबाट सेवा प्रवेश गरेका थिए । सरकारले श्रोत व्यक्ति हटाउने निर्णय गरेसँगै केही समय व्यास नगरपालिकाको शिक्षा शाखामा कार्यरत पौडेल गत असार ५ गते ६० बर्षे उमेर हदका कारण अवकास भएका हुन् ।  

 

प्रतिक्रिया