Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

विद्यार्थीको घट्दो रुची !

विहीबार, ०३ पुस २०७६

ललितपुर - देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको दीक्षान्त प्रति विद्यार्थीको रुची घट्दै गएको छ । बिहीबार पूल्चोक ईञ्जिनीयरिङ् क्याम्पसको हातामा आयोजित विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सहभागी विद्यार्थीको संख्याले उक्त तथ्य पुष्टि गरेको हो । 

विश्वविद्यालयको ५७ औं ग्रेस लिष्टको उक्त दीक्षान्तमा २०७५ साल असार १ गते देखि २०७६ साल जेठ ३१ गते सम्म ट्रान्सिकृप्ट लिएका ७० हजार ७७ जना विद्यार्थी दीक्षित हुन योग्य थिए । तर दीक्षान्तमा सहभागी हुन फारम भर्नेको संख्या १० हजार १ सय ८३ जना मात्रै थियो । फारम भरेका मध्ये पनि सबै उपस्थित नभएको  स्वयं विश्वविद्यालयका एक पदाधिकारीले बताए । 

'दीक्षान्त भने पछि गौरव गर्ने दिनका रुपमा लिने परम्परा थियो, पछिल्लो समय त्यो कायम हुन सकेन, किन यसो भईरहेको छ भन्ने बारेमा गहिरो खोजको जरुरी नै देखिन्छ' ती पदाधिकारीले भने 'विश्वविद्यालयले दीक्षान्तको मर्म बुझाउन सकेन भनेर स्विकार गर्दा नै उचित हुने होला ।' 

यस बर्ष सबै भन्दा धेरै व्यवस्थापन संकायका २२ हजार ७ सय ९८ विद्यार्थीले उक्त अवधिमा ट्रान्सिकृप्ट लिएका थिए । शिक्षा शास्त्र संकायका २० हजार ६, मानविकी तथा सामाजिक शास्त्रका १३ हजार ६ सय ९५ र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार ४ सय ४३ विद्यार्थीले उक्त अवधिमा ट्रान्सिकृप्ट लिएका विश्वविद्यालयले जनाएको छ । ईञ्जिनीयरिङ् तर्फ २ हजार ९ सय ७२, चिकित्सा शिक्षामा १ हजार ७ सय ३७, कानूनमा १ हजार ६ सय ६६, कृषि तथा पशुमा ५ सय ५ जना र वन विज्ञानमा २ सय ६४ ले उक्त अवधिमा ट्रान्सिकृप्ट लिएका थिए । 

विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई विश्वविद्यालयले कार्यक्रम गरेर दीक्षित गरेको हो । गत बर्षको दीक्षन्त देखि विश्वविद्यालयले दीक्षित हुन चाहने विद्यार्थीको फारम अनलाईनबाट समेत भर्ने व्यवस्था मिलाएको थियो । 

दीक्षान्त समारोहमा विभिन्न ३१ वटा पदक तथा पुरस्कारबाट विभिन्न विद्यार्थी पुरस्कृत भएका थिए ।  

२०१६ साल असार ३० गते स्थापना भएको विशवविद्यालयले २०१७ साल चैत ९ गते पहिलो दीक्षान्त समारोह गरेको थियो । विश्वविद्यालयमा ५ वटा अध्ययन संस्थान तथा ४ संकाय अन्र्तगत ६२ आँगिक र १ हजार ६१ सम्बन्धन प्राप्त कलेज सञ्चालनमा छन् । 

दीक्षान्त समारोहमा व्यक्त विचार सहितको खबर पढ्नुहोस् : शिक्षक स्थायी, तर नतिजा सुधार भएन !

प्रतिक्रिया